कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ड्रागन गुफा पदमार्गमा जोडिँदै

अनिश तिवारी

(सिन्धुपाल्चोक) — घना जंगलबीचको भीर । भित्ताको परपरसम्म फैलिएको अनौठो आकृति । बौद्ध परम्पराको ध्वजापतकाले भीरसँगैको गुफालाई झनै आर्कषक बनाएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङको लार्के जंगलमा रहेको ‘ड्रागन गुफा’को दृश्य हो यो । तामाङ र शेर्पा समुदाय यहाँ कुदिएको अनौठो कलालाई शक्तिशाली ड्रागनले रूपमा मान्छन् । 

ड्रागन गुफा पदमार्गमा जोडिँदै

‘त्यसैले यसको नाम नै ड्रागन गुफा बन्यो, यहाँको कला देखेर सबै दंग छौं,’ वडाध्यक्ष निमाछिरिङ लामाले भने । सरकारले सूचीकृत गरेको ‘सय गन्तव्य’मा परेको पाँचपोखरीसँगै ड्रागन गुफालाई पर्यटनमा जोड्न पदमार्गको योजनामा आफूहरू रहेको उनले बताए । यो गुफालाई ह्योल्मो भाषामा ‘डुग रेहेन्जेन’ अर्थात् ड्रागनको शिला भन्ने गरिन्छ । यसको तल्लो गुफालाई नाङ्बु थिवा भन्छन्, यसको अर्थ घ्याम्पो फुटेको भन्ने हो । लार्के क्षेत्रको मुख्यस्थल गुफाभित्रको एउटा ढुंगाबाट दूधजस्तो पदार्थ बगिरहन्छ । ‘त्यही प्राचीन पवित्र घ्याम्पोको दूध ढिस्को बनेर बसेको मानिन्छ, त्यसले पखालेमा पाप मेटिने जनविश्वास छ,’ उनले भने ।


पाँचपोखरी थाङपाल–३ भोताङका झाँक्री रिटी तामाङ लोप्चाका अनुसार दुई शब्तादीअघि यहाँ एउटा ठूलो भीर र भित्तोको थुम्कोजस्तो मात्रै थियो । केही चौंरी गोठाला बस्थे । औंसीको रातमा चौंरीगोठबाट अचानक भागाभाग मच्चियो । जब गोठाला र झाँक्रीले भीरमा ठूलो आगोको ज्वालासहित कुनै सर्पजस्तै जीव आनन्द लिएर नाच्दै थियो । डराएर उनीहरूले टाढैबाट त्यो घटना हेरे । ‘भोलिपल्ट ती गोठालाले ड्रागन आकारमा ढुंगामा कुदेको कलात्मक स्वरूप भेटेको किंवदन्ती छ, यसलाई ठूलो दैवीशक्ति मानेर पूजा गर्दै आएका छौं,’ उनले भने । तत्कालीन प्रसिद्ध झाँक्री सुन तामाङसहित चार जनाले द्धू गुफाको स्थान पहिचान गरेको उनको भनाइ छ । प्रत्येक मसिंर पूर्णिमाका यो गुफा परिसरमा मेला लाग्ने गर्छ ।


पाँचपोखरीसम्म केबुलकार लैजाने लक्ष्य राखेको पाँचपोखरी थाङपाल गाउँपालिकाले लार्के खोला हुँदै आमायांग्रीसम्मको पदमार्ग योजना राखेको छ । महागुरु पद्मसम्भव, गुरु रेन्पोछेले तपस्या गरेको पवित्र शिलास्थल, ड्रागन गुफासम्म पदमार्गलाई जोड्ने योजना बनाइएको पाँचपोखरी थाङपाल पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सुवास वाइबाले बताए । ‘हाल अप्ठेरो स्थानलाई सहज बनाएर ट्रेकिङ रुट बनाएका हौं, चाँडै सहजसँग पाँचपोखरी पुग्न सकिने बाटो बनाउनेछौं,’ उनले भने ।


पाँचपोखरी गेटमा डिजिटल प्रवेशद्वार, नागिथाम्ङमा उद्यान क्षेत्र र ६० फिट अग्लो गुरु रेन्पोछेको मूर्ति बनाउने गाउँपालिकाले योजना छ । नौलिंगेश्वर महादेव, आमायांग्री र पाँचपोखरीको विशेष पर्यटन प्रवर्द्धन अभियानमा लागेको वाइबाले जनाए ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?