कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

प्रेम दिवसमा परम्परागत खानाका परिकार

रमेशकुमार पौडेल

चितवन — प्रेम दिवसको अवसरमा चितवनका पर्यटकीय क्षेत्रहरुमा चहल पहल बढ्दो छ । मुख्य पर्यटकीय क्षेत्र पुर्वी चितवनको सौराहा र पश्चिम चितवनको पटिहानी घटगाईमा खाना महोत्सव (फुडफेस्टिवल) आयोजना भएका छन् । महोत्सव हेर्न आउनेहरुले परम्परागत स्थानीय परिकारको स्वाद लिन पाउने छन् । जिल्लाका आदिवासी थारु बोटे समुदायको भान्सामा पाक्ने परिकारहरु महोत्सवका स्टलहरुमा पनि राखिएका छन् ।

प्रेम दिवसमा परम्परागत खानाका परिकार

मंगलबारबाट सुरु भएको सौराहाको फुड फेस्टिवलमा खानाका अनेक परिकार छन् । ‘तर फेस्टिवल आयोजना गरेको वर्षदेखि नै स्थानीय परिकारलाई हामी प्रमुखता दिँदै आएका छौं’ महोत्सवका संयोजक ध्रुव गिरीले भने । अघिल्लो वर्ष थारु समुदायको विशेष स्टल थियो । आफ्नो जातीय पोसाक र गहना लगाएरै थारु महिलाहरु स्टलमा बसेका थिए । जहाँ थारु समुदायको खास परिकार चिच्चर, घोगी, माछा र हाँसको मासु पाइन्थ्यो ।


यो वर्ष त्यसरी प्रमुखता दिएर नेवारी समुदायको स्टल राखेको गिरीले बताए । ‘त्यो विशेष स्टलमा नेवारी समुदायका परिकारहरु पाइन्छ । साथै थारु समुदायका खानाहरु पाउने स्टलहरु पनि छन्’ गिरीले भने । सौराहाको फुड फेस्टिवलमा खानाका ३८ वटा स्टलहरु छन् । स्थानीय परिकारका साथै अन्य विदेशी र साकाहारी परिकारका स्टलहरु पनि राखेको गिरीले बताए । रेस्टुरेन्ट तथा बार एसोसिएसनले महोत्सव आयोजना गरेको हो ।


अर्को पर्यटकीय क्षेत्र पश्चिम चितवनको पटिहानी घडगाईमा यो वर्षदेखि फुड फेस्टिवल सुरु भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालबाटै बिहीबार उद्घाटन भएको सो फेस्टिवलमा पनि स्थानीय परिकारलाई प्रथामिकता दिएको आयोजकहरुले बताएका छन् । फेस्टिवलमा २० वटा स्टल छन् । जसमा खानाका १५ वटा स्टल रहेका छन् । जसमध्ये दुईवटा थारु समुदायका र एउटा बोटो समुदायको खानाको स्टल छ ।


‘थारु र बोटेहरु पटिहानी क्षेत्रका आदिवासीहरु हुन् । महोत्सवमा आउनेलाई स्थानीय परिकार चखाउनका लागि थारु र बोटेका छुट्टै स्टलहरु राखेका हौं । अन्य स्टलहरुमा पनि यी जातिका खानाहरु छन्’ आयेजक भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोले भने । चिच्चर, घोगी, माछा र हाँसको मासु थारु समुदायको खास परिकार भए जस्तै बोटो समुदायको खास परिकार माछा हो ।


मंगल बोटे आफ्नो सुमदायको भान्सामा पाक्ने परिकारलाई महोत्सव घुम्न आउनेहरुलाई चखाउने तयारीमा जुटेका छन् । उनी भन्छन् ‘हामी माछा मार्दैनौं मत्रै । निकै स्वादिलो हुने गरी पकाउँछौं पनि । महोत्सव आउनेले यो स्वाद लिन पाउने छन् ।’ सौराहा र पटिहानीमा फरक मितिमा खाना महोत्सव उद्घाटन भए पनि समापन एकै दिन शनिबार हुँदै छ ।


पर्यटकीय क्षेत्र भएका कारण चितवनमा प्रेम दिवसको सन्दर्भ पारेर घुम्ने आउने क्रम बढ्दो छ । प्रेम दिवसको अवसर पारेर १४ वर्षदेखि सौराहामा फुड फेस्टिवल हुँदै आएको ध्रुव गिरीले बताए । पटिहानीलाई सरकारले गत वर्षमात्रै सय पर्यटकीय गन्तव्यभित्र राखेको छ । अम्ब्रेला स्ट्रिट यसै वर्ष तयार भएको छ । अम्ब्रेला स्ट्रिटको उद्घाटनसँगै खाना महोत्सव सुरु गरेको वडाध्यक्ष विष्णुराज महतोले बताए ।

प्रकाशित : फाल्गुन २, २०७६ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?