विद्यार्थीको गुनासो- ‘सार्वजनिक बसले चढाउनै मान्दैनन्’ 

नगेन्द्र अधिकारी

(काभ्रे) — धुलिखेलस्थित सञ्जीवनी नमुना माध्यमिक विद्यालयमा बालबालिकाले नगरप्रमुखसँग प्रश्न गर्ने कार्यक्रम चलिरहेको थियो । नगरपालिका आफैंले आयोजना गरेको ‘मेयरसँग विद्यार्थी’ कार्यक्रममा सहभागी उक्त विद्यालयको बाल क्लबकी अध्यक्ष प्रशंसा श्रेष्ठले प्रश्न गरिन्, ‘नगरका सबै विद्यालय बालमैत्री छन् त मेयर सा’प ? बालमैत्री बनाउन तपाईंका योजना के–के छन् ?’ 

ZenTravel

जवाफमा नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले सन् २०२० भित्र नगरलाई बालमैत्री घोषणा गर्ने योजना रहेको जानकारी दिए । ‘बालमैत्री घोषणा हुन ३९ वटा सूचक पूरा गर्नुपर्छ, १० नं वडा घोषणा भइसकेको छ, फागुन ५ गते ५ वटा वडा घोषणा गर्ने तयारी छ,’ नगरप्रमुख व्याञ्जुले भने, ‘विद्यालयलगायत सबै संरचना बालमैत्री हुन्छन्, तपाईंहरूको अपेक्षा पूरा हुन्छ ।’

बालबालिकासँग सरोकार राख्ने नीति, योजना, कार्यक्रम, बजेटबाट जानकारी दिने र आगामी दिनका लागि सुझाव लिने उद्देश्यले आयोजित अन्तरक्रियामा बालबालिकाले आफ्ना समस्या र जिज्ञासा खुलेरै राखे । कक्षा ८ मा अध्ययनरत कृपा राउतले विद्यालय बसको व्यवस्था नहुँदा टाढाबाट आउने विद्यार्थीको पहिलो कक्षा छुट्ने गरेको बताइन् । ‘म दैनिक बनेपाबाट आउँछु, विद्यार्थी भनेपछि सार्वजनिक बसले चढाउनै मान्दैनन्,’ कृपाले गुनासो गरिन्, ‘टाढाटाढाबाट आउने विद्यार्थी साथी हुनुहुन्छ, स्कुलको बस नहुँदा समस्या भइरहेको छ ।’ प्रधानाध्यापक लोकेन्द्र ढकालका अनुसार, बनेपा आसपासका क्षेत्रबाट दैनिक दुई सय विद्यार्थी पढ्न धुलिखेल आउँछन् ।

दैनिक २ घण्टा हिँडेर विद्यालय आउने विद्यार्थी पनि छन् । गुनासो सुनेपछि प्रमुख व्याञ्जुले विद्यालय बससेवा छिट्टै उपलब्ध गराउने प्रतिबद्धता जनाए । विद्यार्थीहरूले नगरपालिकाले बनाएको प्रश्नपत्रको गुणस्तर नभएको, त्रुटि भेटिएको, संगीत र नृत्य सिक्न चाहे पनि व्यवस्था नभएको, खेलमैदान, खेल प्रशिक्षण अभाव भएको गुनासो गरेका थिए । छात्रा रिया फुँयालले सामुदायिक विद्यालयको लागि कति बजेट छुट्याउनुभएको छ भन्दै प्रश्न गरिन् । कक्षा ८ की सुशीला हुमागाईंले छात्रवृत्तिको व्यवस्थाबारे जिज्ञासा राखिन् । नगरप्रमुख व्याञ्जुले विद्यार्थीका चाहना, समस्या उनीहरूबाटै सुनौं भनेर कार्यक्रम सुरुवात गरेको जानकारी दिँदै सबै विद्यालयमा कार्यक्रम विस्तार गरिने बताए ।

‘शिक्षक, अभिभावक, सरोकारवाला विज्ञको कुरामात्रै सुनिने तर विद्यार्थीको समस्या सुनिने गरेको थिएन,’ व्याञ्जुले भने, ‘शिक्षा क्षेत्रमा १७ करोड लगानी भएकाले नगरपालिकाले नयाँ–नयाँ कार्यक्रम ल्याउनेछ ।’

