तीन गोही मृत अवस्थामा, सात जालमा

रासस

चितवन — राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात  गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् । 


निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो। ती गोही मर्नुका कारण पत्ता लगाउन पोष्टमार्टम गर्न अङ्ग पठाइएको छ। उनले भने, 'मर्नुको कारण यहाँ पत्ता नलागे विदेशी विज्ञहरुसँगसमेत परामर्श गर्ने तयारीमा छौँ।' ती तीनै वटा गोही गत साल नदीमा छाडिएका हुन्।


यसअघि यसै वर्ष दुईवटा गोही मरेको अवस्थामा भेटिएको थियो। संरक्षण अधिकृत खड्काका अनुसार भदौमा राप्तीको ढुङ्ग्रे खोलामा पुछर र सेटेलाइट मात्रै फेला परेको थियो। त्यस्तै असोजमा निलडामसहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो। यी दुवै गोही सेटेलाइट जडान गरी छाडिएका हुन्। मानिसले गोही मारेर खाएको आशङ्का समेत गरिएको जनाइएको छ।


राप्तीमा चारवटा र नारायणीमा तीन गोही जालमा बेरिएको अवस्थामा भेटिएका छन्। ती गोहीलाई नियन्त्रणमा लिएर जाल हटाउने काम आजबाट थालिने निकुञ्जले जनाएको छ। मुखमा बेरिएको अवस्थामा गोही फेला परेका हुन्। अनुगमनका क्रममा नारायणीमा चार वटा र राप्तीमा एउटा भाले गोही फेला परेका छन्।


ती दुई नदीमा भाले गोही नभए पछि बबहीबाट एउटा भाले गोही ल्याइएको थियो। अनुगमनका क्रममा बबहीबाट ल्याइएको समेत तीन ठूला र दुई साना भाले गोही देखिएको उहाँले जानकारी दिनुभयो। यससँगै नदीमा भाले गोहीको अभाव हटेको छ।


निकुञ्जले दुई नदी र भङ्गालालाई १३ भागमा विभाजन गरेर बाह्र वटा टोलीले डुङ्गामार्फत र एउटाले पैदल अनुगमन गरेको थियो। तीन दिनसम्म गरिएको अनुगमन शनिबार साँझ सकिएको हो। अनुगमनमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञसहित ६५ जना सहभागी थिए। निकुञ्ज बाहिरको नारायणी नदीको देवघाटदेखि सिख्रौलीघाटसम्म केही दिनमा नै अनुगमन गरिने निकुञ्जले जनाएको छ। नारायणीको भेलौजीमा एउटा डल्फीनसमेत भेटिएको थियो। विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर विभिन्न नदीमा हालसम्म एक हजार ४६५ वटा गोही छाडिसकिएको छ। ती मध्ये राप्तीमा मात्र ७८५ गोही छाडिएको छ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ। पछिल्ला वर्षहरुमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ। यस वर्ष यसै महिनाबाट प्रजनन् केन्द्रमा हुर्काएका गोही नदीमा छाड्ने तयारी गरिएको छ। नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन। पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन्।

सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो। नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ। हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ। प्रकाशित : फाल्गुन ४, २०७६ १०:२०

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अमेरिका र तालिवानले युद्धविराम गर्ने

(एजेन्सी)

म्युनिख — संयुक्त राज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिवान अस्थायी युद्धविराम गर्न सहमत भएका छन् । 

दुई पक्षबीच सात दिन युद्धविराम गर्ने सहमति भएको हो । सहमतिअनुसार दुवै पक्षले अफगानिस्तानभर एक साता हिंसात्मक गतिविधि गर्ने छैनन् । तालिवानले अलकायदा जस्ता समूहलाई आश्रयस्थल उपलब्ध नगराउने र अमेरिकाले आफ्ना सेना फिर्ता लान समयसीमा तोक्नेबारे पनि सहमति भएको उल्लेख छ ।

यसबारे आइतबार औपचारिक घोषणा हुने र सोमबारबाट युद्धविराम लागू हुनसक्ने अमेरिका–तालिवान वार्ताका जानकारलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।

अस्थायी युद्धविराम सफल भए तालिवानसँगको १८ वर्ष लामो युद्ध अन्त्य हुन सक्ने खालको शान्तिसम्झौतातर्फ दुवै पक्ष अघि बढ्ने जनाइएको छ । तालिवान बुधबार मात्रै हिंसात्मक गतिविधि रोक्न सहमत भएको थियो ।

