१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वागमती प्रदेश सरकारद्वारा १० करोडको आपतकालीन कोष स्थापना

प्रताप विष्ट

हेटौंडा — वागमती प्रदेश सरकारले कोभिड–१९ (कोरोना भाइरस) उपचार कोष स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोष स्थापना गरेको हो ।

वागमती प्रदेश सरकारद्वारा १० करोडको आपतकालीन कोष स्थापना

सरकारले कोषमा रकम जम्मा गर्न सर्वसाधारणलाई समेत आह्वान गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि विशेष अभियान सञ्चालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

मंगलबारकै बैठकमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए । कोषमा रोहनी हाउजिङले एक लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रदेश प्रमुख विष्णुप्रसाद सेढाईले संघीय सरकारले स्थापना गरेको कोरोना भाइरस महामारी विरुद्धको सरकारी कोषमा एक महिनाको तलब बराबरको रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

यस्तै, कोरोना भाइरस महामारीविरुद्ध संघीय सरकारले स्थापना गरेको कोषमा हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक पुरणबहादुर जोशीले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । जोशीले जिल्ला समन्वय समिति मकवानपुरले स्थापना गरेको ‘कोरोना आपतकालीन कोषमा’ पनि २ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रकाशित : चैत्र १२, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?