२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘माटोको इँटा माटोमै मिल्यो’

बेमौसमी झरीले काँचो इँटा नष्ट भएका छन्, बिग्रिएको इँटाको क्षतिपूर्ति मजदुरले पाउँदैनन्

(भक्तपुर) — लामा दम्पतीका लागि हिउँद ‘सुनौलो’ याम पनि हो । तर, जब आकाश धुम्मिन थाल्छ, उनीहरूको अनुहार अँध्यारिन्छ । झरीसँगै आँखा रसाउन थाल्छन् ।

‘माटोको इँटा माटोमै मिल्यो’

नरसाउन् पनि किन ? उनीहरूले एक साता पसिना चुहाएर बनाएको करिब ११ हजार इँटा यही झरीले फेरि माटोमै परिणत गरिदियो । ‘खलाको इँटा माटोमै मिल्यो,’ चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित एक इँटा उद्योगमा कार्यरत रामेछापकी याङजी लामाले भनिन् ।


बिहीबारदेखि परेको पानीले चाङ लगाइएका काँचो इँटा भुइँभरि ढलेका छन् । डेढ लाख रुपैयाँ पेस्की बोकेर साना छोराछोरीसँगै आएका दम्पतीलाई हिउँदे झरीले थप पीडा दिएको छ । ‘कठ्यांग्रिँदो चिसोमा गरेको मेहनत खेर गयो, पेस्कीमा लिएको पारिश्रमिकसमेत चुक्ता नहुने भयो,’ उनले गुनासो गरिन् । झरीले नष्ट भएको इँटाको पारिश्रमिक नपाइने मजदुरहरू बताउँछन् ।


झरीका कारण मजदुरले इँटा पार्नसमेत पाएका छैनन् । एकपल्ट पानी पर्दा सात देखि १० दिनसम्म इँटा बनाउन सकिन्न । ‘रातदिन नभनी १० दिन बनाएको इँटा माटोमै मिल्यो, सिन्धुलीका दिलबहादुर तामाङले भने, ‘खला नसुकेसम्म इँटा बनाउन सकिँदैन ।’ पेस्की तिर्नकै लागि भए पनि भट्टा छोड्न नसकिने उनले बताए । उनी श्रीमती र दुई छोरीका साथ चाँगुनारायण–९ ताथली स्थित इँटाभट्टामा मजदुरी गर्छन् ।


पटक–पटकको बेमौसमी झरीले इँटा उद्योगमा उत्पादित काँचो इँटा नष्ट भएको छ । झरीले जिल्लामा सञ्चालित ६२ उद्योगमा उत्पादित करिब ४ करोड ३५ लाख मूल्य बराबरको काँचो इँटा नष्ट भएको भक्तपुर इँटा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाइ हेम्बाले बताए । प्रतिदिन ८० हजारदेखि १ लाख २० हजार इँटा उत्पादन हुन्छ । ‘झरीले प्रतिइँटा उद्योग करिब ७ देखि ९ लाख काँचो इँटा नष्ट भएको छ,’ उनले भने । झरीका कारण हालसम्म बनाएको ८० प्रतिशत काँचो इँटा बिग्रिएको संघले जनाएको छ । ‘एक सिजनमा प्रतिउद्योग ६० देखि ७० लाख इँटा उत्पादन हुन्छ,’ उनले भने, ‘वर्षाले इँटा उत्पादन गर्ने मजदुर र व्यवसायी उत्तिकै मारमा परेका छन् ।’


भक्तपुरमा मंसिर २० बाट इँटा उत्पादन सुरु भएको हो । लगातारको वर्षाले पुस १० बाट सुरु भई जेठसम्म हुने फायरिङसमेत रोक्नुपर्ने अवस्था आएको छ । ‘फायरिङ गर्न काँचो इँटा चाहियो, चाङ लगाएर राखेको सबै इँटा नष्ट भयो,’ उनले भने, ‘नयाँ इँटा बनाउन १० र १२ दिन कुर्नुपर्छ, त्यतिन्जेल डगको आगो निभिसकेको हुन्छ ।’ वर्षाले इँटाको चाङ लडेपछि उद्योग सञ्चालकसँग क्षतिपूर्ति माग गरेको मजदुरहरू बताउँछन् । संघका अध्यक्ष हेम्बाले मजदुरहरूसँगै व्यवसायीसमेत मारमा परेको बताए । ‘खलामा बिग्रिएको इँटाको क्षतिपूर्ति मजदुरले पाउँदैनन्, गणना गरेर चाङ लगाएको इँटाको क्षतिपूर्ति दिने गरेका छौं,’ उनले भने । काँचो इँटाको क्षति ३३ प्रतिशत मजदुर र ६७ प्रतिशत व्यवसायीले बेहोर्नेसमेत उनले बताए । उद्योगमा कार्यरत कर्मचारीको पाँच लाख रुपैयाँको स्वास्थ्य तथा दुर्घटना बिमा गरिएको हेम्बाले बताए ।


प्रकाशित : माघ ५, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?