बसको ठक्करबाट शिवरात्रिमा बाटो छेक्‍न बसेका बालकको मृत्यु 

कान्तिपुर संवाददाता

दोलखा — शिवधुनी जगाउन बाटो छेकेर रकम उठाउने क्रममा बसको ठक्करबाट शुक्रबार एक बालकको ज्यान गएको छ । दोलखा सिंगटी सडकको सुन्द्रवती खण्डमा डोरीले सडक छेकेर बसेका १० वर्षीय पुजन थामीको मृत्यु भएको प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

सिंगटीबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५८०९ नम्बरको अरनिको यातायात कम्पनीको बसको ठक्करबाट थामीको घटनास्थलमै मृत्यु भएको बोहराले वताए ।

शिवरात्रिका दिन सडकका विभिन्न स्थानमा बाटो छेकेर रकम उठाउने गरिन्छ । गैरकानुनी भए पनि परम्परा जस्तै बनेको बाटो छेकेर पैसा उठाउने क्रममा बालबालिका प्रयोग भएका देखिन्छन् । घटनास्थलमा ढलिरहेका बालकको ढाडमा डोरी बाँधिएको अवस्थामा पाइएको घटना मुचुल्कामा उल्लेख छ । एकातिर बालकको ढाड र अर्कोतिर डोरी रुखमा बाँधिएको प्रहरीले तयार गरेको मुचुल्कामा उल्लेख छ ।

प्रहरी नियन्त्रणमा रहेका बसका चालकले बस रोकेर पैसा तिरेर अघि बढ्दा घटना भएको बताएका छन् । दुर्घटनास्थलमा स्थानीयले प्रदर्शन गरिरहेको निरीक्षक बोहराले बताए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?