१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अझै भेटिएनन् बेपत्ता विद्यार्थी

रसुवाको गोसाइँकुण्ड घुमेर हेलम्बु फर्कने क्रममा सिन्धुपाल्चोक हेलम्बु र नुवाकोटबीच हिमक्षेत्र घ्याङफेदीबाट शुक्रबार बेपत्ता दुई विद्यार्थीको चार दिनयता हेलिकप्टरबाट खोजी भइरहेको छ
अनिश तिवारी

(सिन्धुपाल्चोक) — चार दिनदेखि लाङटाङ राष्ट्रिय निकुञ्जमा हराइरहेका दुई विद्यार्थीको खोजी कार्य तीव्र बनाइए पनि भेटिएका छैनन् ।

अझै भेटिएनन् बेपत्ता विद्यार्थी

रसुवाको गोसाइँकुण्ड घुमेर हेलम्बु फर्कन लागेका बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी सिन्धुपाल्चोक हेलम्बु र नुवाकोटको बीच हिमक्षेत्र घ्याङफेदीबाट बेपत्ता भएको प्रहरीले जनाएको छ । हेलम्बु गाउँपालिका १ का १७ वर्षीय वाङ्गेल शेर्पा र काठमाडौं गोकर्णेश्वर नगर ७ का जापान लामा शुक्रबारदेखि एकैसाथ हराएपछि हेलिकप्टरबाट खोजी कार्य थालिएको छ । हेलम्बु गाउँपालिकास्थित मेलम्चीघ्याङ माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्ण गौतमकाअनुसार माघ २९ मा उनीहरू हेलम्बु पुगेका थिए । बुधबार गोसाइँकुण्ड गएका दुवै घ्याङफेदीस्थित फेदी लजमा बास बसे ।


हेलम्बुबासी वाङ्गेलले भने शुक्रबार बिहान ७ बजेतिर बाक्लो हिमपात भइरहेको परिवारलाई फोनबाट जानकारी दिएका थिए । ‘परिवारबाट हिमपातमा नहिँड्न भन्दै लजमै बस्न भने पनि उनीहरू बिहान ९ बजेतिर हेलम्बु फर्किएको पाइयो, फेरि दुवैको खबर छैन,’ वाङ्गेलका शिक्षक गौतमले भने । उनीहरू घ्याङफेदीबाट दक्षिण पर्ने तालु गाउँतिर घुम्न हिँडेको खबर पाएको उनले सुनाए । ‘त्यसपछि उनीहरू सम्पर्कविहीन छन्,’ उनले भने । शनिबार बेलुकीसम्म तालु गाउँ आसपास कोही कराइरहेको सुनिएको त्यहाँका स्थानीयले बताए । उनीहरू फसेको अनुमान गरिएको स्थान एकदमै अप्ठ्यारो र बाक्लो हिउँ जमेकाले स्थानीय उद्धारमा निस्कन सकेका छैनन् ।


हेलम्बुको मेलम्चीघ्याङबाट ४ जना उद्धारकर्ता हिँडेर ठाडेपाटी पुगेको र हिउँ जमेर हिँड्न नसकेपछि आफूलाई गुहारेको हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । ‘तत्कालै हेलिकप्टर लिएर ठाडेपाटी पुगे, त्यहाँबाट घोप्टेफेदी पुर्‍याएर उद्धारकर्ता झारिएको छ, सम्पूर्ण तैयारीका साथ घोप्टेफेदीबाट उद्धारको लागि खट्दै छन्,’ उनले भने । गएको शुक्रबारदेखि २ विद्यार्थी बेपत्ता भएको अनुमानित स्थानमा ३ दिनसम्म हेलिकप्टरबाट खोजी प्रयास भए पनि केही प्राप्त हुन नसकेको जिप्रका नुवाकोटका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए । ‘स्थलगत रूपमा नुवाकोट १०, सिन्धुपाल्चोकबाट ४ र होटलका २ जना गरी १६ जनाले बेपत्ता भएको स्थानमा खोजी जारी राखेका छन्,’ उनले भने ।

प्रकाशित : माघ ८, २०७६ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?