प्रकाशित : माघ १०, २०७६ ०८:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कमलामा पुलैपुल

कान्तिपुर संवाददाता

(दुधौली, सिन्धुली) — वर्षात्को समयमा सदरमुकामसँग सम्पर्कविच्छेद हुने दुधौली नगरपालिकाअन्तर्गत कमला नदीमा यसै वर्ष दुई वटा पुल एकसाथ सम्पन्न हुने भएको छ । वर्षात्को चार महिना अत्यन्तै कष्टसाथ जीवनयापन गर्ने दुधौलीको हत्पते, डकाहा, सिर्थौली, दुधौली, टाँडी र लदाभीरका स्थानीयले पुल बनेपछि बाह्रै महिना दुःख झेल्नुपर्नेछैन । दुधौली नगरपालिका ११ टाँडीबाट वडा नं ९ को हात्तीवन गाँछी जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ । 

६ सय मिटर लम्बाइ रहेको पुलको १२ वटा स्पानमध्ये ९ वटाको काम सकिएको छ । ‘अब तीन महिनाभित्र स्पानका सबै काम सकिन्छ,’ पुल निर्माण प्रोजेक्ट मेनेजर डिल्ली ढकालले भने, ‘अर्को हिउँदमा उद्घाटन भएर मोटर सरर गुड्नेछ ।’ यो पुलको लागत भ्याटसहित ७८ करोड रहेको छ ।

कमलामा पुल नहुँदा हेलिएर वारपार गर्नेको ज्यानै जाने गरेको थियो । कमलामा बगेर बर्सेनि दर्जनको हाराहारीमा स्थानीयको ज्यान जाने गरेको स्थानीय शिवकुमार कटुवालले बताए । ‘कमला नदीमा बाढी आएपछि बिरामीलाई अस्पताल लैजाने अवस्था हुँदैन,’ उनले भने, ‘उपचार गर्न नपाएरै बिरामीको मृत्यु हुने गरेको छ ।’ कमलामा पुल नहुँदा वर्षात्का चार महिना कमलापारिका बासिन्दालाई खाद्यान्नसमेत संकट पर्ने गरेको थियो । ०७४ मंसिरमा सम्झौता भई ०७५ को जेठबाट पुलको काम सुरु भएको हो । निर्माणाधीन पुलको १० किलोमिटर उत्तरतर्फ नलाग्दै कमला नदीमा अर्को पुल निर्माणाधीन अवस्थामा छ । दुधौली नगरपालिकाकै वडा नं ३ मिलनचोकबाट वडा नं ५ को डकाहा जोड्ने पुल धमाधम निर्माण भइरहेको हो । पुलको लम्बाइ ५ सय मिटर छ । सडक विभाग पुल महाशाखाअन्तर्गत निर्माणाधीन दुवै पुल कालिका, रसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरिरहेका छन् ।

गतवर्ष यी पुलको बीचमा दुधौली नगरपालिका–५ खनियाँबाट वडा नं ६ को हर्षाही जोड्ने कमलानदीको पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालन आइसकेको छ । निर्माणकार्य सम्पन्न गर्नुपर्ने मितिभन्दा एक वर्ष अगावै उक्त पुल बनेको हो । हर्षाहीलाई जोड्ने गरी कमला नदीमा ५ सय मिटर लामो पक्की पुल निर्माण भएपछि त्यस क्षेत्रका बासिन्दाले वर्षात्को मौसममा भोग्दै आएको सास्तीबाट मुक्ति पाएका छन् । ‘दुई वर्षअघिसम्म ठूलो जोखिम मोलेर नदी वारपार गर्नुपर्थ्यो,’ डकाहाका ७५ वर्षीय शान्तिप्रसाद गौतमले भने, ‘पुलले सबैको जीवन बचाइदियो ।’

पुल निर्माणपछि राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा सडक) अन्तर्गत कटारीदेखि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीसम्म बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको छ । राजमार्गअन्तर्गत दुधौली नगरपालिकाकै २ नं वडाको हत्पते र वडा नं ३ को झुंगा जोड्ने कमला नदीको पुल भने निर्माण सुरु भएको ९ वर्षमा बल्ल कामले गति लिन थालेको छ । यो पुलसमेत गरी कमला नदीको ४० किलोमिटरभित्र चारवटा पक्की पुल हुनेछन् ।

प्रकाशित : माघ १०, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×