कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘शपथ खाएका’ चालकले लिए ज्यान

काभ्रे — सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै प्रहरी र व्यवसायीले चालकलाई शपथ खुवाएको १३ दिनपछि टिपरले एक जनाको ज्यान लिएको छ । टिपरबाट सवारी दुर्घटना बढी देखिएपछि वाग्मती टिपर व्यवसायी संघ र जिल्ला ट्राफिक प्रहरीले पुस २८ मा चालकलाई दुर्घटना नगराउने प्रतिबद्धतासहित शपथ खुवाएको थियो । 

‘शपथ खाएका’ चालकले लिए ज्यान

पाँचखाल–५ स्थित सैंतीस किलोमा शनिबार खावातर्फ आाउँदै गरेको बा८५प ६०२६ मोटरसाइकललाई सोही दिसाबाट आउँदै गरेको बा४ख ११४५ को टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक मण्डनदेउपुर ७ का प्रदीप श्रेष्ठको धुलिखेल अस्पतालमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा नै सवार रामेछापको सालु गाउँपालिका–२ बस्ने २८ वर्षका समर मगर टाउको र कम्मरमा चोट लागी गम्भीर घाइते भई धुलिलखेल अस्पतालमा उपचाररत छन् ।

सपथमा मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउने, तीव्र गतिमा नकुदाउने, जथाभाबी ओभरटेक र पार्किङ नगर्ने, संगीतका लागि उफर, झलर र स्टिकर नराख्ने, बस्ती क्षेत्रमा प्रेसर हर्न नबजाउने र पानी चुहाएर सामान ढुवानी नगर्ने उल्लेख थियो । क्याबिन र ढालामा यात्रु नराख्ने, गाडी चलाउँदा मोबाइल फोन प्रयोग नगर्ने, आकस्मिक सेवाका साधन र पैदल यात्रुलाई प्राथमिकता दिने, ट्राफिक नियमको पालना गर्ने र गाडीको कागजपत्र सधैं साथमा राख्ने प्रतिबद्धता चालकले गरेका थिए ।

‘दुर्घटना न्यूनीकरण होस् भन्ने जिम्मेवार बनाउनका लागि शपथ खुवाएका हौं तर चालक नै सचेत नभईकन दुर्घटना नरोकिने रहेछ,’ प्रहरी निरीक्षक विशाल तामाङले भने, ‘विभिन्न कारणले सवारी दुर्घटना भए पनि सर्वप्रथम चालक नै सचेत हुनुपर्छ ।’ एक तथ्यांकअनुसार काभ्रे हुँदै दैनिक २ हजार २ सय टिपर गुड्छन् ।

जिल्लामा हुने सवारी दुर्घटनामा ५० प्रतिशत टिपर संलग्न हुने तथ्यांक देखिन्छ । गत आर्थिक वर्ष २०७५/७६ मा भएका ७० मध्ये ३४ सवारी दुर्घटनामा टिपरको संलग्नता थियो । जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेका अनुसार सो आवमा ३७ जनाले ज्यान गुमाएकामा टिपरकै कारण ११ जनाको मृत्यु भएको हो ।

७ महिनामा ३२ को मृत्यु

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा सवारी दुर्घटनामा ३२ जनाले ज्यान गुमाएका छन् । प्रहरीको तथ्यांकअनुसार साना तथा ठूला प्रकतिका दुर्घटनामा ९० जना गम्भीर घाइते भएका छन् भने १ सय ८ जना घाइते भएका छन् ।

सवारीको चाप, सडकको दुरवस्था, तीव्र गति, चालकको लापरबाहीलगायत कारणले काभ्रे भएर जाने बीपी र अरनिको राजमार्गमा दैनिकजसो साना–ठूला दुर्घटना भइरहेका छन् । ती दुर्घटनामा ज्यान गुमाउने, अंगभंग हुनेको संख्या पनि बर्सेनि बढ्दो छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय काभ्रेका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भएका १ सय ७९ ठूला प्रकृतिका सवारी दुर्घटनामा ३७ जनाले ज्यान गुमाएका थिए । २ सय २२ जना घाइते भएका थिए । चालु आवको ७ महिनाकै अवधिमा ३२ जनाले ज्यान गुमाइसकेका छन् । दुई राजमार्गले छुने जिल्ला काभ्रेमा २० जना मात्रै ट्राफिक प्रहरी कार्यरत छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार एक जना ट्राफिक प्रहरी बराबर करिब ८५ किमि सडक पर्छ । १ हजार ६ सय ९२ किलोमिटर सडक रहेको काभ्रेमा दैनिक ७ हजार सवारीसाधन गुड्ने अनुमान गरिन्छ ।


याे पनि पढ्नुहाेस् :

लापर्बाही नगर्ने प्रतिबद्धतासहित टिपर चालकले खाए सपथ



प्रकाशित : माघ १३, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?