कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जुगलमा टुकीकै भर

‘विद्युत् छैन, सोलार बल्दै बल्दैन, टुकीको भरमा छाम्दै हिँड्नुपर्छ, त्यही पनि जाडोमा बाल्न हम्मेहम्मे पर्छ’
अनिश तिवारी

(सिन्धुपाल्चोक) — जुगल हिमालको काखमै बगिरहेको कञ्चन ब्रम्हायाणी । किनारछेउसँग जोडिएको अग्ला डाँडामाथिका एउटै रंगले सजिएका चिटिक्क बस्ती । रात परेपछि बिजुलीको अभावमा अन्धकारमा डुब्ने गरेको छ । ‘ साह्रै दिक्क लाग्छ, बिजुली छैन, सोलार बल्दै बल्दैन्, टुकीको भरमा छाम्दै हिँड्नुपर्छ, त्यही पनि जाडोमा बाल्न हम्मे–हम्मे पर्छ,’ टुकी बत्तीको सुत्लो निकाल्दै स्थानीय ओङदी शेर्पा भनिन् । 

जुगलमा टुकीकै भर

हिउँ थपिएसँगै चिसोले आत्तिएकी उनलाई बिजुली नहुँदा कुनै अन्धकार जेलमा बसेजस्तो अनुभव हुने गरेको छ । ‘कतिन्जले यसरी जीवन बिताउनु, कहिले आउँछ हाम्रो गाउँमा बिजुली ?,’ उनले प्रश्न गरिन् । जुगलको बजारक्षेत्र ढाडे, कात्तिके बजारबाट किनेर ल्याएको सोलार र ब्याट्रीको भरमा गाउँमा रातमा आवश्यक उज्यालो हुने गरेको छ । महँगा सोलार र ब्याट्री पनि अत्यधिक चिसोको कारण प्रायः बिग्रिएपछि अन्तिम विकल्प टुकी हुने गरेको तेम्बाथान गाउँका पासाङनुर्ब शेर्पाले दुःखेसो गरे ।


‘हिउँद र बर्खामा घाम नलागेपछि सोलार चार्ज हुँदैन, टुकीको भरमा जे परे पनि दौड्नुपर्छ, रातमा त्यस्तै बिरामीलाई गाह्रो भयो भने के गर्ने के नगर्ने भनेर अन्योलमा पर्छौं,’


उनले भने । दिपु र तेगाको जंगली बाटो कटाउन लगभग एक दिन लाग्छ । त्यसपछिको तेम्बाथान, लाक्याप, निमाडोमा भीर र निमाडोमाको घनघोर लेकाली जंगल छिचोल्नमै दुई दिन बित्ने गर्छ । अझैसम्म सडक नजोडिएको जुगलको दिपु, तेगादेखि तेम्बाथानका गाउँबासी साँझ या रातमा कोही बिरामी परेमा बिजुली नभएकाले उज्यालोको पर्खाइमा कुर्ने गरेको अगुवा साइला शेर्पाले उदाहरण दिए । ‘गर्भवती, सुत्केरीदेखि बिरामी वृद्धवृद्धा त्यस्तै गम्भीर बिरामी अवस्थामा पुग्छन्, अब बिजुली नभएपछि टुकी र मसालको भर पर्नुपर्छ गर्नु पनि के ?’ उनले भने ।


जुगलको दिपु, तेगा र तेम्बाथानका गरी झन्डै २२० परिवार अन्धकारमै बस्न बाध्य छन् । ‘यहाँ न स्वास्थ्यचौकी छ, न सडक नै जोडिएको छ, नेटवर्कसमेत लाग्दैन,’ उनले भने । दुई दिनको यात्रापछि मात्रै गुम्बाथानको सामुदायिक स्वास्थ्य एकाई पुग्न सकिने उनको भनाइ छ । जुगलको वडा ३ को अन्तिम दिपु र तेगा तेम्बाथान हुँदै गुम्बाथान, अम्बाखर्कसम्म झन्डै हजार परिवार बिजुली नभएकाले सास्ती भोगिरहेका छन् ।


बिजुली नपुगेको केही हिमाली गाउँमा बिजुली पुर्‍याउन जुटेको नेपाल विद्युत् प्राधिकरण शाखा सिन्धुपाल्चोक वितरण केन्द्रका प्रमुख सानुबाबु थापाले जानकारी दिए । ‘दिपु, तेगा, तेम्बाथानदेखि गुम्बाथान, अम्बाखर्कबारे यर्थाथ विवरण संकलन गरेर माथिल्लो निकायमा बुझाइसकेका छौं, त्यसबारे बजेटिङ भएपछि काममा लाग्छौं,’ उनले भने । जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले यसबारे आवश्यक पहलमा जुटिरहेको र समन्वय भूमिका गर्ने बताइन् । वाग्मती प्रदेशले बिजुलीका लागि मात्रै ५ करोड बजेट विनियोजन गरेको र यहाँ बजेट ल्याएर बिजुली पुर्‍याउन कस्सिरहेको जनप्रतिनिधिले बताएका छन् ।


तार–खम्बा छन्, बिजुली छैन

लत्रेको तारसँगै बस्तीपिच्छै खम्बा गाडिएको छ । जताततै लगिएको तार घरको बत्तीसँग नजोडिएको पनि होइन । तर, त्यहाँ कहिल्यै बिजुली आएन । ‘३ वर्ष पुग्यो, खम्बा र तार टाँगेको टाँग्यै छ, तर बिजुली बल्दै बलेन, के खान यो पोल र तार टाँगिएको हो भनेर अचम्म लाग्छ,’ जुगल ३ का तेन्जिङ लामाले आक्रोश पोखे । चुनावमा मत माग्न आएका सबै नेताले बत्ती ल्याइदिने प्रतिबद्धता गरे पनि बिजुली नबालिदिएको उनले आरोप लगाए ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?