कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चीनबाट नेपालीको उद्धार गर्न सांसदको माग

चीनको भाइरस प्रभावित क्षेत्रमा रहेका १८० जना नेपालीको तत्काल उद्धारका लागि पहल गर्नुपर्ने उनीहरुको माग 
सुवास विडारी

(मकवानपुर) — वाग्मती प्रदेशसभाका सांसद्हरूले चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीको तत्काल उद्धार गर्न माग गरेका छन् । सोमबारको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना नियन्त्रणमा प्रदेशले गरिरहेको पूर्वतयारीबारे जानकारी गराएसँगै सदनमा बोल्ने अधिकांश सांसदले उक्त माग गरेका हुन् ।

चीनबाट नेपालीको उद्धार गर्न सांसदको माग

चीनको भाइरस प्रभावित क्षेत्रमा रहेका १८० जना नेपालीको तत्काल उद्धारका लागि पहल गर्नुपर्ने उनीहरूको माग थियो । प्रदेशसभा सदस्य रमेश पौडेलले भने, ‘यस विषयमा अब ढिलाइ गर्नहुँदैन ।’


सांसद् नरोत्तम वैद्यले चीनमा रहेका नेपालीहरू आफूहरूलाई स्वदेश फिर्ता पठाइदिन आग्रह गर्दै मानवअधिकार आयोगमा पुगिसकेको भन्दै यसलाई थप अन्तर्राष्ट्रियकरण हुनबाट रोक्न जरुरी रहेको औंल्याए । सांसद् राजकाजी महर्जनले चीनबाट उद्धार गरिने नेपालीलाई काठमाडौं उपत्यकाभित्र नभएर कुनै खुला स्थानमा राख्ने व्यवस्था मिलाउन जरुरी रहेको सुझाव दिए । सांसदहरू केशव पोखरेल, प्रभात तामाङ, विशाल खड्का, शान्तिप्रसाद पौडेल, मीना ज्ञवाली तथा राजेन्द्रमान श्रेष्ठले कोरोना भाइरस प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न सबै सचेतपूर्वक तत्काले लाग्नुपर्ने बताएका थिए ।


मन्त्री दुलालले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले पूर्वतयारी सुरु गरिसकेको बताए । उनका अनुसार प्रदेश मातहतका सबै अस्पताल, आयुर्वेद चिकित्सालय, स्वास्थ्य कार्यालयहरूमा आवश्यक सतर्कता अपनाउन निर्देशन दिइसकेको जनाए । ‘स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि आवश्यक सामग्री खरिद भइसकेको छ,’ मन्त्री दुलालले भने, ‘कोरोना भाइरसको संक्रमण नै हुन नदिने गरी प्रयास गरिरहेको छौं । नेपालमा हालसम्म एक जनामा मात्रै कोरोना भइरसको संक्रमण भेटिएको र अहिले ती स्वस्थ भइसकेका छन् ।’


कोरोना भाइरसको संक्रमण भित्रिनै नदिन र संक्रमण देखिएमा नियन्त्रणका लागि प्रदेश सरकारले २ वटा छुट्टाछुट्टै समिति बनाएको छ । प्रदेशले भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयका सचिवको नेतृत्व र स्वास्थ्य निर्देशनालयका निर्देशकको नेतृत्वमा अलग–अलग समिति गठन गरेको र दुवै समितिले काम सुरु गरिसकेको बताए । भरतपुर अस्पतालमा ५ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ । हेटौंडा अस्पतालमा पनि २ शय्याको वार्ड तयारी अवस्थामा राखिएको उनले बताए । प्रदेशले सबै अस्पतालमा पुग्ने गरी ज्वरो मापनका लागि इन्फ्रारेड थर्मोमिटर वितरण गरिसकेको छ ।

पहिलोपटक प्रश्नोत्तर

वाग्मती प्रदेशसभाले पहिलोपटक प्रश्नोत्तरको अभ्यास गरेको छ । यसअघि विशेष र शून्य समयको अभ्यास गरिसकेको प्रदेशसभाले सोमबारको बैठकमा प्रश्नोत्तरको अभ्यास गरेको हो । विवेकशील नेपाली दलका सांसद् रमेश पौडेलले नेपालमा हाल सञ्चालित भिजिट नेपाल २०२० का लागि मन्त्रालयले गरेको खर्च लगानीको कारण र प्रदेश भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरूले पाइरहेको सेवासुविधाको विषयमा प्रश्न गरेका थिए । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रदेश सरकारले भ्रमण वर्ष लक्षित कामबारे जवाफ दिएका थिए ।


अख्तियार र सरकारप्रति कांग्रेस आक्रोशि

प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संघीय सरकारप्रति आक्रोश व्यक्त गरेको छ । प्रदेशसभामा विशेष समय लिएर बोल्दै संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दोषी जति सबैलाई मुद्दा लगाउनुपर्नेमा सत्तापक्षलाई जोगाएर प्रतिपक्षलाई मात्र मुद्दा चलाएको भन्दै आक्रोश पोखे । ‘एउटै मन्त्रिपरिषद्मा रहेको मन्त्रीलाई मुद्दा लाग्ने । प्रधानमन्त्रीलाई नलाग्ने । यस्तो अवस्था कसरी सिर्जना भयो ?’ बानियाँले भने । उनले अख्तियार स्वतन्त्र निकाय भएर पनि संघीय सरकारको इसारामा चलिरहेको भन्दै आपत्ति जनाए । ‘प्रधानमन्त्रीको आग्रहमा मन्त्रीले गरेको काममा विभेदकारी र अन्यायकारी नीति अख्तियारले लियो । संघीय सरकारका कारण स्वतन्त्र निकायमाथि प्रश्नचिह्न खडा हुने अवस्था सिर्जना भइसकेको छ,’ नेता बानियाँले भने ।


विधि र प्रक्रियाले काम गर्न दिएन

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले नेपालमा विद्यमान झन्झटिलो विधि र प्रक्रियाको कारण प्रदेश सरकारले काम गर्न नसकेको बताएका छन् । प्रदेशसभा बैठकको विशेष समयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री जम्मकट्टेलले विधि र प्रक्रिया पूरा गर्न धेरै समय लाग्ने हुँदा विकास निर्माणको काममा सोचेअनुसार गर्न नसकिएको टिप्पणी गरे । ‘हामी राजनीतिक नेतृत्वहरू कमजोर अवस्थामा रहेका छौं ।


स्थायी सरकारको रूपमा रहेको कर्मचारी संयन्त्र असाध्यै बलियो अवस्थामा रहेका छन् । जसको कारणले सदनबाट पास भएको बजेटसमेत अर्थ मन्त्रालयले तोकेको समय सीमाभित्र दिँदैन । अनि कसरी हामीले काम गर्न सक्छौं,’ मन्त्री जम्मकट्टेलले भने । उनले राजनीतिक नेतृत्वमा जस्तै कर्मचारी संयन्त्रमा पनि विकासप्रतिको मोह बढ्न जरुरी रहेको औंल्याए । ‘प्रदेश सरकार आफ्नो गल्ती कमजोरी स्वीकार्न तयार छ । हामी थप व्यवस्थित र सुदृढ हुँदै अगाडि बढ्नेछौं,’ उनले थपे ।

दुईवटा विधेयक पेस

प्रदेशसभाको बैठकमा दुईवटा विधेयक पेस भएका छन् । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री जम्मकट्टेलले अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक सभामा पेस गरेका थिए । अर्को बैठक मंगलबार दिउँसो ३ बजे बस्नेछ ।

प्रकाशित : माघ २८, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?