कमलामा पुलैपुल

(दुधौली, सिन्धुली) — वर्षात्को समयमा सदरमुकामसँग सम्पर्कविच्छेद हुने दुधौली नगरपालिकाअन्तर्गत कमला नदीमा यसै वर्ष दुई वटा पुल एकसाथ सम्पन्न हुने भएको छ । वर्षात्को चार महिना अत्यन्तै कष्टसाथ जीवनयापन गर्ने दुधौलीको हत्पते, डकाहा, सिर्थौली, दुधौली, टाँडी र लदाभीरका स्थानीयले पुल बनेपछि बाह्रै महिना दुःख झेल्नुपर्नेछैन । दुधौली नगरपालिका ११ टाँडीबाट वडा नं ९ को हात्तीवन गाँछी जोड्ने पुल निर्माण अन्तिम चरणमा पुगेको छ । 

६ सय मिटर लम्बाइ रहेको पुलको १२ वटा स्पानमध्ये ९ वटाको काम सकिएको छ । ‘अब तीन महिनाभित्र स्पानका सबै काम सकिन्छ,’ पुल निर्माण प्रोजेक्ट मेनेजर डिल्ली ढकालले भने, ‘अर्को हिउँदमा उद्घाटन भएर मोटर सरर गुड्नेछ ।’ यो पुलको लागत भ्याटसहित ७८ करोड रहेको छ ।


कमलामा पुल नहुँदा हेलिएर वारपार गर्नेको ज्यानै जाने गरेको थियो । कमलामा बगेर बर्सेनि दर्जनको हाराहारीमा स्थानीयको ज्यान जाने गरेको स्थानीय शिवकुमार कटुवालले बताए । ‘कमला नदीमा बाढी आएपछि बिरामीलाई अस्पताल लैजाने अवस्था हुँदैन,’ उनले भने, ‘उपचार गर्न नपाएरै बिरामीको मृत्यु हुने गरेको छ ।’ कमलामा पुल नहुँदा वर्षात्का चार महिना कमलापारिका बासिन्दालाई खाद्यान्नसमेत संकट पर्ने गरेको थियो । ०७४ मंसिरमा सम्झौता भई ०७५ को जेठबाट पुलको काम सुरु भएको हो । निर्माणाधीन पुलको १० किलोमिटर उत्तरतर्फ नलाग्दै कमला नदीमा अर्को पुल निर्माणाधीन अवस्थामा छ । दुधौली नगरपालिकाकै वडा नं ३ मिलनचोकबाट वडा नं ५ को डकाहा जोड्ने पुल धमाधम निर्माण भइरहेको हो । पुलको लम्बाइ ५ सय मिटर छ । सडक विभाग पुल महाशाखाअन्तर्गत निर्माणाधीन दुवै पुल कालिका, रसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरिरहेका छन् ।


गतवर्ष यी पुलको बीचमा दुधौली नगरपालिका–५ खनियाँबाट वडा नं ६ को हर्षाही जोड्ने कमलानदीको पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालन आइसकेको छ । निर्माणकार्य सम्पन्न गर्नुपर्ने मितिभन्दा एक वर्ष अगावै उक्त पुल बनेको हो । हर्षाहीलाई जोड्ने गरी कमला नदीमा ५ सय मिटर लामो पक्की पुल निर्माण भएपछि त्यस क्षेत्रका बासिन्दाले वर्षात्को मौसममा भोग्दै आएको सास्तीबाट मुक्ति पाएका छन् । ‘दुई वर्षअघिसम्म ठूलो जोखिम मोलेर नदी वारपार गर्नुपर्थ्यो,’ डकाहाका ७५ वर्षीय शान्तिप्रसाद गौतमले भने, ‘पुलले सबैको जीवन बचाइदियो ।’


पुल निर्माणपछि राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग (धरान–चतरा–सिन्धुली–हेटौंडा सडक) अन्तर्गत कटारीदेखि सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीसम्म बाह्रै महिना यातायात सञ्चालन गर्न सहज भएको छ । राजमार्गअन्तर्गत दुधौली नगरपालिकाकै २ नं वडाको हत्पते र वडा नं ३ को झुंगा जोड्ने कमला नदीको पुल भने निर्माण सुरु भएको ९ वर्षमा बल्ल कामले गति लिन थालेको छ । यो पुलसमेत गरी कमला नदीको ४० किलोमिटरभित्र चारवटा पक्की पुल हुनेछन् ।

प्रकाशित : माघ १०, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?