१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

इजरायल पुगेर दोरम्बाको सम्झना

टीकाप्रसाद भट्ट

(रामेछाप) — रामेछापको दोरम्बामा मारिने २२ जना माओवादी कार्यकर्तामा बाबुराम तामाङ पनि थिए । जसलाई माओवादीले जिल्ला जनसरकार प्रमुखको जिम्मेवारी दिएको थियो । बाबुरामकी पत्नी कान्छीमाया नाजी शासक हिटलरले मारेका यहुदीहरूको स्मरणमा बनाइएको इजरायलको स्मृति पार्कमा भरखरै पुगिन् । र, दोरम्बालाई पुनः स्मरण गरिन् ।

इजरायल पुगेर दोरम्बाको सम्झना

सम्झनाका हिसाबले इजरायल र दोरम्बा उनलाई उस्तै लाग्यो । नाजी शासकको बर्बरतामा मारिएका परिवारको सम्झनामा बनाइएको स्मृति पार्कको भित्तामा शिलालेख छ । दोरम्बामा पनि त्यसरी नै राखिएको छ । अझ दोरम्बामा त उनका पतिसहित मारिएका सबै २२ जनाकै सालिक ठडिएको छ । पीडितहरू त्यही स्थानमा पुगेर मारिएका आफन्तलाई सम्झन्छन् । उनी पनि वर्षको एकपटक सालिक भएको ठाउँमा पुग्छिन् । पतिप्रति श्रद्धाभाव व्यक्त गर्छिन् र मन गह्रुँगो बनाउँदै फर्कन्छिन् ।


५७ वर्षीया कान्छीमायाका दुवै छोरा हाल विदेशमा छन् । छोरीको विवाह भइसक्यो । अन्य द्वन्द्वपीडितसरह १० लाख रुपैयाँ क्षतिपूर्ति पाए पनि उनीसँग सीप छैन । पढेलेखेकी छैनन् । उनी बेथानमा एक्लै बस्छिन् । नेकपाका केन्द्रीय सदस्य कमलप्रसाद चौलागाईले उनलाई यसपटक इजरायलको यात्रा गराएका हुन् । दोरम्बापीडित परिवारको प्रतिनिधित्व गर्दै उनी पहिलोपटक जहाज चढेर इजरायल पुगिन् । २४ जनाको टोलीमा दुई जना द्वन्द्वपीडितलाई समावेश गराइएको थियो । ‘हामीमात्र द्वन्द्वपीडित होइन रहेछौं,’ उनी मन बुझाउँछिन् । फरकचाहिँ के हो भने पीडित परिवारको अवस्था त्यहा र यहाँ बेग्लै छ ।


‘यहाँ सरकार र पार्टीले द्वन्द्वपीडितलाई सम्झेको छैन,’ कान्छीमाया भन्छिन्, ‘विदेशमा पीडित परिवारको आयआर्जन गर्ने व्यवसाय हेरेँ । विगतको घटना बिर्सन उनीहरूले सिर्जनात्मक काम गरेका रहेछन् । सरकारले सहयोग गरेको छ । यहाँ उद्योगधन्दा छैन, रोजगारीमा सरकारले हेरेको छैन ।’ कुखुरा, गाई र ठूला फलफूलका फार्मको समेत अवलोकन गरेर उनी फर्किर्एकी छन् । ‘सबै रोजगारी र कमाइमा रमाएका छन्,’ उनमा थप आँट भरिएको छ, ‘राज्यले चाहे हामी पनि गर्न सक्ने रहेछौं भन्ने लाग्यो ।’ तत्कालीन शाही नेपाली सेनाले २०६० सालमा दोरम्बामा २२ जना माओवादी कार्यकर्ताको हत्या गरेको थियो ।

प्रकाशित : फाल्गुन ११, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?