असुरक्षित टेन्टबाटै सुरक्षा

सानो टेन्टभित्र ६ जना प्रहरी सुत्छन्, उच्छृंखल र आपराधिक कार्यमा संलग्न व्यक्तिलाई राख्ने स्थानसमेत अभाव छ
प्रताप विष्ट

(हेटौंडा) — माघको ठिही । पानी चुहिएर रातभर सुत्न सकिन्न । हतियारजति सबै प्लास्टिकले बेरेर पानीबाट जोगाउनुपर्छ । मकवानपुरको थाहा नगरपालिका–४ सिमभञ्ज्याङस्थित प्रहरी चौकीका प्रहरीले यस्तो कष्टकर हिउँद भोगेको पाँच वर्ष पुग्यो । ०७२ वैशाखको भूकम्पले चौकी ध्वस्त भएपछि उनीहरू टेन्टमुनि बस्दै आएका छन् ।

असुरक्षित टेन्टबाटै सुरक्षा

घाम–पानीले टेन्ट ठाउँठाउँमा च्यातिएको छ । भात पकाउने भान्साघर अस्तव्यस्त छ । ‘बिहीबार रातिदेखि पानी परेकाले चुहिएर सुत्न सकिएन, शुक्रबार त भान्साघरमा भात पकाउने अवस्थै रहेन,’ प्रहरी हवल्दार सुमन ढकालले भने । नागरिकलाई सुरक्षा प्रदान गर्ने आफूहरू नै यो अवस्थामा असुरक्षित रहनुपरेको उनको भनाइ छ ।


‘राति उच्छृंखल र आपराधिक कार्यमा संलग्न भएका व्यक्तिलाई पक्राउ गरेर ल्याएर राख्ने स्थान छैन,’ हवल्दार ढकालले भने, ‘टेन्टमुनि कोचाकोच गरेर सुत्ने गरेका छौं, थुनुवालाई राख्ने ठाउँ नै छैन ।’ चौकीमा टेन्ट सानो खालको छ । त्यसमा ६ जना प्रहरी सुत्ने गरेका छन् । बकैया गाउँपालिकामा पर्ने ठिंगानस्थित इलाका प्रहरी कार्यालय हाल साबिकको गाविस भवनको एउटा कोठामा छ । साँघुरो कोठामा प्रहरीहरू कोचिएर बस्ने गरेका छन् ।


यसैगरी भार्ता, कान्द्राङ, फाखेल, भोर्लेनी र डाँडाखर्कस्थित प्रहरी चौकी घरभाडामा लिएर राखिएको छ । त्यहाँका प्रहरीको बसाइ पनि उस्तै कष्टकर छ । मकवानपुरस्थित चित्लाङ प्रहरी चौकी भवन थाहा नगरपालिका–९ स्थित पुरानो ऐतिहासिक पाटीमा राखिएको छ । भौतिक पूर्वाधारको अभावमा प्रहरी जवानदेखि अधिकृतसम्म पाटीमा कोचिन बाध्य भएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए ।


जग्गा खोज्दै नगरपालिका

वागमती प्रदेश सरकारले मकवानपुरमा सात वटा प्रहरी चौकी भवनका लागि बजेट विनियोजन गरेको छ । त्यसमध्ये केही निर्माणाधीन अवस्थामा छन् । भौतिक पूर्वाधार र जनशक्ति पूर्ति गर्न विभागमा माग गरेर पठाएको प्रहरी उपरीक्षक राठौरले बताए । जिल्ला प्रहरी कार्यालय मातहत मकवानपुरमा ६ सय ६९ जना प्रहरी छन् । एउटा प्रहरीले ६ सय ५५ जनालाई सुरक्षा प्रदान गर्नुपर्ने अवस्था छ ।


जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका १७ वटा प्रहरी चौकीका भवन भूकम्पले क्षतिग्रस्त बनाएको थियो । त्यसमध्ये ६ वटा चौकी पूर्ण क्षतिग्रस्त बनेका थिए भने ११ वटा चौकीमा आशिंक क्षति पुगेको थियो । वैशाख २९ गतेको पराकम्पले प्रहरी चौकी चौघडा र सिमभन्ज्याङमा पनि क्षति पुग्यो ।


प्रहरी चौकी चौघडालगायत ६ वटाको पुनर्निर्माण भइसकेको छ । तर सिमभन्ज्याङ चौकीको पुनर्निर्माणमा जग्गा अभावले कठिनाइ भएको छ । चौकी निर्माण गर्न प्रहरी कार्यालयको नाममा जग्गाको स्वामित्व हुनुपर्छ । सिभन्ज्याङ क्षेत्र सबै ऐलानी हो । थाहा नगरपालिकाले उक्त क्षेत्रमा प्रहरी चौकी निर्माण गर्न नम्बरी जग्गा खोजिरहेको जनाएको छ । ‘चौकी सिमभन्ज्याङमा आवश्यक छ,’ थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने, ‘भवन निर्माणका लागि जग्गाको खोजी गरिरहेका छौं ।’

प्रकाशित : माघ ४, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?