कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

पुजारीको घरबाट मूर्ति चोरी

काठमाडौँ — साँखुस्थित पुजारीको घरबाट सुनको जलप लगाइएको ज्योतिलिंगेश्वर महादेवको चतुर्मुखी मूर्ति चोरी भएको छ । ज्योतिलिंगेश्वर महादेव मन्दिरका पुजारी सुधनराज उपाध्यायको घरबाट ढलोटको साढे दुई फिटको मूर्ति आइतबार राति हराएको हो ।

प्रहरीले माधवनारायण तथा स्वस्थानी व्रत मेलामा हुन सक्ने चोरी, डकैती र पाकेटमारका घटनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था चुस्त बनाएको भनिरहेका बेला मूर्ति चोरिएको हो । शिवरात्रि र जनैपूर्णिमाको एक दिनअघि शंखरापुर नगरपालिका–७ स्थित ज्योतिलिंगेश्वर मन्दिरमा उक्त चतुर्मुखी मूर्ति प्रतिस्थापन गर्ने चलन छ । जनैपूर्णिमामा खटमा राखेर सांस्कृतिक बाजागाजासहित जात्रा गर्दै नगर परिक्रमा गरिन्छ ।


शालीनदीमा हुने भीडलाई ध्यानमा राखेर शालीनदी सुधार समितिले सामुदायिक प्रहरी सेवा केन्द्र र महानगरीय प्रहरी प्रभाग साँखुअर्न्तगत विषेश टोली परिचालन गर्ने निर्णय गरेको थियो । प्रहरी प्रभाग साँखु र मूर्ति राखिएको स्थान करिब पाँच सय मिटरको दुरीमा पर्छ । पुजारी उपाध्यायले भाडामा बसेका व्रतालु आउजाउ भइरहने भएकाले घरको मूलढोकामा ताला नलगाउँदा घटना भएको बताए ।


प्रहरीका अनुसार चोरी भएको मूर्ति साढे तीनतले घरको पहिलो तलामा राखिएको थियो । घर कम्पाउन्डले घेरिएको छ । उत्तर र पूर्वतर्फ खेत छ । महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले खेतबाट कम्पाउन्डभित्र पसेका व्यक्तिले चोरी गरेको हुन सक्ने बताए । ‘घटना राति १/२ बजे भएको देखिन्छ,’ उनले भने, ‘शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’ थप अनुसन्धान गर्न अपराध महाशाखाबाट सात जनाको टोलीसमेत खटिएको उनले बताए ।


स्वस्थानी व्रत पुस २५ गतेदेखि सुरु भएको हो । व्रतका क्रममा माधवनारायणको मूर्ति पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण लैजाने परम्परा छ । प्रहरी निरीक्षक पन्थीले माधवनारायणको मूर्तिको विषेश सुरक्षा दिँदै आएको बताए । ‘चोरी भएको मूर्ति त्यहाँ थियो भन्नेबारे प्रहरीलाई कुनै जानकारी थिएन,’ उनले भने, ‘घटनाबारे जानकारी आइसकेको छ । चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेका छौं ।’


प्रकाशित : माघ १४, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?