कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

स्कुल होइन, गोठालो जाने हतार

(चितवन) — बिहानको १० बज्न लाग्दै गर्दा स्कुल जाने बालबालिका फाट्टफुट्ट देखिन थाले । राप्ती नगरपालिका–१३ मा पर्ने पहाडी गाउँ चिउदिङकी निशा तामाङ पनि हतारमा थिइन् । १५ वर्षकी निशा यो बेला आठ/नौ कक्षामा पढ्नुपर्ने हो । तर उनी विद्यालय जान छाडेको वर्षौं भयो । उनको हतारो किताब बोकेर विद्यालय जान थिएन, लौरो समाएर गोठालो दौडिन थियो । 

स्कुल होइन, गोठालो जाने हतार

‘बाले गाईबाख्रा फुकाएर माथि पुर्‍याइसके, अब दिनभरि मैले हेर्नुपर्छ,’ उनले भनिन् । हस्तबहादुर र बिमाया तामाङको कान्छी सन्तान हुन् निशा । बिमायाको कोखबाट सात छोरी र एउटा छोरा जन्मिए । जेठी छोरी साढे तीन वर्षमा नै बितिन् । माइली संगीता अहिले ३५ वर्षकी भइन् । ‘निमोनिया भएपछि उपचार नपाउँदा सानै उमेरमा जेठी छोरी बिती,’ बिमाया सुनाउँछिन्, ‘६ छोरी र एक छोराचाहिँ हुर्किए ।’ छोरा दीपकुमारले पाँच र कान्छी निशाले दुई पक्षासम्म पढे पनि अरू कोही सन्तानले स्कुल टेकेनन् । ‘उ: बेलामा स्कुलै थिएन अनि कसरी पढ्न पठाउनु ?’ बिमाया उल्टै प्रश्न गर्छिन् । स्कुलमात्रै होइन बिरामी भए जँचाउने ठाउँसमेत गाउँमा नभएको उनको भनाइ छ । उपचार गराउन नपाउँदा निमोनिया भएकी जेठी छोरीलाई बचाउन नसकिएको पीडा पनि उनले सुनाइन् । पछि एउरेलीटारमा स्कुल खुलेपछि छोरालाई पनि पठाइन्, त्यहीँ कान्छी छोरीले भर्ना हुने मौका पाइन् ।


अहिले स्कुल पुग्न घरदेखि बढीमा पौने घण्टा हिँड्नुपर्छ । ‘स्कुल टाढा पनि भयो । घरमा काम गर्नुपर्ने हुन्छ, गोठाला जानुपर्छ । त्यसैले स्कुल भर्ना गरे पनि छोराछोरीले धेरै पढेनन्,’ बिमायाले भनिन् । साबिकको लोथर गाविसमा पर्ने राप्ती नगरपालिकाको १२ र १३ नम्बर वडा जिल्लाकै विकट पहाडी क्षेत्र हो । जहाँ अधिकांश बासिन्दा अल्पसंख्यक चेपाङ छन् भने तामाङको बसोबास पनि रहेको छ ।


निशा भने दिदीहरूको बिहे भएपछि आफू स्कुल जान छाडेको बताउँछिन् । ‘दाइ पनि विदेश गयो । दिदीको बिहे भएपछि त गाईबाख्रा मैले नै हेर्नुपर्ने भयो,’ उनको बाध्यता छ, ‘पढ्ने रहर नभएको होइन तर काम गर्नुपर्ने भएपछि स्कुल जान भ्याइएन ।’ लोथर खोलाले बनाएको सानो टारमा उनको घर छ । त्यसैले थोरै भए पनि धान रोप्ने खेत र केही गाईगोरु र बाख्रा गोठमा छन् ।


पहाडी क्षेत्रका अन्य बासिन्दाको तुलनामा निशाका बाबुआमाको आर्थिक अवस्था केही हदसम्म राम्रै देखिन्छ । तर गाउँको आडैमा कक्षा १० सम्म पढाइ हुने विद्यालय सञ्चालनमा आए पनि उनका अधिकांश सन्तान स्कुल जानै पाएनन् । गएका दुई सन्तानले पनि पढाइलाई बिट मारे । राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा शैक्षिक अवस्था निकै कमजोर देखिएको छ ।


नगरपालिकाले गत वर्ष गरेको घरधुरी सर्वेक्षणमा वडा नम्बर १३ को कुल ३ हजार ३०३ जनसंख्यामध्ये एमफिल वा स्नातकोत्तर तह उत्तीर्ण गर्ने एकजना पनि छैनन् । स्नातक उत्तीर्ण गर्ने ६ जना छन् भने माध्यमिक तह पार गरेका ६७ जनामात्रै भेटिएको नगरप्रोफाइलमा विवरणमा उल्लेख छ । एक तिहाइ अर्थात् एक हजार ३७ जना निरक्षर नै छन् ।

प्रकाशित : माघ ४, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?