कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जटिल क्षयरोगका बिरामी बढे

हालसम्म देशका ८० ठाउँमा मात्रै जटिल क्षयरोग पत्ता लगाउने उपकरण छन्, दुर्गमका बिरामीको पहुँचमा यो सेवा उपलब्ध छैन
फातिमा बानु

काठमाडौँ — जोरपाटीका ३४ वर्षीय एक पुरुषलाई वैदेशिक रोजगारीका लागि मलेसिया बस्दाबस्दै खोकी लागिरहने र ज्वरो आउने भयो । तीन महिनासम्म उनले नेपालबाटै किनेर लगेको दुखाइ कम गर्ने औषधि खाएर बसे । ‘औषधि खाएको एकैछिन व्यथा कम हुन्थ्यो,’ उनले भने, ‘केही घन्टामा फेरि उस्तै लगातार खोकी लाग्थ्यो ।’

जटिल क्षयरोगका बिरामी बढे

ज्वरोले थलिएर कामै गर्न नसक्ने अवस्थामा पुगेपछि उनी गत फागुनमा नेपाल फर्किए । छातीको एक्सरे र खकार जाँच गराउँदा क्षयरोग पत्ता लाग्यो । रोग पनि सामान्य होइन, जटिल प्रकारको क्षयरोग अर्थात् बहु औषधि प्रतिरोधी (एमडीआर) ।


सामान्य खालको क्षयरोग भएको भए उनी ६ महिना औषधि खाएर निको हुन सक्थे । चिकित्सकको सल्लाहअनुसार जटिल क्षयरोग निको हुन उनलाई आठ महिना दैनिक रूपमा सुई लगाउनुपर्छ र एक वर्ष ६ महिना एक दिन पनि नछुटाई औषधि खानुपर्छ । ‘मलाई यो रोग कसरी कोबाट कसरी सर्‍यो थाहा छैन,’ उनले भने, ‘मलेसिया हुँदा एउटै कोठामा सात जनासम्म सुत्नुपर्थ्यो । खोक्ने, ज्वरो आइरहने साथी पनि थिए । त्यहीँ कसैबाट सरेको शंका लाग्छ ।’ हाल उनी कालीमाटीस्थित क्षयरोग निवारण संस्थामा उपचाररत छन् । आठ महिना संस्थाकै होस्टलमा बसेर उपचार गर्नुपर्ने उनले बताए ।


जडिबुटीका ३० वर्षीय पुरुषलाई तीन वर्षअगाडि खान मन नलाग्ने, खोकी लाग्ने र ज्वरोले सताइरहने भयो । चार महिनासम्म उनले एन्टीबायोटिक औषधि खाए । ‘जति औषधि गरे पनि निको भएन,’ उनले भने, ‘एक दिन ट्याक्सी चलाउँदा चलाउँदै रगत नै छादेँ ।’ त्यतिखेर उनी ट्याक्सीमा बिरामी बोक्ने काम गर्थे । वीर अस्पतालमा जाँच गराउँदा उनलाई क्षयरोग देखियो । ६ महिना औषधि खाएर निको पनि भए । फेरि ट्याक्सी चलाउन थालेका उनलाई एक वर्ष नबित्दै रोग बल्झियो । ‘साथीहरूले क्यान्सर लागेको भन्थे,’ उनले भने, ‘भक्तपुर अस्पतालमा पुगेर क्यान्सर टेस्ट गराएँ, साथीहरूले भनेजस्तो होइन रहेछ ।’ धेरै जाँचपछि उनलाई जटिल क्षयरोग नै भएको पुष्टि भयो । हाल उनी पनि राजधानीको एक क्षयरोग उपचार केन्द्रमा बसेर औषधि खाइरहेका छन् । २० महिना औषधि खाएपछि मात्रै उनको रोग निको हुन्छ ।


राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार देशभर जटिल खाले क्षयरोगका ७२० बिरामी छन् । जटिल बिरामी बढ्नुले क्षयरोग नियन्त्रणमा चुनौती थपिरहेको केन्द्रका निर्देशक सागरकुमार राजभण्डारीले बताए । ‘हामी देशबाटै क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएर काम गरिरहेका छौं,’ उनले भने, ‘जटिल क्षयरोग बढिरहँदा हामीलाई लक्ष्य प्राप्त गर्न गाह्रो छ ।’ नयाँ रणनितीक योजना बनाएर भए पनि क्षयरोग अन्त्य गरिने तयारी रहेको उनले बताए ।


केन्द्रका अनुसार हाल नेपालमा ३२ हजार ५०० क्षयरोगका बिरामी उपचारमा छन् । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक वर्ष क्षयरोगका ४५ हजार बिरामी थपिन्छन् । केन्द्रको आंकलन अनुसार भने नेपालमा ७० हजारको हाराहारीमा बिरामी थपिने भए पनि २८ प्रतिशत उपचारको सम्पर्कमा छैनन् । ‘सम्पर्कमा नभएका बिरामीले अन्य बिरामीलाई रोग सारिरहेका छन्,’ निर्देशक राजभण्डारीले भने, ‘लुकेका बिरामी खोजेर उपचारमा नल्याएसम्म यो रोगको अन्त्य गर्न सम्भव छैन ।’ केन्द्रका अनुसार १२ हजार बिरामी सम्पर्कबाहिर छन् ।


क्षयरोग विशेषज्ञ डा. सुवेश श्रेष्ठका अनुसार पर्याप्त उपचार नगरेकै कारण जटिल खाले क्षयरोगी बढिरहेका छन् । ‘अधिकांश बिरामी निजी अस्पतालबाट उपचार गराइरहेको हाम्रो आशंका छ,’ उनले भने, ‘निजीबाट हुने उपचार र औषधि सरकारी मापदण्डअनुसारको छैन । बीचमै औषधि छाड्ने, उपचार नै नगर्ने या गलत उपचार गरिरहने प्रवृत्तिले जटिल क्षयरोग बढिरहेको हो ।’


उनका अनुसार जटिल क्षयरोगका ३० प्रतिशत बिरामी उपचारमा छैनन् । ती बिरामीले स्वस्थ व्यक्तिलाई पनि जटिल क्षयरोग नै सारिरहेका छन् । खकारको माध्यमबाट एमडीआर पत्ता लगाउने उपकरण ‘जीन एक्सपर्ट’ सबै अस्पतालमा राखेर भए पनि बिरामीलाई उपचारमा ल्याउनुपर्ने उनको भनाइ छ ।


केन्द्रका अनुसार हालसम्म देशका ८० ठाउँमा मात्रै जटिल क्षयरोग पत्ता लगाउने उपकरण छन् । दुर्गमका बिरामीको पहुँचमा यो सेवा नभएको डा. भण्डारीले बताए । नेपालमा क्षयरोगकै कारण बर्सेनि सात हजार बिरामीले ज्यान गुमाइरहेका छन् । अर्थात् हरेक दिन १८ जनाभन्दा बढीको मृत्युको कारण क्षयरोग हो ।

प्रकाशित : फाल्गुन ४, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?