२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सहिदप्रति उच्च सम्मान जरुरी : राष्ट्रपति भण्डारी

सुवास विडारी

मकवानपुर — राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदप्रति उच्च सम्मान प्रकट गर्न जरुरी रहेको बताएकी छिन् । मंगलबार हेटौंडा–११ स्थित सहिद स्मारकको रजत जयन्ती तथा प्रजातान्त्रिक पार्कको उद्घाटनपश्चात् सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले देशमा भएको विभिन्न परिवर्तनमा उल्लेख्य भूमिका खेल्ने सहिदहरुप्रति राष्ट्रले उच्च सम्मान व्यक्त गर्न जरुरी रहेको बताएकी हुन् । 

सहिदप्रति उच्च सम्मान जरुरी : राष्ट्रपति भण्डारी

‘सहिदप्रतिको सम्मानले नयाँ पुस्तामा राष्ट्रियताको जगेर्ना, देशभक्तिको भावना जागृत गर्नुका साथै लोकतन्त्रको सम्वर्द्धन र प्रवर्द्धन गर्न तथा सामाजिक न्यायको पक्षमा क्रियाशील हुन उत्प्रेरित गर्ने विश्वास लिएको छु ।’, राष्ट्रपति भण्डारीले सहिद स्मारक सहिदहरुको अध्ययन र अनुसन्धान गर्ने साझा थलोको रुपमा विकास भइरहेको भन्दै खुसी व्यक्त गरिन् ।


उनले मुलुकमा उत्पादित विद्युतिय उर्जालाई सदुपयोग गर्न सुदृढ विद्युत प्रसारणका साधन तथा प्रवर्द्धन गर्ने उपकरणको प्रयोग बढाउन खाँचो रहेको पनि बताइन् ।


राष्ट्रपति भण्डारीले प्रदेशसभाले प्रदेशको नाम वागमती राखेकोमा खुसी व्यक्त गरिन् । पर्यटन प्रवर्द्धनमा प्रदेश सरकारको विशेष जोड रहने विश्वास लिएको बताउँदै भण्डारीले प्रदेशमा पर्यावरणमैत्री पर्यटकीय संरचनामा निर्माणमा ध्यान दिन प्रदेश सरकारलाई सुझाइन् । जनस्वास्थ्यलाई ध्यानमा राखेर सुविधायुक्त स्वास्थ्य संस्था र गुणस्तरीय शैक्षिक संस्थाहरु स्थापना गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।


राष्ट्रपति भण्डारीले स्मारकमा निर्माण भएको रजत स्तम्भ र प्रजातान्त्रिक पार्कको अनावरण गरेकी थिइन् । उनले सहिद स्तम्भ तथा मदन वाटिकामा माल्यार्पणसमेत गरेकी थिइन् ।


सोही कार्यक्रममा स्मारक विकास समितिका अध्यक्ष एवं वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले देशमा अधिकारी प्राप्तिको लडाईं सकिएको बताउँदै संघर्षको युगबाट समृद्धिको युगमा प्रवेश गरेको बताए । ‘लामो राजनीतिक स्थिरतापछि देशमा बलियो र स्थिर सरकार निर्माण भएको छ । भ्रष्टाचारविरुद्ध शून्यसहनशिलता, प्रशासनिक काममा चुस्तता र स्थानीय सरकारबाट घरगाउँमै सेवा प्रवाह र विकास निर्माणप्रति प्रतिवद्धताबाट देश बन्दैछ भने सन्देश प्रवाह भएको छ ।’, मुख्यमन्त्री पौडेलले भने ।


वागमती प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अहिलेको व्यवस्था निरन्तर लम्बाई र संघर्षबाट प्राप्त भएको बताए । वागमती प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री अरुण नेपालले प्रदेशभर निर्माण भइरहेको पर्यटकीय पूर्वाधारको बारेमा जानकारी गराएका थिए ।


रजत जयन्तीको सन्दर्भमा सहिद स्तम्भ निर्माण गर्ने कलाकारहरु कमलेश महर्जन, गोविन्द चौधरी र पृथ्वी श्रेष्ठ, स्मारक निर्माण गर्दाको पहिलो उपभोक्ता समितिका अध्यक्ष हरिशरण सुवेदी तथा स्थापना कालदेखिका व्यवस्थापकीय प्रमुख रामचन्द्र न्यौपानेलाई सम्मानित गरिएको थियो ।

प्रकाशित : माघ १४, २०७६ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?