कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

डीपीआरले रोकियो एकीकृत बस्ती निर्माण

रामेछाप — भूकम्पले ध्वस्त पारेको रामेछापका तीन स्थानमा एकीकृत बस्ती निर्माण गर्ने योजना बनाइए पनि प्रभावकारी काम हुन सकेको छैन । बस्ती निर्माणका लागि आवश्यक विस्तृत योजना प्रतिवेदन (डीपीआर) कै काम प्राविधिक जनशक्तिको अभावमा रोकिएको छ ।

रामेछापको सबैभन्दा बढी प्रभावित मन्थली नगरपालिकाको गाईखुरा माझी बस्तीमा एकीकृत बस्ती निर्माण गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ०७५ भदौ १७ को निर्णय कार्यान्वयन नभइरहेका बेला ०७५ पुस २० मा गुन्साल र दुरागाउँ एकीकृत बस्ती विकास गर्ने निर्णय गरिएको थियो । प्राधिकरणले एकीकृत बस्ती स्वीकृत गरे पनि त्यसको विकासका लागि आवश्यक जनशक्ति जिल्लामा नपठाएका कारण योजनाको काम अघि बढ्न नसकेको हो ।


प्राधिकरणले उक्त तीन वटै एकीकृत बस्तीको डीपीआर बनाएर पठाउन जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) मा भनेको । तर उक्त कार्यालयमा दरबन्दी बमोजिमको प्राविधिक नहुँदा काम अघि बढेको छैन । आयोजना प्रमुख बीरवहादुर रावलका अनुसार प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा एकीकृत बस्तीको डीपीआर बनाउन जनशक्ति माग गरिएको छ । ‘जनशक्ति पठाए हामी चाँडै डीपीआर तयार पारेर कार्यान्वयनका लागि पठाउछौं,’ रावलले भने, ‘अहिलेकै जनशक्तिले उक्त कार्य सम्भव छैन ।’ गैरसरकारी संस्थाको सहयोगमा दुरागाउँ र गुन्सालको डीपीआर बनाउन थालिए पनि पूरा हुन सकेको छैन ।


एकीकृत बस्ती निर्माण हुने गाईखुरामा पीडितहरूले आफूखुसी घर बनाएका छन । एकीकृत बस्तीमा आवासका अतिरिक्त अन्य विकासका पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ । गुन्सीको गुन्सालमा स्थानीय सेतियुवा क्लबको अगुवाइमा अघि सारिएको ३५ परिवारको एकीकृत बस्ती भने लगानीको अभावमा अलपत्र छ । ‘थोरै काम गरेका छौं, पूर्वाधारको काममा भने हातै हालिएको छैन,’ स्थानीय प्रज्वल श्रेष्ठले भने । दोरम्बा गाउँपालिकाले उक्त बस्ती निर्माणका लागि न्यूनतम लगानी गर्ने योजना अघि सारेको छ ।

प्रकाशित : माघ ४, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?