१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘केटो’ स्याहार्न चार कर्मचारी

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला दुई वटा साना केटाहरू मान्छेका अघिपछि गरिरहेको, घाममा सुतेको र नजिक–नजिक आएको भेटिन्छ । ठूला गैंडा भेटिनु नौलो होइन । तर, यी केटा (गैंडाको बच्चा) एउटा करिब चार महिना र अर्को करिब १०/१२ दिन उमेरका छन् । 

‘केटो’ स्याहार्न चार कर्मचारी

निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार गत शुक्रबार निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहाबाट केही पश्चिम दुधौरा पोस्ट क्षेत्रमा एक पोथी गैंडा मृत फेला परेको थियो । एउटा केटो त्यसैको बच्चो हुन सक्ने अनुमान छ । कुनै माउले खोज्दै नआएकाले भेटिएका केटाहरूको माउ मरेको वा जंगलको अर्को कुनै भागमा पुगेको अनुमान छ ।


निकुञ्ज र मध्यवर्ती क्षेत्रभन्दा बाहिर पछिल्लोपटक राष्ट्रिय वन क्षेत्रभित्र थप दुई गैंडा मृत फेला परेका छन् । यो आर्थिक वर्षमा यहाँ मर्ने गैंडाको संख्या ११ पुगेको छ । भर्खर बच्चा (केटो) जन्माएको एउटा गैंडा मरेको अवस्था फेला परेको छ ।


कर्मचारीलाई केटो हुर्काउने जिम्मेवारी पनि थपिएको छ । ‘एक जना पशु चिकित्सकको निगरानी र निर्देशनमा गैंडाको दुई वटा बच्चा अर्थात् केटोको स्याहार गर्न चार जना कर्मचारी खटिनुपरेको छ,’ सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष कार्यालय प्रमुख रामकुमार अर्यालले भने, ‘आमाबाट छुटेको केटोले राम्रो स्याहार नपाए बचाउन गाह्रो हुन्छ । त्यसैले संवेदनशील भएर रेखदेख गर्नुपर्ने भएको छ ।’ निकुञ्जले उद्धार गरेको जनावर र तिनका बच्चाको रेखदेख हेरचाह कोषले गर्दै आएको छ ।


कोषको कार्यालयमा परिसरमा यतिबेला दुई वटा टुहुरा केटा छन् । निकुञ्जको पूर्वी सेक्टर कार्यालयका प्रमुख सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार एउटा केटो १५ दिनअघि ल्याइएको हो । निकुञ्जको पश्चिम क्षेत्र नवलपुरको तमासपुरको खोलाको बगरमा भौंतारिँदै गरेको भेटिएपछि उद्धार गरेर ल्याएको उनले बताए ।


जन्मेको एक–दुई दिनमै आमासँग बच्चा बिछोडिएको हुन सक्ने अनुमान छ । ‘त्यसको माउ कता गयो, पत्तो छैन । त्यो सानो केटोको साथी हुन सौराहामा अर्को केटो थपिएको हो । दुधौरा पोस्ट क्षेत्रमा जहाँ पोथी गैंडा मृत भेटियो, आडैमा केटो पनि फेला पर्‍यो,’ निकुञ्जका सूचना अधिकारी घिमिरेले भने, ‘बच्चासहितको गैंडा मरेको रहेछ । आमा मरेपछि बच्चा टाढा गएन । हामीले भेटाएर ल्यायौं ।’ गैंडा सडेको अवस्थामा फेला परेको हुँदा बच्चा १०/१२ दिन त्यसै भौंतारिएको उनको अनुमान छ ।


दुधौरामा मृत माउ आडमा फेला परेको केटो करिब चार महिना उमेरको छ । यी बच्चालाई दिनमा चारपटक दूध खुवाइँदै आएको छ । एउटा केटोले एक पटकमा कम्तीमा अढाई लिटर दूध खान्छ । ‘अहिले ठोस खाना र घाँस दिएका छैनौं । हुर्कंदै गएपछि दिनुपर्छ,’ कोषका सौराहा कार्यालय प्रमुख अर्यालले भने ।


चिकित्सक र सुसारेले राम्रो स्याहार गर्ने भएका कारण बच्चाहरू हुर्कने गर्छन् । यसरी हुर्केका केटोहरू प्राकृतिक बासस्थलमा फर्कन्छन् । चिडियाखाना र कहिलेकाहीँ विदेश उपहारका रूपमा पनि पुग्ने गर्छन् । ७४ सालको भदौमा बाढीबाट उद्धार गरेर ल्याएको बच्चापछि सौराहामा साना गैंडा यही समयमा आएका हुन् । मान्छेले हुर्काएका गैंडालाई निकुञ्ज कार्यालयले नाम पनि दिने गर्छन् ।

प्रकाशित : माघ १३, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?