आफन्तले धोका दिँदा...- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफन्तले धोका दिँदा...

राजेन्द्र मानन्धर

(दोलखा) — घर बनाउन लिएको सरकारी अनुदान छलछाम गर्ने प्रवृत्ति बढिरहेका बेला दोलखाका ८४ वर्षीय वृद्धले चरिकोटस्थित पुनर्निर्माण कार्यालयमै आएर रकम फिर्ता गरेका छन् । मंगलबार चरिकोटस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई कार्यालय आएर कृष्णबहादुर खत्रीले ५० हजार अनुदान रकम फिर्ता गरे । कार्यालयमा नगदै फिर्ता गरेको घटना कार्यालयका लागि पहिलो हो । 

तपतपी शीत चुहिने छाप्रोमा कृष्णबहादुर र श्रीमती बस्छन् । भूकम्पयताका साढे चार वर्ष हिउँद–बर्खा नै उनीहरूले यही छाप्रोमा बिताए । मंगलबार ५० वटा हजारका नोट बोकेर कृष्णबहादुर कार्यालय आइपुग्दा प्रमुख गणेश अर्याल छक्क परे । ‘कार्यालयमा सोधीखोजी गर्दा यसअघि कोही पनि व्यक्ति नगद लिएर कार्यालयमा बुझाउन आएका रहेनछन्,’ उनले भने, ‘नगदै बोकेर आएको यो नै पहिलो घटना हो ।’ सरकारले घर बनाउन सित्तैमा उपलब्ध गराएको रकम फिर्ता गर्नुको पछाडि आफन्तले दिएको पीडा प्रमुख कारण रहेको प्रमुख अर्यालले सुनाए ।


अर्यालको हातमा रकम थमाउँदै कृष्णबहादुरले भनेका रहेछन्, ‘यो सरकारी पैसा हिनामिना हुँदा परिवार नातिनातिनासम्मलाई अप्ठेरो पर्ने भएकाले फर्काएको हुँ ।’ परिवारका सदस्यले नै धोका दिएकाले घर बनाउन नसकेको र अब पनि छाप्रोमै बाँकी जीवन बिताउने आफूलाई जानकारी गराएको अर्याल बताउँछन् ।


जिल्ला सदरमुकाम रहेको भीमेश्वर नगरपालिका–३ चरिकोटस्थित करोडौं मूल्य पर्ने जमिन आफन्तले उम्काइदिएपछि यी वृद्ध दम्पतीको हालत यस्तो बनेको हो । घर बनाउने जमिनसमेत नपाएकाले रकम फिर्ता गर्नुपरेको वृद्ध दम्पती बताउँछन् । उनीहरूका एक छोरा र तीन छोरी छन् । ०७२ सालको भूकम्पअघिसम्म एकै घरमा बसे पनि छोरा र दम्पतीको भान्सा अलग थियो । छोरीहरू सबैको बिहे भइसकेको छ । जब भूकम्पले घर ध्वस्त बनायो, छोराले छुट्टै टहरा बनाए । पहिले नै अंश लगाएकाले छोरा र दम्पतीका लागि सकारले दुई वटा घर बनाइदिनेगरी अनुदान दियो । उनीहरूले ५०/५० हजार पहिलो किस्ता बुझे । छोराले उक्त रकमले घर बनाए तर बाबुआमाले सकेनन् । जमिन नभएकाले घर बनाउन नसकेको कृष्णबहादुर सुनाउँछन् ।


नाति सुवास खत्रीका अनुसार ज्वाइँ पर्नेले सहकारीमा राखेर व्यवहार चलाउने भन्दै जमिन हात पारेपछि बाजेबज्यैको यस्तो हालत भएको हो । ‘कान्छा ज्वाइँबाट धोका भएपछि इमानदारपूर्वक रकम फिर्ता गरेको हुँ,’ कृष्णबहादुरले बिलौना गरे, ‘करिब ८० लाख मूल्य पर्ने जमिन हातबाट फुत्किएपछि बुढेसकालमा झन् दु:खी बनायो ।’ घर बनाउन नसकेको भन्दै दोलखामा एक सय ३३ जनाले अनुदानको पहिलो किस्ता ५० हजारको दरले फिर्ता गरेका छन् । सबैले बैंकमार्फत रकम फर्काए तर कृष्णबहादुर लौरो टेक्दै कार्यालयमै हाजिर भए । यसरी आइपुगेका उनको इमानको प्रशंसा गर्दै सम्मान गर्ने सूचीमा कार्यालयले नाम राखेको छ । ‘२०७७ वैशाख १२ गते हुने कार्यक्रममा कृष्णबहादुर र उनकी श्रीमतीलाई इमानदारपूर्वक सरकारी रकम फिर्ता गर्ने व्यक्तिको रूपमा सम्मान गर्छौं,’ कार्यालय प्रमुख अर्यालले घोषणा गरे ।