अफगान सरकार र तालिवानबीच अर्को महिना वार्ताको थालनी गर्ने विषयमा पनि अमेरिकासँग सहमति भएको छ । युद्धविराम अमेरिका संलग्न लामो द्वन्द्व अन्त्यका लागि महत्त्वपूर्ण कदम हुन सक्ने राजनीतिक विश्लेषक बताउँछन् । विदेशी युद्धमा सहभागी अमेरिकी सेनालाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानको प्रतिबद्धता पूरा हुने माध्यम पनि युद्धविराम हुन सक्ने उनीहरूको तर्क छ । अस्थायी युद्धविरामको कार्यान्वयनसँग जोडिएको अमेरिका–तालिवान शान्तिसम्झौतापछि मात्रै वास्तविक र दीर्घकालीन शान्तिको योजना बन्ने अमेरिकी अधिकारीले बताएका छन् ।

युद्धविरामबारे अमेरिकी वरिष्ठ अधिकारी र तालिवान अधिकारीले बेग्लाबेग्लै जानकारी दिएका छन् । ‘तालिवानले हिंसात्मक घटनामा कमी गर्ने’ प्रतिबद्धता व्यक्त गरेको र समग्र अफगानिस्तानभर नै युद्धविरामको परिकल्पना गरेकोले सम्झौता ‘विशिष्ट’ खालको रहेको उनीहरूको भनाइ छ । युद्धविराम सम्झौताको कार्यान्वयन अफगान सुरक्षाफौजले पनि गर्नेछन् । अधिकारीका अनुसार तालिवानले सडकछेउमा आक्रमण नगर्ने र आत्मघाती बम विस्फोटसहित रकेट आक्रमण रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्रतिबद्धता पूरा भए १० दिनभित्र अमेरिका–तालिवानबीच शान्ति सम्झौता हुने अमेरिकी अधिकारीले बताएका छन् । तालिवानले भने शान्तिसम्झौताका लागि फेब्रुअरी २९ तय भएको र अफगान सरकारसँगको वार्ता मार्च १० बाट सुरु हुने तयारी भइरहेको उल्लेख गरेको छ । जर्मनी र नर्वेले अफगान अधिकारी र तालिवानबीचको वार्ता आयोजना गर्ने प्रस्ताव गरे पनि वार्तास्थलबारे निर्णय भई नसकेको उनीहरूले बताएका छन् । अफगान अधिकारीसँगको वार्ता सुरु हुनुपूर्व आफ्ना पाँच हजार बन्दी रिहा गर्नेबारे पनि अमेरिकासँग सम्झौता भएको तालिवानको जिकिर छ ।

अफगान राष्ट्रपति असरफ घानी र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसहित रक्षामन्त्री मार्क एस्परबीच शुक्रबार जर्मनीको म्युनिखमा भएको भेटपछि तालिवानसँगको युद्धविराम सहमतिबारे जानकारी गराइएको हो । अन्तर्राष्ट्रिय सुरक्षा मञ्चको साइडलाइन बैठकमा उनीहरूबीच भेट भएको थियो । युद्धविराम सम्झौतामा उल्लेख भएअनुसार तालिवान कैदी रिहा गर्ने प्रतिबद्धता पूरा गर्न वासिङ्टनले घानीको सहयोग खोजेको छ । राष्ट्रपति घानी भने तालिवानसँग पटकपटक वार्ता गरेका अमेरिकी विशेषदूत जाल्मे खलिलजादको शैलीलाई लिएर असन्तुष्ट छन् । खलिलजादले आफूहरूलाई वार्ताबारे जानकारी नदिएको भन्दै घानी रुष्ट छन् ।

वर्तमान गठबन्धन सरकारका साझेदार अब्दुल्लाह अब्दुल्लाहको भूमिकालाई लिएर पनि उनी खुसी नरहेको बताइन्छ । तालिवानसँग हुने वार्तामा काबुलको प्रतिनिधित्व अब्दुल्लाहले नै गर्नेछन् । घानी आफैंले वार्ताको नेतृत्व गर्न चाहे पनि उनका राजनीतिक प्रतिद्वन्द्वीसहित प्रमुख नेताले वार्ताको टेबलमा समावेशी प्रतिनिधित्वमा जोड दिँदै आएका छन् ।

अमेरिकी कठपुतलीको संज्ञा दिँदै अफगान सरकारसँग वार्तामा नबस्ने बताउँदै आएको तालिवान केही नरम देखिएपछि वार्ता हुन लागेको हो । तालिवान स्रोतले भने काबुल प्रतिनिधिमा सरकारी अधिकारी हुने भए पनि उनीहरूलाई सरकारी प्रतिनिधित्वभन्दा पनि सामान्य अफगान नागरिकका रूपमा मात्रै लिइने बताएको छ ।

अमेरिकी अधिकारीले भने ठ्याक्कै कहिलेबाट अमेरिकी फौज फिर्ता लगिनेछ भन्नेबारे बोलेका छैनन् । अमेरिका तालिवान सम्झौता हुनेबित्तिकै हाल विद्यमान १४ हजार सेनाको संख्या घटाएर लगभग ८ हजार ६०० बनाउने तयारी भने भइरहेको उल्लेख छ ।

प्रकाशित : फाल्गुन ४, २०७६ १०:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×