गल्छी-त्रिशूली-मैलुङ सडकको काम धमाधम

कृष्ण थापा

नुवाकोट — राष्ट्रिय गौरवको आयोजनामा परेको गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक आयोजनाले ६० प्रतिशत काम सकेको जनाएको छ । यो सडक गल्छीदेखि रसुवागढी नाकासम्म ८२ किलोमिटर छ । आयोजनाले ३ खण्डमा काम गरिरहेको छ । पहिलो खण्ड गल्छी–मैलुङसम्मको ४६ किमि भित्र पर्छ ।


उक्त सडक खण्डमा आयोजनाले ६० प्रतिशत कामको प्रगति भएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए । यो पहिलो खण्ड धादिङको गल्छी हुँदै नुवाकोटको कोल्पुटार, रातोमाटे, महादेवफाँट, काशीटार, देवीघाट, पीपलटार, गंगटेसम्म २० किलोमिटर सडक स्तरोन्ति गरेको छ । उनले भने, ‘४० प्रतिशत काम बाँकी छ ।’ काठमाडौं जाने ३ नाका गल्छी–काठमाडौं, त्रिशूली–बालाजु र गंगटे–छहरे–गुर्जेभन्ज्याङ सडक छन् । त्यसमध्ये गल्छी–काठमाडौं सडक वर्षात्मा निर्विवाद सुचारु हुने आयोजनाले जनाएको छ ।


पिच नभएको ठाउँमा बेस, सब–बेस राखिएकाले बाह्रै महिना सडक सुचारु हुने आयोजनाका योजना प्रमुख भण्डारीले बताए । त्यसैगरी, मैलुङदेखि स्याफ्रुबेंसीसम्मको १९ किमि सडक ठेक्का आह्वान गरेको आयोजनाले जनाएको छ । अहिले मूल्यांकन गरेर ठेक्केदारलाई दिने तयारी रहेको छ । स्याफ्रुबेंसीदेखि रसुवागढी नाकासम्म १७ किमि चीन सरकारको सहयोगमा निर्माण हुन लागेको छ । आगामी वर्षमा पहिलो खण्डको बाँकी ४० प्रतिशत काम भित्र पर्ने २३ किमि सडक पूरै पिच गरिसक्ने गरी काम भइरहेको उनले बताए ।

आगामी ०७७ जेठ २२ सम्ममा कार्य सक्ने गरी काम भइरहेको छ । आयोजनाले ३ वर्षभित्रमा पूरै काम सक्ने गरी काम अघि बढी रहेको आयोजनाका योजना प्रमुख भण्डारीले बताए । मैलुङ–स्याफ्रुबेंसी ३० महिना काम सक्ने लक्ष्य छ भने स्याफ्रुबेंसी–रसुवागढी ३९ महिनामा काम सकिनेछ । ०७२ को मन्त्रिपरिषद्को निर्णयअनुसार गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक गौरवको आयोजना सूचीकृत गरेको हो । प्रकाशित : फाल्गुन ६, २०७६ १०:०१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘अझै सिंहदरबारमै कैद छ प्रजातन्त्र’

जितेन्द्र साह

(विराटनगर) — काठमाडौं लैनचौरको सम्पन्न परिवारमा जन्मिएका राम बहादुर श्रेष्ठलाई विराटनगरले लोभ्यायो र यतैका स्थायी बासिन्दा भए । शिक्षा, चेतना र राजनीतिमा विराटनगरसँग काठमाडौंको तुलना हुन नसक्ने बताउने उनी २०१६ मा विराटनगर झरेका हुन् । हाल विराटनगर महानगरपालिका–७, गहेली टोलमा उनको स्थायी बसोबास छ । आगामी असारमा उनी एक सय वर्षका पुग्दैछन् ।

वन तस्करका अगाडि नझुक्ने रेन्जरका रुपमा श्रेष्ठलाई धेरैले चिन्ने गरेका छन् । धेरै वर्ष वन अधिकृतका रुपमा विभिन्न जिल्लामा खटिएको त्यो समय उनको सम्झनामा मात्र सीमित छ । राष्ट्रिय एवं स्थानीय पत्रपत्रिकामा सुशासन, सामाजिक चेतना र जागरणसम्बन्धी कविता तथा विचार लेखनमा उनी अझै सक्रिय छन् । विभिन्न कार्यक्रम र अन्तर्क्रियामा सहभागी भई आफ्ना विचार राख्ने सिलसिला उमेरका कारण अहिले पातलिएको छ तर टुटिसकेको छैन । भेट्न आएकालाई समेत आफ्ना कुरा सुनाउँछन् श्रेष्ठ । ‘सहमति, सहकार्य, सञ्चार र समय, यी चार कुरा हरेक नागरिकको सफलताका सुत्रहरू हुन्,’ उनी भन्छन्, ‘सामाजिक अभियान र व्यवहारमा यिनै पक्षको अनुशरणले सफलताको निर्धारण गर्छ ।’

