वडाध्यक्ष, सडक प्रमुख र प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

अनिश तिवारी

सिन्धुपाल्चाेक — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका– ६ का वडाध्यक्ष कैलाश थापासहित ६ जना र सडक डिभिजन कार्यालय, मोरङका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) जितेन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वडाध्यक्ष, सडक प्रमुख र प्रशासकीय अधिकृतविरुद्ध मुद्दा

आयोगले वडाध्यक्ष थापा र लिसंखुपाखर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिनसहितका कर्मचारीको मिलोमतोमा खानेपानी आयोजनाको रकम नक्कली बिल भर्पाइ बनाई भुक्तानी लिएर भ्रष्टाचार गरेकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर गरिएकामा थापा र पाख्रिनका अतिरिक्त तत्कालीन लेखापाल सुरेन्द्रबहादुर तितज, सब–इन्जिनियर लिलबहादुर पाण्डे गाउँपालिका–५ का बाबुलाल जोशी र दलबहादुर श्रेष्ठ छन् ।


उनीहरूले कुनै पनि कामै नगरी जिल्ला खानेपानी आयोजनामा किर्ते कागज बनाई रकम निकासा गरी खाएको अनुसन्धानबाट खुलेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । उनीहरूले पेट्कु खानेपानी र मायाखोला मुहान फरक–फरक आयोजनालाई एउटैमा समावेश भएको हो भनी स्वीकृत नभएको योजनालाई बजेट विनियोजन गरेर सरकारी अनुदान रकम हिनामिना गरेको आरोप छ ।


३५ लाख रुपैयाँ भ्रष्टाचार गरेको छानबिनबाट पुष्टि भएकाले सडक डिभिजन कार्यालय, मोरङका तत्कालीन प्रमुख चौधरीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


चौधरीले कार्यालय प्रमुख हुँदा ठेकेदार कम्पनी भूमि इन्फ्रास्ट्रक्चर प्रालिका सञ्चालकबाट सडक निर्माण आयोजनाहरूको काम सुरु गर्दा दिइने मोबिलाइजेसन रकमबाट ३५ लाख रुपैयाँ कमिसन लिई श्रीमतीको खातामा जम्मा गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

प्रकाशित : फाल्गुन ३, २०७६ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?