कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

महिला हिंसा : ‘श्रीमान्‌लाई सम्झाइदिनु भनिरहन्थिन्’

प्रताप विष्ट

(हेटौंडा) — हेटौंडा उपमहानगरपालिका–१८ का २८ वर्षीय यज्ञराज (हरि) अधिकारीले पत्नी मीनाको शनिबार हत्या गरी घरनजिक पोखरीमा फालिदिए । मादक पदार्थ सेवन गरेर धारिलो हतियारले टाउकोमा हिर्काएर उनको हत्या गरिएको थियो । २१ वर्षीया मीनालाई उनले समयदेखि मादक पदार्थ सेवन गरी कुटपिट गर्दै आएका थिए ।

महिला हिंसा : ‘श्रीमान्‌लाई सम्झाइदिनु भनिरहन्थिन्’

केही दिनअघि मात्र पूर्वगाविस अध्यक्षसमेत रहेका छिमेकी केशव पण्डितले घरमा एकै ठाउँ राखेर सम्झाइबुझाइ गरेका थिए । मादक पदार्थ नपिउने र पत्नीसँग झगडा नगर्ने यज्ञराजले बाचासमेत गरेका थिए ।


‘बिहान बाटोमा भेट्दा हाँसीखुसी नै थिइन्,’ पण्डितले भने, ‘अरू बेला भेट्दा श्रीमान्लाई सम्झाइदिनुपर्‍यो दाइ भन्थिन् तर शनिबार केही पनि भनिनन् । आइतबार बिहान घरनजिक उनको शव पो देखियो ।’


पतिले सधैं कुटपिट गर्ने गरेको भन्दै मीनाले दुईअघि जिल्ला प्रहरी कार्यालय हेटौंडामा उजुरी दिएकी थिइन् । त्यबेला यज्ञराज तीन रात हिरासत बसेका थिए । ६ महिनासम्म तारेख धाइरहे । त्यति हुँदा पनि उनी सुध्रिएनन् । मादक पदार्थ सेवन गरी पत्नीसँग झगडा गर्ने क्रम रोकिएन । गाउँलेको अनुरोधमा स्थानीय माध्यमिक विद्यालयमा करिब तीन महिनाअघि मीनाले परिचरमा जागिर खाएकी थिइन् । त्यही पैसाले घरखर्च चलाउँदै आएकी थिइन् ।


कैलाली माइती भएकी मीनाको १६ वर्षको उमेरमा यज्ञराजसँग विवाह भएको थियो । उनका दुई वर्षका छोरा र पाँच वर्षकी छोरी छन् । बालबालिका यतिबेला सहाराविहीन बनेका छन् । आमा उनीहरूले गुमाइसके, बाबुलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । घरमा आमाबाबु र दुई छोराछोरी मात्र बस्थे । तीन वर्षअघि यज्ञराजकी आमाको रहस्यमय मृत्यु भएको थियो । यज्ञराजका बाबु हेटौंडामा एक्लै बस्दै आएका छन् । ‘छोराको व्यवहारदेखि वाक्क भएर उनी एक्लै बसेका हुन्,’ छिमेकी पण्डितले भने । थाहा नगरपालिका–५ का ४५ वर्षीय देवबहादुर लामाले पनि मादक पदार्थ सेवनकै कारण ४९ वर्षीया पत्नी सावित्री तामाङको गत कात्तिक ९ मा हत्या गरेका थिए । छिमेकीको पास्नीमा पतिपत्नी दुवै गएका थिए । पत्नी सावित्री चाँडै घर आएर सुतिन् । पति देवबहादुर घरमा राति ढिला आए ।


सुतिरहेकी पत्नीलाई रक्सीको मातमा गजबारले हिर्काएर उनले हत्या गरे । देवबहादुरले मादक पदार्थ सेवन गरेपछि पत्नीसँग निहुँ खोजेर सधैं झगडा गर्ने गरेको प्रहरीको भनाइ छ ।


‘मादक पदार्थ सेवनका कारण महिलाहरूको अपमान, कुटपिट मात्र होइन, ज्यानैसमेत जाने गरेको छ,’ माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले भनिन्, ‘अधिकांश महिला हिंसा मादक पदार्थ सेवनका कारणले हुने गरेको छ ।’ जिल्ला प्रहरी कार्यालय हेटौंडामा रहेको महिला सेलमा चालु आवको पाँच महिनामा एक सय २८ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । दर्ता भएकामध्ये पतिले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको र घरबाट निकालेको घटना अधिकांश छन् । ‘पतिले मादक पदार्थ सेवन गरेकै कारण पत्नीले विविध हिंसा बेहोर्नुपरेको छ,’ महिला सेलका सइ ताराकृष्ण भट्टराईले भने, ‘घरेलु हिंसाको मुख्य जड मादक पदार्थ सेवन देखिएको छ ।’ गत आवमा महिला सेलमा दुई सय ९३ उजुरी परेको थियो ।

प्रकाशित : माघ ९, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?