वृद्ध भए पनि उनी सहजै देख्न र सुन्न सक्छन् । राष्ट्रिय पत्रपत्रिकाको नियमित अध्ययन गर्छन् तर भ्रष्टाचारको समाचार पढ्दा निराश हुन्छन् । विगतमा फर्किन्छन् । काठमाडौंको सम्झना उनमा ताजै छ । ‘त्यो समयमा सिंहदरबार अगाडिको दायाँबायाँ तरकारी खेती हुन्थ्यो, धेरैपछि महलहरू बने,’ उनी भन्छन्, ‘सिंहदरबारको संरचना र स्वरुप बदलियो, तर स्वभाव एवम् आनीबानी उस्तै छ ।’ अझै सिंहदरबारभित्रै प्रजातन्त्र कैद भएको उनी बताउँछन् ।

‘वास्तविक रुपमा भूइँका मान्छेसम्म प्रजातन्त्र पुग्न सकेकै छैन,’ श्रेष्ठको आवाज केही रुखो सुनिन्छ, ‘भोट हालेर सत्तामा पुर्‍याई दिने साधनको रुपमा मात्र जनतालाई प्रयोग गरिँदै आएको छ, जनताप्रति जवाफदेहिता बिल्कुलै छैन ।’
सिंहदरबार निर्माणका बखत श्रेष्ठका बुवा रत्नलालले श्रमिकहरूलाई ज्याला बाँड्ने काम गर्थे । पछि डिट्ठा भए । उबेला चोरडाँकाले दुःख दिएपछि डिल्लीबजार सरेका श्रेष्ठ परिवारको आर्थिक र सामाजिक अवस्था दरिलो थियो । तीन दाजु र चार दिदीबहिनी भएका श्रेष्ठको बाल्यकाल पनि सुखसयलमै बित्यो । बुवा सिंहदरबारमा काम गर्ने भएकोले त्यसबेला गरिने कार्यसम्पादन र दरबारियाबारे उनी जानकार छन् । सोहीकारण पनि आजको समयसँग उनी तुलना गरिरहन्छन् ।

राणाकालमा जस्तै सिंहदरबार जनताका लागि आज पनि रहस्यमय नै रहेको उनको भनाइ छ । ‘काठमाडौंको डिल्लीबजारमा बसेर आन्दोलन गर्ने धागो तामाङ, मैना क्षेत्री र सुराकी गर्न सुसारेको रुपमा पठाइएका उनीहरूका बहिनीहरूको दरबारभित्र विभत्स हत्या भएकोबारे बुढापाकाले सुनाउँथे,’ उनले भने, ‘तर नेपालको राजनीतिक रुपान्तरणको इतिहासमा यी नारीहरूको बारेमा कतै उल्लेख छैन ।’

राणाकालदेखि लोकतन्त्रिक गणतन्त्रसम्म राजनीतिक जागरणका साक्षी बनेका उनी सिंहदबारका परिदृश्यहरू बदलिए पनि विभिन्न रुपले जनताको शोषण गर्ने र अँध्यारोमा राख्ने क्रम नरोकिएको बताउँछन् । ‘जनताको सेवाभन्दा पनि भ्रष्टाचार गर्नलाई शक्ति र सत्तामा पुग्ने होड नै आजको शोषणको आधुनिक रुप हो,’ श्रेष्ठ भन्छन्, ‘मुलुकमा वास्तविकभन्दा देखावटी प्रजातन्त्र छ, सोझा जनतालाई रमिते बनाएर ढुकुटी लुट्ने प्रतिस्पर्धा चलेको छ ।’

अहिले अनुशासन, सुशासन र प्रशासनलाई ‘बाइपास’ गरिएको उनको तर्कर् छ । ‘अहिलेका राजनीतीकर्मी र कर्मचारीतन्त्रले सुशासनको महत्व बुझेका छैनन्, अनि भ्रष्टाचार कसरी रोकिन्छ,’ श्रेष्ठ प्रश्न गर्छन् । यस्तै कारणले यातायात र विद्युतलगायत क्षेत्रको पूर्वाधार विकासमा मुलुक धेरै समयसम्म पछि परेको उनलाई लाग्छ । ‘सर्वत्र अनुशासनको अभाव छ, तर यो सिक्नै पर्छ, नत्र भ्रष्टाचार र अन्य बेथिति कम हुन्न,’ उनी सुझाउँछन् । उनले प्रजातन्त्र पुनर्बहालीपश्चात् र लोकतन्त्र प्राप्ति पछिका संविधानले समेत सरकारको क्रियाकलापमा पारदर्शिता हुनुपर्नेमा जोड दिएको बताए ।

आफू विभिन्न जिल्ला वन कार्यालयमा अधिकृतको रुपमा कार्यरत रहँदा गरिने चाकरीको शैलीमा कुनै परिवर्तन नआएको उनको ठकर छ । ‘सम्मान गर्नेभन्दा पनि चाकरीको रुपमा गरिने नमस्कार बेकार हो । उबेला मलाई नमस्कार नगर्नुस् भन्थेँ, त्यसको साटो फाइल, दर्ता र चलानी दुरुस्त राख्न सिकाउँथे, बेलामा चिठीपत्रको जवाफ दिन लगाउँथे,’ उनी भन्छन्, ‘अहिले लोकतान्त्रिक मुलुकको अधिकांश सरकारी कार्यालयमा सेवाग्राहीको राजनीतिक, आर्थिक र सामाजिक हैसियत बुझेर व्यवहार गरिन्छ । यो गलत छ ।’

