कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बनेन भत्केको सडक

कान्तिपुर संवाददाता

चितवन — निर्माण नसकिँदै भत्केको नारायणगढ–मुग्लिन सडकको मर्मत सुरु हुन सकेको छैन । मर्मतका लागि बोलपत्र आह्वान गरे पनि निर्माण कम्पनी इच्छुक देखिएका छैनन् । दुईपटक आह्वान गर्दा पनि बोलपत्र नपरेपछि तेस्रोपटक सूचना निकाल्ने तयारी सडक विभागले गरेको छ । ३६ किलोमिटर लामो यो सडकको तीन ठाउँमा चिरा परेर समस्या देखिएको छ । 

बनेन भत्केको सडक

नारायणगढदेखि १७ किलोमिटर पर मुग्लिनतर्फ सबैभन्दा ठूला चिरा परेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार २३ किलोमिटरमा पर्ने सिमलतालमा सडक चर्केको भने २६ किलो मिटरमा पर्ने भालु खोलामा भत्केको छ । अन्य दुई ठाउँमा २०७५ सालको असारबाटै सडक भत्केको खनालले जानकारी दिए । ‘१७ किलोमा ४० मिटर लम्बाइ र ६ मिटर चौडाइमा सडक भत्केको छ । भालु ढुंगामा ७० मिटर लम्बाइ र साढे पाँच मिटर चौडा सडक भत्केको छ,’ उनले भने, ‘सिमलतालमा भर्खर चिरा पर्न थालेको हो ।’ सो सडक निर्माण पूरा भएको लगभग डेढ वर्षमात्रै भएको छ । यी ठाउँबाहेक जुगेडी नजिक भतेरीमा पनि सडक भास्सिएको थियो । उक्त ठाउँमा सम्बन्धित निर्माण कम्पनीले नै मर्मत गरेका छन् । अन्य ठाउँमा निर्माणका कारणले नभई प्राविधिक विषयले सडक भासिएको हुँदा निर्माण व्यवसायीले बनाउनुपर्ने अवस्था नरहेको हो ।


सडक विभागले मर्मत गर्न खोजे पनि निर्माण कम्पनी इच्छुक नदेखिएको विभागको विकास सहायता कार्यान्वयन महाशाखाका डिभिजनल इन्जिनियर (डीई) रूपक राजभण्डारीले बताए । १७ किलोमा दोहोरो गाडी चलाउन नै समस्या भएपछि ग्राभेल राखेर जेनतेन काम चलाइएको छ । ‘दुईदुई पटक सूचना निकाल्दा पनि बोलपत्र किन परेन भनेर हामी कारण विश्लेषण गर्दै छौं । कारण थाहा भएपछि छिट्टै तेस्रोपटक सूचना जारी गर्ने तयारी छ,’ राजभण्डारीले भने ।


नारायणगढ–मुग्लिन सडकलाई एसियाली स्तरको दुई लेनको बनाउने काम सन् २०१५ बाट सुरु भएको थियो । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्व र पश्चिम भागसँग जोड्ने मुख्य मार्ग हो । जहाँ दैनिक १० हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्दछन् । १७ किलोमा एकतर्फ कडा पहाडी पाखो छ भने अर्कोतर्फ नदी छ । भत्केर भासिएको सडकको भाग नदीतर्फ पर्छ । लगभग आधा सडक भासिएका कारण थप क्षति भए गाडी सञ्चालन गर्न सकिन्न ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?