कफी बोटमा डढुवा रोग

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका—६, इचोक गाउँका कफी कृषक रोमबहादुर पण्डित डढुवा र कीराले कफीको बोट कुहिएपछि चिन्तित छन् । कफी बेचेरै वार्षिक ३ लाखभन्दा बढी आम्दानी हुने गरेको उनले बताए । उनले १३ रोपनीमा १ हजार ३ सय कफीका बोट लगाएका थिए । ‘हिउँदको चिसोमा कफी कसरी बिग्रियो, यो समस्याबारे बुझ्न कृषि विज्ञलाई गुहारिरहेका छौँ,’ उनले भने । 

कफी बोटमा डढुवा रोग

फागुनको पहिलो सातामा फल टिप्ने तयारीमा जुटेका चौतारा साँगाचोकगढी नगरपालिका—१० का यमबहादुर महत पनि कफीको बोटमा रोग लागेकाले पिरोलिएका छन् । उनले ८ रोपनीमा ७ सय कफीको बिरुवा लगाएका थिए । पण्डित र महतजस्तै इन्द्रावती गाउँपालिकाको बाँडेगाउँका श्यामबहादुर कटुवालको कफीको हालत उस्तै छ ।


डढुवा र कीराले कफीको अधिकांश बिरुवा मरेपछि जिल्लाका तीन नगरपालिका र पाँच गाउँपालिकाका गरी झन्डै २ हजार १ सय ५० कृषक परिवार पीडामा छन् । डढुवा र कीराले कफीको बोट मर्ने क्रम नरोकिएपछि व्यावसायिक कफी खेतीमा एकजुट भएर कस्सिरहेका कृषक निरुत्साहित छन् । जिल्लाभर १ सय २४ हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेकोमा फल लाग्न सुरु भएलगत्तै मरेको जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोककी अध्यक्ष मञ्जु थापाले बताइन् ।

जिल्लाभरका १२ वटा सहकारी र १८ समूहका व्यावसायिक कफी कृषकको फल बोटसँगै मरेको खबर पाएलगत्तै स्थलगत निरीक्षण गरी सम्बद्ध माथिल्लो निकायमा जानकारी दिएको उनको भनाइ छ । जिल्लाभर वार्षिक ३० टनभन्दा बढी कफी उत्पादन हुने गर्छ । कृषकहरूले बर्सेनि २ करोड रुपैयाँभन्दा बढी कफी बिक्री गर्ने गर्छन् ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?