दोलखामा भूकम्पपीडित लाभग्राही सूचीमा नाम परेको तर अनुदान रकम नलिएका झन्डै ६ हजार छन् । उनीहरूको नामावली भूकम्पपीडितको सूचीबाट हटाउन थालिएको छ । उक्त नामावली हट्दा करिब ३० करोड रकम फर्जी ढंगले वितरण हुनबाट जोगिन्छ । दोलखामा कुल ७२ हजार दुई सय ७८ जनाले सम्झौता गरी घर बनाउन पहिलो किस्ता बुझेका छन् ।


हालसम्म ५६ हजार ६ सय चार जनाले तेस्रो किस्ता बुझेर घर निर्माण सम्पन्न गरेका छन् । पहिलो किस्ता अनुदान लिने तर घर नबनाउनेको संख्या करिब १२ हजार छ ।

प्रकाशित : माघ १७, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्

लाङटाङमा १५ हजार पर्यटक

बलराम घिमिरे

(रसुवा) — लाङटाङ क्षेत्रमा विदेशीभन्दा धेरै स्वदेशी पर्यटकले भ्रमण गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा करिब १५ हजार पर्यटकले लाङटाङ क्षेत्रको भ्रमण गरेका छन् । यस अवधिमा ८ हजार ६ सय ५० स्वदेशी र सार्कसहित अन्य मुलुकबाट ६ हजार ३ सय ६ पर्यटक आएको लाङटाङ राष्ट्रिय निकुञ्जमा रेन्जर रमेश बस्नेतले बताए । 

आन्तरिक पर्यटकको आगमन निकै कमी हुने लाङटाङ र गोसाइँकुण्ड पदमार्ग दुई वर्षयता स्वदेशी पर्यटकको रोजाइमा पर्न थालेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जले ०७५ असोज २९ देखि लाङटाङ र गोसाइँकुण्ड जाने स्वदेशी पर्यटकको तथ्यांक राख्न थालेको छ । स्वदेशी पर्यटकसँग प्रवेश शुल्क लिन थालेपछि तथ्यांक राख्न थालिएको निकुञ्जले बताएको छ । स्वदेशी पर्यटकले एक सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्छ । यहाँ आउने पर्यटक पदयात्राका लागि लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदामार्ग जाने गर्छन् ।

रसुवामा पर्यटकका लागि तीन वटा पदमार्ग छन् । धुन्चे–गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकको हेलम्बुसम्म गोसाइँकुण्ड पदमार्ग, स्याफ्रुबेँसी हुँदै लाङटाङसम्म लाङटाङ पदमार्ग र स्याफ्रुबेँसीदेखि गोल्जुङ, गत्लाङ, चिलिमे, थुमन, टिमुरे, बृदिम हुँदै स्याफ्रुबेँसीसम्म तामाङ सम्पदा मार्ग छन् । यस क्षेत्रमा आउने पर्यटकले गणेश तथा लाङटाङ हिमालको मनोरम दृश्य, निकुञ्ज क्षेत्रभित्रका जैविक विविधता, रामसार साइटमा सूचीकृत धार्मिक तीर्थस्थल गोसाइँकुण्ड, तामाङ सम्पदामार्गमा रहेको तामाङ कला र संस्कृति अवलोकन गर्छन् ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु रेडपान्डा, हिमचितुवा र कस्तुरीमृग लगायतका जीवजन्तु पाइन्छ । लाङटाङ पदमार्गमा यस वर्ष धेरै स्वदेशी पर्यटक घुम्न आएको घोडातबेलाका होटल व्यवसायी ढिण्डुप तामाङले बताए । अफ सिजन भए पनि अहिले निकुञ्जको ब्राबल चेक प्वाइन्टबाट दैनिक १० देखि १५ जना विदेशी तथा स्वदेशी पर्यटक प्रवेश गर्ने गरेका छन् । यो सिजनमा कोरियन पर्यटक घुम्नका लागि आउने गरेको लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामाले बताए । सार्क मुलुकलगायत रसुवामा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्रान्स, जर्मन, जापान, अमेरिका, कोरिया, बेलायतका पर्यटक आउने गरेका छन् ।

प्रकाशित : माघ १७, २०७६ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×