मरिण महोत्सवमा महिलाले घन्काए पञ्चेबाजा- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मरिण महोत्सवमा महिलाले घन्काए पञ्चेबाजा

राजकुमार कार्की

मरिण (सिन्धुली) — कलकलाउने मरिणखोला, सुसाउने वाग्मती

मरिणको फाँटले ल्याउँछ है समृद्धि


यो गीतलाई पञ्चेबाजामा ढालेर जब सिन्धुली कलाघरका कलाकारहरुले सनई बजाए अतिथि तथा दर्शकहरुले मन थाम्नै सकेनन् । अनि छमछमी स्टेजमै नाचे । यस्तो अवसर सिन्धुलीको मरिण गाउँपालिकामा मंगलबारबाट सुरु भएको तेस्रो मरिण महोत्सवले जुराएको हो ।


पञ्चेबाजा कलाघरका युवतीहरुले बजाएका थिए । महिलाले बाजा बजाएको नदेख्नेका लागि भने यो अनौठो दृश्य बन्यो । पञ्चेबाजाका अलावा टेम्को, दमाहा र झ्याम्टा लिएर मञ्चमा युवतीहरु प्रवेश गरे, दर्शक र अतिथिदीर्घामा कौतुहलता छायो । यो के हुन लागेको हो ।


पञ्चेबाजा मध्येका सहनाई बाजामा धुन निकालेर उनीहरुले जब बजाउन सुरु गरे । कोही नाचे भने कोही गडगडाहट ताली बनाउनतिर लागे । 'शुभकार्यमा गए जत्तिकै भयो', मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले सुनाए । युवतीहरुले सनईबाट ‘बामरी, बामरी म भोलि गैहलाल्छु बसे है रामरी’ गीतलाई दुरुस्त बनाएका थिए । पञ्चेबाजामै नरसिंह र कर्णाल भने कलाकार युवाहरुले बजाएका थिए ।

सिन्धुली कलाघरका कलाकारहरु पञ्चेबाजामा मात्र सीमित भएनन्, भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै लोपोन्मुख खैँजडी भजन पनि प्रस्तुत गरे । मदन भण्डारी लोकमार्ग, बीपी राजमार्ग छेवैको कति राम्रो मरिण, यही लयको खैँजडी भजनमा कलाकारहरुले दर्शकको साथ पाएका थिए । कलाकारहरुले ए है ठूली सबै मिलिजुली सफल बनाऔं भनेर भजनमा ताल मिलाएका थिए ।


मरिणको दीगो विकास अर्थतन्त्रको आधार, पर्यटन र उद्योग पूर्वाधार भन्ने मूल नाराका साथ माघ १९ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा १२५ वटा स्टल राखिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कालाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रकाशित : माघ ८, २०७६ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्

हिउँमा रेस्क्यु गर्दै प्रहरी, हिउँ पगालेर खानेपानीको जोहो

आनन्द गौतम

ताप्लेजुङ — मंसिर पहिलो साता मन्दिर क्षेत्रमा पुगेको पाथीभरा क्षेत्र विकास र संरक्षण समितिको टोलीलाई प्रहरी हवलदार धनराज तुम्वापोले डोरी र फरुवा उपलब्ध गराइदिन अनुरोध गरे । माथिल्लो फेदी अस्थायी प्रहरी चौकीका इञ्चार्ज तुम्वापोले हिउँपर्ने सिजनमा आउने तिर्थयात्रीको सहयोग र उद्धारका लागि आवश्यक यी सामग्री मागेका थिए ।

