२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सडक विस्तार विवाद : निषेधाज्ञा तोड्दै प्रदर्शन

अनिश तिवारी

सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिकाले जथाभावी संरचना भत्काएको भन्दै आन्दोलित स्थानीयले आइतबार जिल्ला प्रशासनले जारी गरेको निषेधआज्ञा तोड्दै प्रदर्शन गरेका छन् । आइतबारको प्रदर्शनका सहभागीले विरोधका क्रममा प्रहरीले दमन गरेको भन्दै सडकमा चर्का नाराबाजी गरे ।

सडक विस्तार विवाद : निषेधाज्ञा तोड्दै प्रदर्शन

सडक विस्तारका क्रममा बिनामापदण्ड पक्षपातपूर्ण रूपमा सडक आसपासका घरटहरा भत्काइएको भन्दै शनिबारदेखि स्थानीयहरू विरोधमा उत्रेका हुन् । आन्दोलित स्थानीयले बाह्रबिसे नगर कार्यालयको गेटमा ताला लगाएपछि हूलदंगा हुने आशंकामा जिल्ला प्रशासन कार्यालयले बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधआज्ञा जारी गरेको थियो । ‘हूलदंगा र अशान्ति हुने देखिएपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ (क) बमोजिम निषेधाज्ञा लगाइएको हो,’ इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक नवराज न्यौपानले भने । उनका अनुसार बाह्रबिसे बजारदेखि ३ सय मिटर पूर्व, पश्चिमतर्फ भोटेकोसी नदीको मोटरेबल पुल, उत्तरमा इलाका प्रहरी कार्यालय र दक्षिणमा पिस्कर, क्षमादेवी जाने स्थानसम्म निषेधाज्ञा जारी गरिएको हो ।


निश्चित मापदण्ड तोकेर सडक विस्तार गरिनुपर्ने र नगरपालिकाले छलफल गरी निर्णय गर्नुपर्ने स्थानीयको माग छ । बजारलाई सुन्दर बनाउने गुरुयोजना र कुन संरचना, कति मिटर भन्ने मापदण्ड नबनाई संरचना भत्काउने कार्य पूर्वाग्रहपूर्ण रहेको बाह्रबिसे पीडित सरोकार समितिका अगुवा हरिशरण श्रेष्ठले बताए ।


बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने नगरक्षेत्रको सडक फराकिलो पार्न सडक ढाकेर बनाइएका संरचना हटाइएको दाबी गरे । ‘यसो गर्दा कसैको बास उठेको छ भने नगर सहयोग गर्न तयार छ,’ शेर्पाले भने, ‘पक्षपात भएको छैन ।’ चरिकोट सडक डिभिजन कार्यालयले २५ मिटर मापदण्ड तोकिसकेकाले नगरबाट कुनै सडक मापदण्ड निर्धारण नगरिएको उनले तर्क गरे ।

प्रकाशित : माघ ६, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?