मन्त्रिपरिषद् विस्तारको तयारी

मकवानपुर — स्थायी राजधानी र नामकरणको विषय टुंगिएसँगै वागमती प्रदेश सरकार मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेको छ । रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रीसहित केही राज्यमन्त्री थप गर्न नेकपाभित्र आन्तरिक छलफल सुरु भएको छ । यसबारे पार्टीभित्र परामर्श थालिसकेको मुख्यमन्त्री डोरमणि पौडेलले बताए । 

मन्त्रिपरिषद् विस्तारको तयारी

तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई एक वर्षअघि नै बर्खास्त गरिए पनि हालसम्म मन्त्री नियुक्त गरिएको छैन । मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री पौडेल आफैंले लिइरहेका छन् । ‘मन्त्रालय नै थप गर्ने सम्भावना भने छैन, रिक्त मन्त्रालयमा मन्त्री र अन्यमा राज्यमन्त्री थप्ने तयारी भइरहेको छ,’ नेकपाका सांसद दीपक निरौलाले भने, ‘संविधानअनुसार प्रदेशमा मन्त्रालय नै पनि थप गर्न सकिन्छ तर, यसको लागि संघीय सरकारको स्वीकृति चाहिन्छ ।’


एक वर्षदेखि रिक्त रहेको भौतिक पूर्वाधार मन्त्रालयलको जिम्मेवारीमा नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलको सम्भावना बलियो रहेको बताइएको छ । फुयाँल यसअघि संविधानसभा सदस्य भइसकेका छन् ।

नेकपाभित्र राज्यमन्त्रीका लागि पनि रस्साकस्सी सुरु भएको छ । मन्त्रिपरिषद्मा महिलाको सहभागिता शून्य भएको भन्दै प्रदेशसभामा समेत आलोचना भइरहेको बेला नेकपाकी नेता कुमारी मोक्तानले राज्यमन्त्री पाउने प्रबल सम्भावना रहेको स्रोतको दाबी छ । ०६४ सालको संविधानसभा निर्वाचनमा पनि उनी मकवानपुरबाट निर्वाचित भएकी थिइन् । पूर्वमाओवादीबाट चितवनकी कञ्चन खनाल, दोलखाका विशाल खड्काले पनि राज्यमन्त्रीको दाबी गरिरहेका छन् ।


प्रदेशसभा बस्दै

प्रदेश राजधानी र नामकरणपछि पुस २७ गतेबाट स्थगित प्रदेशसभा बैठक माघ १२ गते बस्ने भएको छ । सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ । ‘प्रदेशसभामा केही विधेयक दर्ता हुने क्रममा छन् । बैठकको बाँकीे कार्यसूची भने कार्यव्यवस्था परामर्श समितिको बैठक बसेपछि तय हुनेछ,’ उनले भने । प्रदेशसभाले हालसम्म ४५ वटा कानुन निर्माण गरिसकेको छ । प्रदेशसभाको पाँचौं अधिवेशन विशेष गरी निजामति, प्रहरी तथा पर्यटन विधेयक निर्माणमा केन्द्रित हुनेछ । हाल प्रदेशसभाअन्तर्गत समितिमा समेत आवश्यक छलफलका लागि विधेयक उपलब्ध छैनन् ।

प्रकाशित : माघ १०, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?