बञ्चरेडाँडामा ल्यान्डफिल साइट : म्याद ३ महिना बाँकी, काम ३०% मात्रै
काठमाडौँ — नुवाकोटस्थित बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट पूर्वाधार निर्माणको काम ३० प्रतिशत मात्र भएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । ठेकेदारको लापरबाहीले बञ्चरेडाँडाको पूर्वाधार निर्माणमा ढिलाइ भएको विभागका महानिर्देशक मणिराम गेलालले बताए ।
ठेकेदारलाई क्वालिटी एस्युरेन्स प्लान (क्यूएपी) र मोबिलाइजेसनबापत् लिएको पेस्की रकमको खर्च विवरणसमेत नबुझाएको उनले दाबी गरे । मंगलबार महानगरको सभाकक्षमा बसेको बैठकमा महानिर्देशक गेलालले ल्यान्डफिल साइटको अहिलेसम्म भएको कामको विवरण प्रस्तुत गरेका थिए ।
‘पुस २२ गते ठेक्केदारले परिवर्तित कार्य तालिका (रिभाइज्ड वर्क सेड्युल) पेस गर्यो,’ महानिर्देशक गेलालले भने, ‘तर, पेस गरेको तालिकाबमोजिम फिल्डमा कामको प्रगति छैन । समय सकिन अब ३ महिना मात्र बाँकी छ ।’ लक्षित समयमा काम सम्पन्न हुनेमा शंका रहेको उनले बताए । बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माणका सरोकारवाला पक्षसँगको बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ढिलाइ हुनुका कारण सोधेका हुन् । पूर्वाधार निर्माणमा नीतिगत अप्ठ्यारो भए आफूले जहाँ गएर भए पनि समाधान निकाल्ने उनले बताए । ‘तोकेको समयमा काम पूर्वाधार निर्माण सम्पन्न हुन नसक्नुमा कसको दोष हुन्छ ?,’ उनले भने, ‘ल्यान्डफिल साइट बनाउन नीतिमा केही समस्या छ भने कुन तहमा समस्या छ, त्यसलाई समाधान म गर्छु ।’ मेयर शाक्यले विभागलाई भने, ‘प्राविधिक र प्रशासनिक काम तपाईंहरूले पूरा गर्नुपर्यो ।’ बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव महेन्द्र गुरागार्इंले फोहोर ल्यान्डफिल साइटको निर्माणसँगै फोहोर उत्पादनको स्रोतमा वर्गीकरण गर्ने विधिलाई पनि प्रवर्द्धन गर्नुपर्ने बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले अहिलेको ठेकेदारसँग ठेक्का तोडेर नयाँ ठेकेदारलाई छोटो बाटोबाट ठेक्का दिएर भए पनि वा अन्य विकल्प खोजेर भए पनि समयमै काम सक्नुपर्ने बताए । मुख्य ठेकेदारबाट कार्य प्रगति नभएपछि उपक्रममा रहेका ठेकेदारलाई काम लगाएर निर्माण कार्य अघि बढाउने सहरी विकास तथा भवन निर्माण विभागको योजना छ । नियमित २ सिफ्टमा काम गर्ने हो भने १ महिनामा काम सकिन्छ । जेभीमा रहेका ठेकेदारबाट यही गतिमा काम काम लगाउनुपर्ने बैठकमा सहभागीले योजना सुनाए ।
बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न ०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोसी एन्ड न्यौपाने जेभी (उपक्रम) सँग ठेक्का सम्झौता गरेको थियो । भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८ सय ९५ रुपैयाँमा गरिएको सम्झौतापछिको ३ महिनाभित्र ठेकेदारलाई ६ करोड ८० लाख रुपैयाँ मोबिलाइजेसन रकम भुक्तानी दिइसकिएको विभागले जनाएको छ ।
प्रकाशित : माघ १५, २०७६ ०८:१७