कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

जोखिमपूर्ण घरमा बास

घरको प्रबलीकरण वा भत्काएर पुनर्निर्माण गर्न पुनर्निर्माण प्राधिकरणका प्राविधिकले सुझाव दिए पनि थोरै रकमले नपुग्ने भन्दै जोखिमयुक्त घरमै बसिरहेका छन् 
प्रताप विष्ट

हेटौंडा — भूकम्पले घरमा चिराचिरा परेको र एकातर्फको गाह्रो भत्केको ५८ महिना भइसक्यो । एउटा धरापजस्तो घर, त्यही घरमा ९ जनाको परिवार ढुक्कसँग बसिरहेका छन् । प्रबलीकरणको लाभग्राही सूचीमा परेका कैलाश गाउँपालिका–३ परबाङका शनिश्चरे चेपाङको परिवार जोखिमयुक्त घरमा बस्दै आएको हो ।

जोखिमपूर्ण घरमा बास

उनले प्रबलीकरण गर्न झन्डै २ वर्षअघि सम्झौता गरी ५० हजार रुपैयाँ लिइसकेका छन् । दसैंको मुखैमा लिएको पैसा किनमेलमा सके । अहिले उनको परिवार प्रबलीकरण नगरीकन त्यही घरमा बसिरहेका छन् । ढुंगामाटाको जोडाइ भएको दुईतले उक्त घरको गाह्रो भूकम्पले चिरिनुको साथै गाह्रोके केही भाग नै भत्केको छ । त्यस्तै घरमा उनीहरू बसिरहेका छन् ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका गाउँमा खटिएका प्राविधिकहरूले उनलाई घरको प्रबलीकरण गर्न वा घर पूरै भत्काएर पुनर्निर्माण गर्न सुझाव दिंदै आएका छन् । त्यसका लागि तीन लाख रुपैयाँ उपलब्ध गराउन सक्ने प्राविधिकहरूको भनाइ छ । चेपाङले एक लाख रुपैयाँले प्रबलीकरण गर्न पनि पुग्दैन, त्यसमा पनि ५० हजार रुपैयाँ मासिसकियो, ५० हजार केही पनि नहुने बताए । उनले थपे, ‘३ लाख रुपैयाँले नयाँ घर बन्दैन, यो बसिरहेको घर भत्काएर कहाँ बस्ने ? भूकम्प सधैं आउने होइन, कहिलेकाहीं आउने हो, त्यसैले यही थोत्रो घरमा बस्दै आएका हौं । ’ आफ्नो आम्दानीले ६ महिना पनि खान नपुग्ने यो चेपाङ परिवार उक्त जोखिमयुक्त घरमा बस्दै आएको छ ।


उनी मात्र होइन परबाङका अर्का नरबहादुर चेपाङ पनि त्यस्तै जोखिमयुक्त घरमा बस्दै आएका छन् । भूकम्पले उनको घरको गाह्रो चरक्कै चर्केको छ । घरको पछाडिको ग्राह्रो पनि भत्केको छ । प्रवलीकरणको लाभग्राहीमा उनको नाम पनि छ । उनले पनि ५० हजार रुपैयाँ लिएर अरू नै काममा खर्च गरिसकेका छन् । तर, घरको मर्मत भने गरेका छैनन् । मकवानपुरका शनिश्चरे र नरबहादुर मात्र होइन प्रबलीकरणका अधिकांश लाभग्राहीहरूले पहिलो किस्ता ५० हजार रुपैयाँ लिएर अन्यत्र खर्च गरेर घरको मर्मत–सम्भार नै गरेका छैनन् । मकवानपुर जिल्लामा १३ हजार १०६ जना प्रबलीकरणको लाभग्राहीमा सूचीकृत भएका छन् । तीमध्ये ८ हजार २३९ जनाले अनुदान सम्झौता गरेर पहिलो किस्ताबापत ५० हजार रुपैयाँ लगेका छन् । तीमध्ये ११ जनाले मात्र दोस्रो किस्ता लगेको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका इन्जिनियर रविन पाठकले बताए । प्रबलीकरणको गति अत्यन्त सुस्त भएकाले प्राविधिक र डकर्मीहरूलाई प्रबलीकरणमा जोड दिन प्राधिकरणले निर्देशन दिएको छ । ‘पूर्ण घर भत्केकाहरूले घर धमाधम बनाउने काम गरिरहेका छन् तर प्रबलीकरणतर्फ अगाडि नै बढ्न नसकेको अवस्था छ,’ पाठकले भने ।


