२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

चितवनमा १० हजार पानीचरा

रमेशकुमार पौडेल

(चितवन) — हिउँद याममा लामो दुरी पार गरेर जाडो छल्न पानीचरा नेपाल आइपुग्छन् । आहारा र राम्रो बासस्थान खोज्दै नेपाल आउने यस्ता चराको संख्या यसपालि चितवनमा सन्तोषजनक देखिएको छ । चितवनमा बर्ड एजुकेसन सोसाइटी नामक संस्थाले पानीचरा गणना गर्दै आएको छ । 

चितवनमा १० हजार पानीचरा

‘यो वर्ष हामीले गणना गर्दा चितवनमा ५७ प्रजातिका १० हजार पानीचरा फेला परे,’ सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीले भने । गत वर्षको गणनामा ५० प्रजातिका ८ हजार ४ सय ९६ पानीचरा फेला परेको उनले बताए । बिडारीसहितको टोलीले राप्ती नदीको लोथरदेखि तल मेघौलीसम्म, रिउ खोला र निकुञ्ज आसपासका अन्य तालतलैया र सानाठूला खोला र खोल्सामा पानीचरा गणना गर्छ ।


राप्ती नदीको पूर्वी भेग अर्थात् लोथरदेखि सौराहासम्म पानीचरा निकै कम पाइएपछि गणकहरू सुरुवातमा केही निराश देखिन्थे । ‘तर पश्चिम लागेपछि राम्रो संख्यामा देख्न पाइयो । यो पटक गणनामा रिउ खोला थपिएको थियो ।


बढी भेटिएका सात प्रजातिमध्ये तीन प्रजातिका चरा रिउमा फेला परेका हुन्,’ बिडारीले भने । जनवरी ४ देखि १५ दिनसम्म चरा गणना भएको थियो । बसाइँ सरेर आउने हिउँदे चरा मान्छेको चहलपहल र चाप नभएको, शान्त तथा सफा ठाउँ, ताल परेको खोला र जलाशयमा बस्ने गर्छन् । ‘राप्ती नदीको सौराहादेखि पूर्वी भेगमा पहिलापहिला चरा अत्यधिक पाइन्थे । यो वर्ष खोलाको धार परिवर्तन गरिएको रहेछ,’ बिडारीले भने, ‘किनारमा काम गर्दै गरेका ट्र्याक्टर र एक्स्काभेटरको कोलाहलमा चरा बस्दैनन् ।’


गणनामा बिडारीसहित १८ जना चरा गणक संलग्न थिए । बर्ड एजुकेसन सोसाइटीका सल्लाहकार टीका गिरीका अनुसार नेपालमा सन् १९८७ देखि पानीचरा गणना सुरु भएको हो । चितवनमा पनि सोही वर्षदेखि उनले चरा गन्दै आएका छन् । ‘यी चरा जाडो धेरै हुने ठाउँबाट उड्दैउड्दै न्यानो क्षेत्रमा आउने हुन्,’ उनले भने । गिरीका अनुसार मंगोलिया, साइबेरिया, चीनको उच्चभाग, भारतको लद्दाखबाट हाँस प्रजातिका पानीचरा यहाँ आउने गर्छन् । बकुल्ला, जलकौवा पनि नेपाल भित्रिन्छन् । सगरमाथाभन्दा उच्च अर्थात् ९ हजार मिटरमाथिबाट उडेर चराहरू न्यानो क्षेत्रमा आउने उनले बताए । ती चराको मुख्य आहारा माछा र खोलाको लेउ हो । ‘चरा कम हुनु भनेको माछा नहुनु हो, खोलामा प्रदूषण बढेछ भन्ने संकेत पनि हो,’ गिरीले भने, ‘त्यसैले पानी चरा शान्त र स्वच्छ वातावरणका सूचक हुन् ।’


कसरी हुन्छ गणना ?

चरा निकै चञ्चल हुने भएकाले गन्ने कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । बसाइँ सरेर आएका पानीमा आश्रित चरा अन्य रैथाने चराजस्तो भररर्र उड्ने खालका हुँदैनन् । जहाँ पायो त्यहीँ बस्दैनन् । जहाँको पानीमा लेउ र माछा राम्रो पाइन्छ, त्यहीँ झुन्डझुन्ड बनाएर बस्ने चराविद् टीका गिरीले बताए । ‘पानीचरा मुख्य रूपमा कहाँ बस्छन् भन्ने जानकारी भएपछि निश्चित दुरीबाट गणना सुरु गर्छौं । अगाडि देखिने चराको संख्या र प्रजाति टिपोट गर्दै जान्छौं,’ उनले भने, ‘कुनै चराले हामीलाई पछाडिबाट नाघेर अगाडि जान्छन्, संख्या नदोहोरियोस् भनेर त्यसलाई घटाउँछौं ।’


चितवनमा मात्रै नभएर देशभर र एसिया क्षेत्रमा नै यही समयमा चरा गणना हुने बिडारीले बताए । चराको रङ, बनोट, आवाजका बारेमा जानकारी भएका चराविज्ञहरू दुरबिन बोकेर गणनामा खट्ने गर्छन् । नेपालमा चराप्रेमी र पर्यटन व्यवसायीको सक्रियातामा चरा गणना हुँदै आएको छ ।

प्रकाशित : माघ १४, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?