कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्यान्सरका बिरामी अस्पताल छाडेर अन्यत्रै

रमेशकुमार पौडेल

(चितवन) — भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अंकोलोजी विभागका निवर्तमान प्रमुख डा. जया श्रेष्ठको कार्यकक्षमा मंगलबार एक बिरामी आइपुगे । पूर्वी नेपाल घर भएका ती बिरामीलाई डा. जयाले सात महिनाअघि पनि भेटेका थिए । उपचार सुरु भइसकेका उनी अचानक हराएर फेरि अस्पताल आएका रहेछन् । बिरामीले भनेका कुरा सुन्दै जाँदा डा. श्रेष्ठ छाँगाबाट खसेझैं भए । 

ठूलो आन्द्रामा क्यान्सर भएका ४१ वर्षीय ती व्यक्ति ‘अन्तिम विकल्प’को शरणमा पुगेका रहेछन् । ललितपुरको ढोलाहिटीस्थित अन्तिम विकल्पबारे कान्तिपुर दैनिकले पुस २५ गते समाचार प्रकाशन गरेको थियो । क्यान्सरका बिरामीको उपचार गर्ने नाममा उक्त क्लिनिकले अनधिकृत काम गर्दै आएको छ । सबैजसो रोगका बिरामीलाई एउटै औषधि दिने क्लिनिकले १४ वर्षदेखि अवैध धन्दा चलाइरहेको छ । ६ महिना त्यहाँ बरालिँदा रोग बिसेक नभएपछि उनी फेरि भरतपुर क्यान्सर अस्पताल आइपुगेका हुन् ।


‘असार अन्तिममा यहाँ आउँदा उहाँलाई ठूलो आन्द्राको तल्लो भागमा क्यान्सर भएको थियो,’ डा. श्रेष्ठले भने, ‘त्यसबेला क्यान्सर मध्यम अवस्था– स्टेज टु बीमा थियो ।’ उनका अनुसार ठूलो आन्द्राको यो अवस्थाको क्यान्सर उपचारबाट पूर्ण रूपमा निको पार्न सकिन्छ । ‘बिरामी उपचारका लागि आइसकेपछि परीक्षण गरेर हामीले केमोथेरापी, रेडियोथेरापी या शल्यक्रिया (सर्जरी) के गर्ने हो भन्ने निर्क्यौल गर्नुपर्छ । रोग प्रमाणित भएपछि सुरुमा तीन साइकल केमोथेरापी चलाउने निर्णय गरेका थियौं,’ डा. श्रेष्ठले भने ।


गत साउन ३ मा उनको पहिलो केमोथेरापी सुरु भयो । त्यसपछि बिरामी सम्पर्कविहीन भए । केमोथेरापी पूरा भएको भए, सर्जरी र रेडियोथेरापीको प्रक्रिया सुरु हुने थियो । तर उनी अस्पताल बसेर उपचार पूरा गर्नुको साटो काठमाडौं हान्निएछन् । ‘फेसबुक र युट्युबमा क्यान्सरको उपचारका बारेमा खोज्न थालेँ । अन्तिम विकल्पका बारेमा युट्युबमा धेरै राम्रो कुरा सुनेपछि उतै उपचार गराउन थालेँ,’ उनले भने, ‘सञ्चालक सुवास सुब्बाले जडिबुटी खान लगाए । पहिलो महिना ४५ हजार र दोस्रो महिनादेखि १० हजार छुट गरेर ३५ हजार रुपैयाँ तिरेर औषधि खान थालेँ । ६ महिना औषधि खाएँ, निको भएन ।’ ६ महिना औषधि खाँदा लगभग डेढ लाख रुपैयाँ सकेको उनको भनाइ छ ।


डा. श्रेष्ठका अनुसार सुरुमा आएकै बेला सरासर उपचार गरेको भए ती व्यक्तिको उपचारमा बढीमा दुई लाख रुपैयाँ खर्च हुन्थ्यो । मेडिकल अंकोलोजी विभागमा सन् २०१८ मा ओपीडी (बहिरंग) मा ३८ हजार २९३ बिरामी आएका थिए । त्यसमध्ये क्यान्सर नै प्रमाणित भएर उपचारका लागि अन्तरंग विभागमा आठ हजार ५९७ जना बिरामी आएका थिए । ‘उपचार पूरा नगर्ने बिरामी धेरै हुन्छन्,’ डा. श्रेष्ठ भन्छन्, ‘उनीहरू उपचार गर्न भन्दै गलत ठाउँमा पनि जाँदा रहेछन् ।’ क्यान्सर समयमा पत्ता लागेर सुरुमै उचित उपचार गरे निको हुने रोग हो । अहिले प्रायः बिरामी अन्तिम अवस्थामा उपचारका लागि क्यान्सर अस्पताल आउँछन् । ‘तर यो भाइको केस हेर्दा त मान्छेहरू सुरुमै अस्पताल आए पनि बहकिएर उपचार गर्न गलत ठाउँमा फस्ने गरेको देखियो नि । यस्तो समस्या कति होला हामीले ख्याल राख्न सकेका छैनौं,’ श्रेष्ठले भने, ‘अब यतातिर पनि ध्यान दिनुपर्‍यो ।’

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?