प्रबलीकरणका लाभग्राहीहरूले २ किस्तामा एक लाख रुपैयाँ मात्र पाउँछन् । घरको प्रबलीकरण गर्न उक्त रकम अपुग हुने भएकाले लाभग्राहीहरूले प्रबलीकरणको किस्ता बुझेर लैजाने रुचि देखाएका छैनन् । भूकम्पपछि जोखिममा परेका र लालपुर्जाविहीन भूकम्पपीडितहरूलाई सुरक्षित स्थानमा जमिन खरिद गर्न मकवानपुरका २० जनाले ४० लाख रुपैयाँ पुनर्निर्माण प्राधिकरणबाट बुझेका छन् । उनीहरूले बकैया र मनहरि गाउँपालिकाको जमिन खरिद गरिसकेका छन् । मकवानपुरका पूर्ण आवास क्षति भएका भूकम्पपीडितहरूमध्ये ४१ प्रतिशतले निजी आवासीय भवन निर्माण गरिसकेका छन् । अनुदान सम्झौता भएकाहरूमध्ये ८६ प्रतिशतले निजी आवास भवन बनाइरहेका छन् । अनुदान सम्झौता गरेकामध्ये हालसम्म मकवानपुरमा १४ हजार १३५ लाभग्राहीलले घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) मकवानपुरका प्रमुख विमलकिशोर केसीले बताए ।


उनका अनुसार मकवानपुरमा कुल लाभग्राही संख्या ३४ हजार ३१९ मध्ये २९ हजार ५०५ जना अर्थात् ८६ प्रतिशतले लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । ६ हजार ५८६ लाभग्राहीहरूसँग अहिलेसम्म सम्झौता हुन सकेको छैन । अनुदान सम्झौता भएकामध्ये २९ हजार ५०५ अर्थात् ८६ प्रतिशतले लाभग्राहीले प्रथम किस्ताको रकम बुझेर लगिसकेका छन । २३ हजार ४३१ अर्थात् ६८ प्रतिशत लाभग्राहीले दोस्रो किस्ता लगेर युद्धस्तरमा घर बनाइरहेको कार्यालय प्रमुख केसीले बताए । तेस्रो किस्ता १८ हजार ४०३ जना लाभग्राहीले वुझेर लगेका छन् ।


जिल्लामा ६ हजार ५ सय ८६ लाभग्राहीसँग लालपुर्जाविहीन, सुकुम्बासी, मृतक, दोहारो नाममा लगायतका कारणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आवास पुनर्निर्माणका लागि सम्झौता हुन नसकेको हो । पुस्तौंदेखि बसोबास गर्दै आएको तर लालपुर्जा नभएको, बाढी पहिरो नलाग्ने र जोखिमयुक्त क्षेत्र नभए उक्त स्थानमा लालपुर्जाविहीन भूकम्पपीडितहरूसँग अनुदान सम्झौता गर्न सक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले व्यवस्था गरेको छ । असार मसान्तसम्म भूकम्पपीडितहरूले अनुदान सम्झौता गर्नुपर्ने प्राधिकरणले समयसीमा तोकेको छ । मकवानपुरमा पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढेको जिल्ला समन्वय समितिमा प्रमुख रघुनाथ खुलालले बताए । यस अवधिमा २८ जना लाभग्राहीले किस्ता रकम फिर्ता गरेका छन् । २५ जना लाभग्राहीले पहिलो र ३ जनाले दोस्रो किस्ता रकम फिर्ता गरेका हुन् । भवन बनाउन आवश्यक नपरेको भन्दै उनीहरूले रकम फिर्ता गरेका हुन् ।

प्रकाशित : फाल्गुन ५, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?