लामो समयसम्म एउटै दल र एउटै व्यक्ति सत्तामा रहँदा पनि भ्रष्टाचार, अनियमिता र बेथिति फैलिएको श्रेष्ठको बुझाइ छ । ‘अरु दल र नेतामा पनि गुण त होला नि, सबैले मौका पाउनु पर्ने हो,’ उनी भन्छन्, ‘तर राम्राले पाइरहेका छैनन् ।’

बुढ्यौलीसँगै गर्धनको हाड खिइएको र नसाको समस्याले हातखुट्टा झमझमाउन थालेकाले अचेल उनको दिनचर्या घरभित्रै आराम गरेर बित्ने गरेको छ । तर लठ्ठी टेकेर भए पनि हिँड्ने ध्याउन्नमा हुन्छन् उनी । घुमन्ते स्वभावका उनको जीवनकथा पनि रोचक छ । दरबार हाइस्कूलमा पढ्दैगर्दा दोस्रो विश्वयुद्धका लागि भारतमा रहेको अंग्रेज फौजमा श्रेष्ठ भर्ना पनि भएका थिए । त्यतिबेला उनको उमेर १८/१९ को हाराहारीमा थियो । दुई वर्षमै पिउठमा पदोन्नति भए पनि फौजमा हुने हेपाहा व्यवहार खप्न नसकेर उनी स्वदेश फर्किए र रेन्जर विषय पढ्न थाले । भारत सरकारको छात्रवृत्तिमा देहरादुन पुगेर वनविज्ञानको थप अध्ययन गर्न पाए । अमिनको पढाइ र तालिममा उत्कृष्ट नतिजा ल्याएका श्रेष्ठलाई राणाहरूले कैलालीको भजनीमा रेन्जर बनाएर पठाए ।

जागिरको क्रममा विभिन्न जिल्ला पुगेका उनी २०१६ मा मोरङको जिल्ला वन कार्यालय सरुवा भएका थिए । ‘मोरङमा त्यतिखेर चोरीनिकासीभन्दा वन फडानी गर्ने धेरै थिए, वन तस्करका नाइके पेस्तोल भिरेर घोडा चढेर हिँड्दा सबै डराउँथे, वन फाँडेर जमिनमा बसोबास गराई धन कमाउनु मुख्य पेसा थियो,’ श्रेष्ठ पूराना दिन स्मरण गर्छन्, ‘मलाई प्रलोभन र त्रास देखाइए पनि ठूटा नापेर मुद्दा चलाइने अडान लिएपछि तस्करहरू पछि हटे ।’ हिजोआज भएका रुख काटिँदै गएको र त्यो अनुपातमा वृक्षारोपण नभएको देख्दा उनलाई चिन्ता लाग्छ ।

‘निहित स्वार्थका कारणले सरकार र नागरिक असंवेदनशील भइरहने हो भने दुई/तीन दशकपछि देश मरुभूमिमा परिणत हुन बेर छैन,’ उनी भन्छन्, ‘कंक्रिटको महल थप्नेहरूले वनले गर्दा वर्षा हुने र भूमिगत जलस्रोत अडिने कुरा बिर्सेका छन् ।’ पर्यावरणको मामिलामा काठमाडौंको अवस्था दयनीय रहेको श्रेष्ठको दाबी छ । ‘सानो छँदा अहिलेको सहिदगेट दक्षिणको पोखरीमा गर्मीमा पौडी खेल्न जान्थ्यौं,’ उनी भन्छन्, ‘अहिले त सब सखाप भए, वाग्मती र विष्णुमती नदीमा कञ्चन पानी बग्थ्यो, तिर्खा लागेका बेला अञ्जुली भरेर त्यही पानी खान्थ्यौं ।’

विसं १९९० को भूइँचालोको विनाश र निर्माण दुवैका पनि उनी साक्षी थिए । ‘पुनर्निर्माणपछि सामान्य अवस्थामा फर्किन एक वर्षभन्दा बढी समय लागेको थियो, सरकारले दिएको ऋणमा थपेर पहिलेका भन्दा सुन्दर महलहरू बने, काठमाडौं आकर्षक बनेको थियो ।’ हिजोआज लोकतन्त्रमा धमिरा लाग्दै गएकोले मुलुकमा भनिएजस्तै समृद्धि देख्न नपाएको उनी बताउँछन् । ‘सामाजिक सेवा भावले गरिनुपर्ने राजनीति पनि व्यापार जस्तै भएपछि सर्वत्र निराशा छायो,’ उनी भन्छन्, ‘जनतालाई सबल बनाउँदा सत्तामा टिक्न कठिन हुने नेतृत्व वर्गको संकिर्ण सोचले लोकतन्त्रमा धमिरा लाग्दै गएको छ ।’

प्रकाशित : फाल्गुन ६, २०७६ ०९:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×