फराकिलो बन्दै भीमफेदी–कुलेखानी सडक

प्रताप विष्ट

हेटौंडा — वाग्मती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी सडक स्तरोन्नति सुरु भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले उच्च जोखिममा रहेको उक्त सडकलाई फराकिलो पार्ने काम थालेको हो ।

काठमाडौं प्रवेश गर्ने सबैभन्दा छोटो दूरीको वैकल्पिक मार्ग हेटौंडा, भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै फर्पिङ पुगिने सडकखण्डको भीमफेदी–कुलेखानी १६ किलोमिटर साँघुरो र अत्यन्त जोखिमयुक्त छ । घुमाउरोसमेत भएकाले उक्त खण्डमा दुर्घटना अधिक हुने गरेको छ ।

उक्त खण्डमा वाग्मती प्रदेश सरकारले सुरुङमार्ग निर्माणको तयारी गरिरहेको छ । आगामी वैशाखमा सुरुङको टेन्डर आह्वान गर्ने सरकारी तयारी छ । सुरुङ निर्माण तीन वर्षमा सकिने भएकाले हाल सडकलाई फराकिलो र स्तरोन्नति गर्न थालिएको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले बताए । भीमफेदी–कुलेखानी सडक बढीमा चार मिटरमात्र फराकिलो छ । उक्त सडकमा दैनिक एक हजारभन्दा बढी सवारीसाधन गुड्छन् ।


उक्त सडकखण्डको स्तरोन्नति दुई प्याकेजमा भइरहेको छ । भीमफेदीदेखि देउरालीसम्मका लागि १७ करोड २४ लाख १९ हजार ५ सय २१ रुपैयाँमा ठेक्का लागेको छ । देउरालीबाट कुलेखानीसम्म १५ करोड ७० लाख ६६ हजार ६ सय ३८ रुपैयाँमा ठेक्का सम्झौता भएको मन्त्रालयले जनाएको छ । यी दुवै खण्ड निर्माणका लागि गत माघ १० गते ठेक्का सम्झौता गरिएको थियो । स्तरोन्नतिको काम एक वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।

मन्त्रालयका इन्जिनियर नवीन सिंहका अनुसार सम्झौतामा सडकको मोड सुधारका साथै ६ मिटर चौडा र कालोपत्रसमेत गर्नुपर्ने उल्लेख छ । सडकको स्तरोन्नतिपछि उपत्यकाका तीन जिल्लाकासाथै रामेछाप, काभ्रे, दोलखा, रसुवा, सिन्धुपाल्चोक र नुवोकाटका बासिन्दालाई हेटौंडा आउजाउ गर्न सहज हुने मुख्यमन्त्री डोरमणि

पौडेलले बताए ।


भीमफेदी–कुलेखानी स्तरोन्नतिले दूरी पनि छोटिने प्राविधिकको भनाइ छ । निर्माण कम्पनीले एक्स्काभेटर लगाएर कटिङको काम गरिरहेका छन् । सडक चौडा बनाउन आवश्यक परे विगतमा लगाएको रिटेनिङ वाल र तारजाली पनि भत्काइने प्राविधिकको भनाइ छ । सडकको स्तरोन्नतिका क्रममा सवारीसाधन आउजाउमा भने रोक नलगाइने निर्माण कम्पनीले जनाएका छन् ।

प्रकाशित : चैत्र २, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?