तीन सातासम्म समितिले उनको माग सम्बोधन गरेन । तर, हिउँ भने परिहाल्यो । त्यसपछि विकल्प अपनाए माथिल्लो फेदीको कान्छिथानदेखि मन्दिरसम्म टाँगिएको धागोलाई बीच/बीचमा गाँठो बनाउने र त्यसैमा समाएर हिँड्न लगाउने । त्यसो गर्न सबै ठाउँमा सम्भव थिएन ।
मन्दिर नजिकैको प्रहरी चौतारो र ठूलो घन्टी भएको क्षेत्रमा धागोको गाँठो बनाए । बाँकी जोखिम क्षेत्रका लागि स्थानीयसँग डोरी मागे । रुखको ठुटा र पिल्लरमा डोरी बाँधीदिए । पाथीभरा जाने र फर्कने हरेकजसोलाई डोरी र धागोमा अनिवार्य समाएर विस्तारै हिँड्न सुझाव दिए । यस्का लागि उनले आफ्नो युनिटमा रहेका अरु प्रहरीलाई पनि खटाए । डोरीमा समाएर हिँडे लड्ने सम्भावना कम हुन्छ । तर धेरैजना झुण्डिए चुँडीने भएकाले त्यसमा पनि ध्यान पुर्‍याउनु पर्छ । हिउँ परिरहँदा छाताले नथाम्ने, दोहोरो पारिएको प्लास्टिक ओढ्नुपर्ने र त्यो टेकिए चिप्लिएर लड्न सक्ने भएकाले ओढ्दा पनि ध्यान दिनुपर्ने तुम्वापो बताउँछन् । हिउँ बिलाइरहेको ठाउँ चिप्लो हुने भएकाले पाइला नपरेको ठाउँमा टेक्दा जोखिम कम हुने अनुभवीहरु बताउँछन् । यतिबेला हरेक व्यक्तिलाई लौरो दिइ जोगिएर हिँड्न सुझाउने गरिएको छ । एक्लै हिँड्न खोज्ने वा या सानो समूहकालाई त माथिल्लो फेदीसम्म मात्र जान सुझाउने गरिएको व्यवसायी बताउँछन् ।
पुसमा दोस्रो पटक हिउँ पर्नुअघि समितिले १ सय २० मिटर प्यारासुटको डोरी र चार वटा फरुवा पठाइदियो । फरुवा हिउँ पन्छाउन र डोरी बाक्लो हिउँ पर्दा प्रयोग गर्न थालिएको छ । ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरामा हरेक हिउँद हिउँले भरिन्छ । एक पटक छोपिएको हिउँ बिलाइसक्नलाई एकसाता लाग्छ । घामले नभेट्ने ठाउँमा त त्यो भन्दा लामो समयसम्म रहन्छ । पहिला हिउँले ढाक्ने भएकाले मानिसहरु आउँदैन थिए । पछिल्ला वर्ष हिउँ खेल्न पनि पाइने भन्दै यो सिजन पनि रोज्न थालेका छन् । त्यसका लागि प्रहरी तैनाथ हुनुपरेको तुम्बापो बताउँछन् । ‘हिउँ परिरहेको बेला पनि दिनमा एक देखि तीन सयसम्म मानिस आएका छन्,’ तुम्वापोले भने, ‘जब माथिल्लो फेदीबाट उकालो लाग्छन्, कतै लड्लान कि, दुर्घटना होला कि भनेर चिन्ता सुरु भइहाल्छ ।’
यात्रुहरु सुरुमा रहर गर्ने पछि हिँड्नै नसक्ने अवस्थामा पुग्ने धनराज सुनाउँछन् । हिउँदमा कम मान्छे आउने भएकाले यतिबेला माथिल्लो फेदीका होटल प्राय: बन्द हुन्छन् । १६ मध्ये अहिले चार वटामात्रै सञ्चालनमा रहेको माथिल्लो फेदी होटल व्यवसायी महासंघका अध्यक्ष इन्द्रनारायण भट्टराईले बताए । चिसो छल्न र सिजनका लागि सामग्रीको तयारी गर्न सदरमुकामलगायत स्थानमा झर्ने गरेका हुन् ।

पाथीभरामा नियुक्त कर्मचारीलाई सदरमुकाम फुङलिङमा पैसा गन्ने लगायतको काममा झिकाइन्छ । ‘मन्दिरमा एकजना गुरु र राम मादेन हुनुहुन्छ,’ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले भने, ‘अरु साथीहरु महोत्सवको तयारी लगायत कामका लागि सदरमुकाम आउनु भएको छ ।’ बस्तीमै हुँदा हिउँ पन्छाउन र यात्रीहरु उद्धारमा कर्मचारी र स्थानीय व्यवसायी पनि खट्ने गरेका छन् ।
हिउँले सुकेटारदेखि मन्दिरसम्म नै छोप्ने गरेको छ । यो बेला सुकेटारदेखि काफ्लेपार्टीसम्म ‘फोर विल’ भएका रिजर्भ गाडीहरु चल्छन् । मानिसहरु रिजर्भ गरेर हिउँमा रमाउन जान्छन् । झापाको भद्रपुर, मोरङको विराटनगर, सुनसरीको धरानदेखि हेलिकप्टर र हवाइजहाजले पनि यात्री लैजाने गरेको छ । पाथीभराको हेलिप्याडको हिउँ पन्छाएर यात्रुलाई पूजा गराउने गरिन्छ ।

तुम्वापोका अनुसार हिउँपर्न थालेपछि मन्सिर अन्तिम सातादेखि माघ पहिलो सातासम्म करिब तीन हजार तिर्थयात्री आएका छन् । हिउँ जमेको ठाउँमा आँखाको सुरक्षाका लागि कालो चस्मा, बाक्लो जुत्ता लगाउनु पर्ने जस्ता कुरामा ध्यानदिनुपर्ने भएपनि यात्रीको त्यता ध्यान पुगेको छैन ।

पानीको समस्या
हिउँ पर्न थालेपछि खानेपानीका नाला पुरै जाम हुन्छ । मुलको पानी खानका लागि अब फागुन पर्खिनुपर्छ र न्यानो कुर्नुपर्छ । हिउँ पर्न छोडेपछि तातोपानी लिएर नालाको बाहिर लगाउँदै टकटक्याउँदै सञ्चालनमा ल्याउनु पर्छ । पुरै जाम भएको ठाउँको नाला काटेर अर्को लगाएर जोड्नुपर्छ । अहिले खाने, पकाउने, लुगा धुने सबै हिउँ बिलाएरै गर्नुपर्ने धनराज बताउँछन् । ‘पानीकै जस्तो स्वाद नहुँदो रहेछ,’ हिउँ पगालेर खाँदाको अनुभव सुनाउँदै धनराजले थपे, ‘नुनिलो, विस्वादिलो जस्तो पो हुँदोरछ ।’

आगोमा हिउँ पगालेर पानी बनाएपछि खाना पकाउने, नुहाउने, कपडा धुन प्रयोग गर्दै आएको उनले सुनाए । उमालेर थर्मशमा लगाएपछि फेरि नजम्ने धनराज बताउँछन् । ड्रममा राखेको पानीसमेत जम्ने भएकाले यतिबेला हिउँ पगाल्नुको विकल्प नहुने स्थानीयको भोगाइ छ ।

प्रकाशित : माघ ८, २०७६ १२:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×