विकास देखेर कोही आत्तिए : प्रधानमन्त्री

नगेन्द्र अधिकारी

काभ्रे — प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक परिवर्तनको तीव्र वेगमा रहेको दाबी गरेका छन् । देश ‘सुरुङ युग’ मा प्रवेश गरेको तर्क गर्दै ओलीले सडक चौडा पार्ने तथा सुरुङ निर्माणलाई तीव्रता दिने बताए ।

विकास देखेर कोही आत्तिए : प्रधानमन्त्री

धुलिखेल नगरपालिकाको ३४ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सोमबार बोल्दै प्रधानमन्त्री ओलीले देशमा भइरहेको ‘पछिल्लो विकास देखेर केही मानिस आत्तिएको’ दाबी गरे । ‘आज मात्रै (सोमबार) काठमाडौंमा टेलिफोनका तार बिजुलीका खम्बामा झुन्ड्याउन नपर्ने, भुप्पाझुप्पा देख्नु नपर्ने गरी जमिनमुनिबाट लैजाने कार्यको सुरुवात गर्‍यौं । केही समयभित्र हावाहुरी चल्दा बिजुलीका पोल भत्किएलान् भन्ने डर हुँदैन,’ उनले भने ।

ओलीले अर्को वर्षसम्म थप एक हजार मेगावाट विद्युत् उत्पादन थपी निर्यात गरिने बताए । ‘नेपाल एक सय वर्षमा पनि पाँच सय मेगावाटभन्दा कम विद्युत् उत्पादन गरेर बसेको थियो,’ उनले भने, ‘अहिले २ वर्षमा हजार मेगावाट नघाएका छौं, अर्को वर्ष अर्को हजार मेगावाट नघाएर विद्युत् निर्यातकर्तामा परिणत हुँदै जान्छौं ।’

वर्तमान सरकारको विकास देखेर मानिसहरू अचम्ममा परेका ओलीको भनाइ छ । ‘मान्छेहरू छक्क परेका छन्, ‘यसरी पनि विकास हुँदो रहेछ, यसरी पनि बाटो चौडा हुने रहेछ, शिक्षा, स्वास्थ्य सफाइ अभियान चल्दो रहेछ भन्न थालेका छन्,’ ओलीले भने ।

आफ्नो १९ मिनेट लामो सम्बोधनको अधिकांश समय उनले आफ्नै प्रशंसामा खर्चिए । बिजुलीको पहुँच ८८ प्रतिशत नेपालीमा पुगिसकेको दाबी गर्दै ओली दुई वर्षभित्र शतप्रतिशतमा पुर्‍याउने बताए । ‘स्मार्ट मिटर राख्दैछौं, निकट भविष्यमा मेलम्ची ल्याएर काठमाडौंमा खानेपानीको अभाव न्यून गर्नेछौं,’ उनले भने, ‘४–जी सेवा सबै जिल्लामा पुगिसकेको छ, डिजिटल नेपाल बनाउने बाटोमा अघि बढ्दै छौं, विकास र सेवाका क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गरेर अगाडि बढ्नेछौं ।’ ओलीले जनताको सरकार रहेको दाबी गर्दै नेपालीलाई खानलाउन सरकारले पुर्‍याउने दाबी गरे ।

कार्यक्रममा ओलीले धुलिखेल नगरपालिकाले प्रदान गर्दै आएको ‘धुलिखेल रत्न पदक’ काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजूलाई प्रदान गरे । धुलिखेल नगरपालिकाका वडा नं २ का तत्कालीन अध्यक्ष राजन कोइरालालाई मरणोपरान्त ‘धुलिखेल नक्षत्र’ प्रदान गरियो । त्यसैगरी, कलाकार मनोज पण्डितलाई धुलिखेल प्रज्ञाश्री र गोविन्द शर्मा धिताल सेवाश्री पदकबाट सम्मानित भए । ओलीले धुलिखेल–११ मा स्थापित स्वर्गीय मदन भण्डारीको शालिकसमेत अनावरण गरे ।


प्रकाशित : फाल्गुन ५, २०७६ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?