कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दोलखामा ५९ आइसोलेसन, २१० क्‍वारेन्टाइन

राजेन्द्र मानन्धर

दोलखा — जिल्लाभरी हालसम्म ५९ वटा आइसोलेसन र २१० वटा क्‍वारेन्टाइनका शय्या निर्माण भएका छन् । कोभिड—१९ को संक्रमणको खतरालाई ध्यान दिँदै बिहीबारसम्म उक्त संख्यामा आइसोलेसन र क्‍वारेन्टाइन निर्माण भइसकेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । 

दोलखामा ५९ आइसोलेसन, २१० क्‍वारेन्टाइन

जिल्ला प्रशासन कार्यालयले संकलन गरेको तथ्याङ्कअनुसार जिल्लाभरी ४८ थान पीपीई (स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने सामग्री) भित्रिएका छन् । नन कन्ट्याक्ट थर्मल गन २० वटा भित्रिएका छन् । उक्त सामग्रीमध्ये जिल्लाभरीका बिरामी थुप्रने सदरमुकाम चरिकोटस्थित चरिकोट अस्पतालमा भने आठ वटा आइसोलेसन शय्या छ भने क्‍वारेन्टाइन बनाइएको छैन । पीपीई २ वटा र थर्मल गन २ वटामात्रै छ ।


उक्त अस्पतालमा लकडाउनका बेला पनि आकस्मिक सेवाका लागि दैनिक ४५ जनाका दरले बिरामी आइरहेको डा. विनोद दंगालले बताए । स्थानीय सामाग्रीहरुबाट सुरक्षित रहने उपाय निकालेर कार्य गरिरहेको उनले बताए ।


गाउँपालिकाहरुमा भने पीपीई र थर्मल गन किन्ने तथा कक्षहरु निर्माण भइरहेको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयमा छ । स्वास्थ्यकर्मी र कोरोनाको कुनै पनि उपचार गर्ने दक्ष जनशक्ति नभएका स्थानहरुमा रातारात सामग्री खरिदको आडवाजी गाउँपालिकामा देखिएको छ । किनिएका सामग्रीहरु कतिपयले प्रयोग गर्न नजानेको पाइएको छ ।


बुधबार भएको जिल्ला सुरक्षा समितिको बैठकमा कतिपय गाउँपालिकाहरुले किनेका पीपीई लगाउन नै नजानेको जानकारी आएकोबारे छलफल भयो । कतिपय स्थानमा पीपीई लगाउने, थर्मल गन तेर्साएर फोटो फेसबुकमा हालेर मजाक गरिरहेको पनि देखिएको छ । उक्त पालिकाहरुमा स्वास्थ्यकर्मीहरुको उपस्थिति र नियमित जनस्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन भएको सूचना भने प्रशासन कार्यालयमा छैन । अति नै सम्वेदनशील र विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसविरुद्धको अभियानमा सामग्री, सहकार्य र जनशक्तिमा दोलखा कमजोर रहेको पनि छलफल भएको छ ।


केही निजी अस्पतालहरुले आइसोलेसन कक्षको व्यवस्था गरेका जानकारी दिँदै कोरोनाविरुद्धको अभियानमा सरकारलाई सहयोग गरिरहेको दाबी गरेका छन् ।

प्रकाशित : चैत्र १३, २०७६ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?