कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

यसरी थालिएको थियो रातो अभियान

श्रीमान्को मृत्युपछि रातो कपडा लगाउन नपाइने संस्कारविरुद्ध २ सय ८ महिलाको साहस
रमेशकुमार पौडेल

(चितवन) — २०६१ फागुन १५ गते । नवलपरासीको गैंडाकोट गाविस भवनको चौरमा धेरै संख्यामा महिला भेला भए । एकल महिलाले ‘रातो टीका र कपडा लगाउने’ उक्त कार्यक्रम हेर्न सर्वसाधारणको पनि राम्रै जमघट थियो । भेला भएका एकल महिलाको समूहमा पहिलो रातो टीका शारदा ढकालले लगाइन् । हाल ६३ वर्षीया उनी त्यसबेला विधवा भएको २० वर्ष पुगेको थियो । 

यसरी थालिएको थियो रातो अभियान

त्यस दिन रातो ग्रहण गरेका महिलाले नारी कल्याण एकल महिला पैरवी मञ्च गठन गरे । मञ्चले हरेक वर्ष फागुन १५ गते देवघाट वृद्धाश्रममा वृद्धवृद्धालाई खाना खुवाउने कार्यक्रम गर्दै आएको छ । यो वर्ष पनि बिहीबार मञ्चका १७ जना महिला देवघाट पुगेर खाना खुवाए । र, १५ वर्षअघि आफूहरूले जुटाएको साहसको स्मरण गरे । शारदा भन्छिन्, ‘परम्परालाई चुनौती दिँदै सयौं एकल महिलाले रातो लगाउनु चानचुने कुरा थिएन ।’ हुन पनि श्रीमान्को मृत्युपछि महिलाले चुरापोते मात्रै होइन रातो टीका र रातो कपडासमेत लगाउन नपाइने नेपाली हिन्दु समाजमा कठोर संस्कार छ । पछिल्लो समय चेतना बढेकाले यसलाई तोडेर आउने महिला पनि देखिएका छन् । गैंडाकोटमा सुरु भएको ‘रातो अभियान’ विस्तारै देशव्यापी बन्यो । अहिले एकल महिलाले रातो लगाउनु सामान्य भएको छ ।


गैंडाकोटमा सहमति नामक गैरसरकारी संस्था छ । उक्त संस्थाले महिलाका समस्या र सवाल उठाउन साक्षरता कार्यक्रम चलाएको थियो । समूहमा २५ जना महिला थिए । मञ्चका संस्थापक तथा वर्तमान अध्यक्ष लक्ष्मी भट्टराईले भनिन्, ‘समूहका एकल महिलाले रातो लगाउन किन नहुने भनेर छलफल चलायौं । हरेक हप्ता यो विषयमा कक्षा चल्न थाल्यो । घरघरमा छलफल सुरु भयो ।’ एकल महिलाहरू रातो लगाउन सहमत भएपछि कानुनविद् र धर्मसंस्कार मान्नेहरूसँगसमेत सल्लाह गरेको उनी सुनाउँछिन् । ‘कानुन र धर्म संस्कारले रोकेको कुरा होइन यो भन्ने भएपछि फागुन १५ मा कार्यक्रम राख्यौं,’ उनले सम्झिइन्, ‘त्यो दिन २०८ जना एकल महिलाले रातो टीका र कपडा लगाए । जसको समाचार देशभर फैलियो । त्यसपछि देशका हरेक ठाउँमा यस्तो प्रकृतिको कार्यक्रम आयोजना हुन थाल्यो ।’


श्रीमान् दिवंगत भएको ११ वर्षपछि लक्ष्मीले सामूहिक रूपमा रातो टीका कपडा लगाउन सुरु गरेकी थिइन् । अहिले अवस्था त्यस्तो छैन । ‘१३ दिनपछि नै रातो लगाएर नहिँडे पनि वर्ष दिन हुँदा नहुँदै रातो लगाउन सुरु गर्छन् । अहिले लगाउन हुने नहुने भन्ने नै छैन,’ भट्टराईले भनिन् । मञ्च गठन गरेर उनीहरूले देशका विभिन्न ठाउँमा कार्यक्रम गरे । तर रातो अभियान स्वस्फूर्त देशव्यापी भएको उनको भनाइ छ । ‘श्रीमान् बितेको महिलाई रातो लगाउनै नदिने । रातो नलगाएपछि बिहे, पूजा र अन्य सुखद क्षणमा पनि अगाडि आउन नदिने परिपाटी रह्यो,’ उनी भन्छिन्, ‘यसले महिलालाई मानसिक रूपमा निकै प्रताडित बनाएको थियो । त्यसैले श्रीमान्को निधनपछि रङमा छेकबार लगाउन हुन्न भनेर अयिभान चलाएका हौं ।’


मञ्चको वर्तमान सचिव रहेकी रुपा पुडासैनी २०६३ सालदेखि मञ्चमा जोडिइन् । २०६१ सालमा श्रीमान्को निधन भएको थियो । ‘अभियानको प्रभावले गर्दा मलाई रातो कपडा र टीका लगाउन परिवारबाट रोकतोक भएन,’ उनले भनिन् । सरिता पौडेल पनि पाँच वर्षदेखि संस्थामा जोडिएकी छन् । अभियानकै प्रभावले गर्दा उनलाई पनि परिवारले रङमा छेकबार लगाएनन् । ‘रङ के कस्तो लगाउने कुरा मात्रै होइन मञ्चमा आबद्ध भएपछि मैले क्रिष्टलका गहना बनाउने तालिम लिएर काम पनि सुरु गरेँ,’ उनले भनिन्, ‘संस्थाकै कारण आयआर्जन पनि राम्रै छ ।’


मञ्चकी संस्थापक सचिव मायादेखि कट्टेलले रातो अभियानले एकल महिलाको अनुहारमा खुसी र आत्मबल दिएको बताउँछिन् । ‘तर यो मात्रै पर्याप्त होइन । एकल महिलाका समस्या अरू पनि छन्,’ उनले भनिन्, ‘श्रीमान्को मृत्युपछि परिवार पाल्नुपर्दा, सन्तान हुर्काउनुपर्दा एकल महिलालाई गाह्रो छ । कुरा नबुझ्ने परिवारले सम्पत्ति लगायतका कुरामा भेदभाव गर्छन् । यी पिरमर्कामा राज्यले हेर्नुपर्छ ।’

प्रकाशित : फाल्गुन १६, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?