१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पूर्णसाक्षर हुनमा काठमाडौं पछाडि

गणेश राई

काठमाडौँ — बत्तीमुनि अँध्यारो भनेझैं वाग्मती प्रदेशको काठमाडौं पूर्णसाक्षर जिल्ला घोषणा हुन सकेको छैन । प्रदेशका १३ मध्ये ११ जिल्ला पूर्णसाक्षर घोषणा भइसकेका छन् । काभ्रेपलाञ्चोक बुधबार पूर्णसाक्षर जिल्ला घोषणा हुँदै छ ।
तर मुलुकको सबभन्दा धेरै जनसंख्या रहेको काठमाडौं महानगरपालिका पूर्णसाक्षर महानगर बन्न सकेको छैन । 

हालसम्म काठमाडौं जिल्लाका ११ महानगर/नगरपालिकामध्ये कीर्तिपुर, तारकेश्वर, कागेश्वरी र दक्षिणकाली मात्र पूर्णसाक्षर नगर घोषणा गरिएका छन् । कीर्तिपुर नगरपालिका ०७३ मै पूर्णसाक्षर नगर घोषणा गरिएको हो ।



दक्षिणकाली नगरपालिकालाई मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पूर्णसाक्षर नगर घोषणा गरे । तथ्यांकअनुसार काठमाडौं जिल्लाको जनसंख्या १७ लाख ४४ हजार २४० रहेको छ । जसमा काठमाडौं महानगरपालिमा १० लाख ३ हजार २८५ जना बसोबास गर्छन् । काठमाडौं शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नन्दलाल पौडेलका अनुसार बूढानीलकण्ठ, नागार्जुन, चन्द्रागिरी, टोखा र गोकर्णेश्वर नगरपालिकालाई यसै महिना पूर्णसाक्षर नगर घोषणा गरिनेछ । ‘काठमाडौं महानगरपालिका लाई आउँदो चैतभित्र पूर्णसाक्षर घोषणा गर्ने लक्ष्य रहेको छ,’ पौडेलले भने, ‘युनेस्कोको मापदण्ड अनुसार ९५ प्रतिशत साक्षर पुगेमा पूर्णसाक्षर मानिन्छ ।’


महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरमा बाहिरी जिल्लाबाट बसाइँसराइ गरी आउने जनसंख्या बढिरहेकाले पूर्णसाक्षर घोषणा गर्न ढिलाइ भएको दाबी गरे । स्थानीय तहको निर्वाचनपछि वडा कार्यालयले वडावासीको लगत लिएपछि समस्या पैदा भएको उनले जनाए । महानगरमा बाहिरी जिल्लाबाट बसाइँसराइ गरी आउनेको लगतसमेत संकलन गरिएकाले पुनः साक्षरता कक्षा सञ्चालन गर्नुपरेको दाबी गरे । प्रावधानअनुसार ६ महिनाभन्दा बढी स्थायी बसोबास गर्नेलाई साक्षरता मापन गर्नुपर्ने हुन्छ । ‘सबै वडालाई पत्राचार भइसकेको र कार्यक्रमको तयारी भइरहेको छ,’ मेयर शाक्यले भने, ‘तालिकाअनुसार वडा–वडाबाट पूर्णसाक्षर घोषणा गरिनेछ ।’


हालसम्म वाग्मती प्रदेशका ललितपुर, सिन्धुपाल्चोक, भक्तपुर, चितवन, धादिङ, दोलखा, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा र सिन्धुली पूर्णसाक्षर जिल्ला घोषणा भइसकेका छन् । आगामी वैशाख (२०७७) मा पूर्णसाक्षर प्रदेश घोषणाको तयारी भइरहेको जानकारी वाग्मती प्रदेश शिक्षा विकास निर्देशनालय निर्देशक चन्द्रप्रसाद लुइँटेलले दिए ।


‘काठमाडौंका स्थानीय तहले ढिलाइ गरेकाले समस्या आएको हो,’ काठमाडौं बसाइँ सरेर आउने बढेपछि साक्षरता कक्षा सञ्चालन गरिएको रिपोर्ट पाएको उल्लेख गर्दै उनले भने, ‘काठमाडौं घोषणा भएलगत्तै वैशाखभित्र वाग्मती प्रदेशलाई पूर्णसाक्षर प्रदेश घोषणा गर्ने तयारीमा छौं ।’


तथ्यांकअनुसार प्रदेशको जनसंख्या ५५ लाख २९ हजार ४५२ छ । जसमा २७ लाख ८१ हजार हजार ८१९ महिला र २७ लाख ४७ हजार ६३३ पुरुष छन् । १२ लाख ७० हजार ७९७ घर संख्या रहेका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?