१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रदेशसभा बैठक : दामन घटनाको छानबिन माग

पानारोमा रिसोर्टमा ८ भारतीय पर्यटकको निधन भएको घटनाको प्रदेश सरकारद्वारा निष्पक्ष छानबिन हुनुपर्ने सांसदले माग गरेका छन्
सुवास विडारी

(मकवानपुर) — वाग्मती प्रदेशका सांसदले उत्तरी मकवानपुरको दामनस्थित पानारोमा रिसोर्टमा भएको घटनाको छानबिन प्रदेश सरकारमार्फत पनि हुनुपर्ने माग गरेका छन् । सोमबार प्रदेशसभाको विशेष समयमा बोल्दै उनीहरूले होटलमा माघ ६ गते ८ भारतीय पर्यटकको निधन भएको घटनाको निष्पक्ष छानबिनको माग गरेका हुन् ।

प्रदेशसभा बैठक : दामन घटनाको छानबिन माग

नेकपा सांसद मुनु सिग्देलले रिसोर्टमा भएको घटनाले नेपाल भ्रमण वर्ष र प्रदेशको पर्यटन सम्बन्धी कार्यक्रम नै प्रभावित हुने बताइन् । ‘होटलको मापदण्ड सरकारले तोक्नुपर्छ र यसको कडाइका साथ कार्यान्वयन हुनुपर्छ,’ उनले भनिन्, ‘पर्यटन वर्षको सुरुमै भएको दुर्घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ । दोषी देखिए कडा कारबाही हुनुपर्छ ।’ कांग्रेस सांसद विजया केसीले पर्यटन वर्षको सुरुवातमा नै ठूलो धक्का पुगेको भन्दै होटल व्यवसाय सञ्चालन मापदण्डको कडाइका साथ कार्यान्वयन हुनुपर्ने बताइन् । ‘दामनमा भएको घटना लापरबाहीले ल्याएको मृत्यु हो, यो रोक्न सकिन्थ्यो,’ उनले भनिन्, ‘होटल सञ्चालहरूले ध्यान नदिँदा पर्यटकको ज्यान गएको हो ।’ सांसद लालकुमारी पुनले पनि होटल मापदण्डअनुरूप नभएको भन्दै अनुगमन हुनुपर्ने बताइन् । ग्यास हिटरका कारण निसासिएर ती पर्यटकको मृत्यु भएको थियो ।


सडक सुधारको माग

स्थायी राजधानी तोकिएकाले काठमाडौं–हेटौंडा जोड्ने छोटो दुरीको मार्गको विशेष स्तरोन्नति गर्न सांसदहरूले माग गरेका छन् । नेकपा सांसद लालकुमारी पुनले अब स्थायी मानसिकता बनाएर काम गर्नुपर्ने भन्दै मार्ग स्तरोन्नतिलाई उच्च प्राथमिकता दिनुपर्ने बताइन् । कांग्रेस सांसद रजनी आमात्य जोंछेले राजधानी आउने–जाने बाटो निम्नस्तरको भएको टिप्पणी गरिन् ।


विधेयक ढिलाइमा आपत्ति

वाग्मती प्रदेश सरकार गठन भएको दुई वर्षपछि मात्रै सुशासनसम्बन्धी विधेयक ल्याइएको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । ‘प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सांसदहरूले सुशासनतर्फ सरकारले ध्यान दिनुपर्ने टिप्पणी गरे । सांसद रीता माझी, मीना ज्ञवाली, रमेश पौडेल, देवीमाया घले, न्हुच्छेनारायण श्रेष्ठ, सिर्जना सैंजु, विराजभक्त श्रेष्ठ, विजया केसी, रीना गुरुङ र रत्नप्रसाद ढकालले विधेयकमा भएको ढिलाइप्रति आपत्ति जनाएका थिए ।


‘मन्त्रिपरिषद्ले आफ्नो निर्णय लुकाउँदा विभिन्न किसिमका समस्या सिर्जना भइरहेका छन् । कुरा सुशासनको र नीतिगतको व्यवस्थाको गरे पनि निर्णय लुकाएर कुशासनतर्फ सरकार गइरहेको छ,’ सांसद रमेश पौडेलले भने । सांसद माझीले ढिलो गरी विधेयक आएको भए पनि सरकार कत्तिको जिम्मेवार ढंगबाट प्रस्तुत हुन्छ भन्ने अब थाहा हुने बताइन् । सांसद ढकालले सुशासन कायम गर्दै आर्थिक विकास गर्नका लागि प्रदेश मातहतका कार्यालय जिल्ला–जिल्लामा स्थापना हुनुपर्ने माग गरे ।


भँडेल कांग्रेस उपनेता

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको उपनेतामा कृष्णलाल भँडेल नियुक्त भएका छन् । भक्तपुरबाट निर्वाचित सांसद भँडेललाई सोमबार नियुक्त गरिएको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको ०७४ माघ २६ गतेको बैठकद्वारा स्वीकृत प्रदेशसभा संसदीय दलको विधानअनुसार उपनेतामा नियुक्त गरेको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिए । यसअघि, संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतक, सदस्य सचिव र प्रवक्ता चयन भए पनि उपनेता चयन हुन बाँकी थियो ।


प्रकाशित : माघ १४, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?