संक्रमित युवतीसँगै आएका दुई जना ८ दिनपछि सम्पर्कमा - वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमित युवतीसँगै आएका दुई जना ८ दिनपछि सम्पर्कमा 

नगेन्द्र अधिकारी

काभ्रे — कारोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएकी युवती चढेको विमानका आएका काभ्रेका २ जना ८ दिनपछि जिल्ला विपद् व्यवस्थापन समितिको सम्पर्कमा आएका छन् । ८ दिनको अविधमा क्‍वारेन्टाइनमा नबसकेका उनीहरुले देशभित्रै विभिन्न स्थानको भ्रमण गरिसकेका छन् । रुघा, खोकी, ज्वरो लगायतका कुनै पनि लक्षण नदेखिएको भन्दै उनीहरुलाई घरमा नै ‘क्‍वारेन्टाइन’मा बस्न पठाइएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय ती युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुवैलाई सेल्फ क्‍वारेन्टाइनमा बस्न र सामाजिक दूरी कायम गर्न भनिएको जिल्ला विपद् व्यवस्थापन समितिका फोकल पर्सन रहेका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा नरेन्द्रकुमार झाले जानकारी दिए । ‘कोरोना संक्रमणको कुनै लक्षण नदेखिएपछि सेल्फ क्‍वारेन्टाइनमा बस्न र सामाजिक दूरी कायम गर्न भनेका छौं,’ डा झाले भने, ‘वडाअध्यक्षज्यूको जिम्मेवारीमा छोडिएको छ, कुनै समस्या देखिए तत्काल सम्पर्कमा आउन भनेका छौं ।,’


बनेपा–२ का दाहाल थरका ती युवा र धुलिखेल–९ पानीट्यांकीका हुमागाईं थरका ती युवा कतार एयरवेजको एउटै फ्लाइटबाट काठमाडौं आएका थिए । हुमागाईं फ्रान्सबाट आएका हुन् भने दाहाल दोहाबाट । नेपाल आएपछि दाहालले मनकामनालगायत स्थलको भ्रमण गरेको र हुमागाईं चियापसल लगायतका सार्वजनिक स्थलमा भेटिने गरेको उनीहरुलाई नजिकबाट चिन्नेहरुले जानकारी दिएका छन् । सँगै आएकी १९ वर्षीया ती युवतीमा कोरोना संक्रमणको पुष्टि भएपछि उनीहरु मंगलबारबाट सम्पर्कमा आएका थिए । दाहाल मंगलबार बनेपा नगरपालिको सम्पर्कमा आएका थिए । हुमागाईंले धुलिखेल नगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइनमा सम्पर्क गरेर जानकारी गराउँदै धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।


विदेशबाट आएका आफूखुसी ‘क्‍वारेन्टाइनमा’

जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना महामारी देखिएका मुलुकबाट स्वदेश आएका नेपालीको लगत राख्न स्थानीय तहलाई अनुरोध गरे पनि प्रभावकारी हुन सेकेको छैन । स्वदेश फर्किएकाहरु आफूखुसी क्‍वारेन्टाइनमा बस्न थालेका छन् ।

केही दिनअघि मात्र इटालीबाट स्वदेश फर्किएका बेथानचोक–४ सिम्पानीका तामाङ थरका एक युवा घरमा नै क्‍वारेन्टाइन भन्दै बसेका छन् । बेथानचोककै ३ नम्बर वडामा एक महिला जापानबाट घर फर्किएको स्थानीयहरुले सामाजिक सञ्जालमा लेखेका छन् । विदेशबाट फर्केकाहरुले आफूखुसी गरेको र स्थानीय प्रशासनले चासो नदिएको भन्दै त्रास फैलिएको उनीहरु बताउँछन् ।

प्रकाशित : चैत्र ११, २०७६ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्

चितवनमा लकडाउन अवज्ञा गर्ने ७ जना पक्राउ

रमेशकुमार पौडेल

चितवन — कोभिड–१९ (कोरोना भाइरस)को तीव्र संक्रमण रोक्ने उद्देश्यले नेपाल सरकारले घोषणा गरेको लकडाउनको आदेश उल्लंघन गरेको आरोपमा चितवन जिल्ला प्रशासन कार्यालयले सातजनालाई गिरफ्तार गरेको छ । उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही भएको र सबैजना छुटेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

ऐनमा यस्तो आदेश उल्लंघन गर्नेलाई एक हजार रुपैयाँ जरिवाना र एक महिनासम्म कैद हुने व्यवस्था छ । ‘आज पहिलो दिन भएका कारण हजार रुपैयाँ मात्र जरिवाना भएको छ । आशा छ भोलिबाट यस्तो कारबाही गर्नु पर्ने अवस्था नै आउने छैन । लकडाउनको आदेश सबैले पालना गर्ने छन्’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने । कोभिड–१९ को तीव्र प्रसार हुने भएका कारण जोखिम कम गर्न सरकारले लकडाउन घोषणा गरेको छ ।

तर पहिलो दिन चितवनमा सडकमा सर्वसाधरणको उपस्थिति बाक्लै देखिन्थ्यो । अत्यावश्यक सेवाका गाडी र काम बाहेक अरु कोही सडकमा नआउन र घरभित्रै बस्न सरकारले आदेश गरेको छ । तर सर्वसाधरणले यसलाई गम्भीर रुपमा लिएको देखिदैन । भित्रि सडकमा मात्रै नभएर मुख्य रामार्गहरुमा पनि चहलपहल देखिन्छ । घरभित्रै बस्ने र घरमा बाहिरका मान्छेलाई आउन नदिने नियम झन कमैले पालना गरेका छन् ।

प्रकाशित : चैत्र ११, २०७६ १८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×