सञ्चारकर्मी ढकालका हत्यारालाई ३९ वर्ष कैद 

प्रताप विष्ट

हेटौंडा — सञ्चारकर्मी मनोहर ढकाललाई डकैतीसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई ३९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबार बसेको इजलासले हेटौंडा उपमहनगरपालिका—११ का अनमोल पुडासैनी र हेटौडा उपमहानगरपालिका—१२ का प्रविण वाईवालाई हेटौंडा उपमहानगरपालिका—११ नवलपुरका ढकालको हत्या गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

सञ्चारकर्मी ढकालका हत्यारालाई ३९ वर्ष कैद 

ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात २५ वर्ष र डकैती गरेकोमा १४ वर्षगरी ३९ वर्ष कैद गर्ने फैसला भएको स्रेस्तेदार केशवराज कौशिकले बताए । ढकालको सुनको औंठी खरिद गर्ने नारायणबहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

३८ वर्षीय ढकालको पुडासैनी र वाईवाले २०७५ पुस २५ गते हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडामा हत्या गरेका थिए । हत्या गरेर ढकालसँग भएको सुनको औंठी, मोबाइललगायत सामान लुटेका थिए । २० वर्षीय पुडासैनी र १९ वर्षीय वाईवा भैरवडाँडाको खोल्सीमा लागु औषध सेवन गरिरहेको अवस्थामा सञ्चारकर्मी ढकाल मोटरसाइकल लिएर उक्त स्थानमा पुगेका थिए । उनले ‘तिमीहरु यस्तो कुलतमा लाग्ने हो' भनेर असल भावनाले सम्झाउन खोज्दा उल्टै ढकाललाई मोटरसाइकलबाट लडाएर कन्चटमा ढुंगाले हिर्काएर हत्या गरेका थिए । प्रहरी र अदालत समक्ष अभियुक्तद्धयले लागु औषध खान हुन्न भनेर हप्काएकाले रिस उठ्यो भने अर्कोतिर हातमा औंठी देखेर लुट्ने मनसायले हत्या गरेको साबिती वयान दिएका छन् । अभियुक्तद्धय क्षेत्रीय कारागार भीमफेदीमा विगत एक वर्षदेखि नै छन् ।

हत्या गरिएका रेडियोकर्मी ढकाल दक्षिण एसियाकै पहिलो अडियो टावर पालुङमा कार्यरत थिए । २०५२ सालमा हालको थाहा नगरपालिका—२ मा पैंयुको रुखमा माइक राखेर समाचार र सूचनाहरु सार्वजनिक गर्ने गरिन्थ्यो । त्यही अडियो टावरमा उनी प्राविधिक कार्यमा संलग्न थिए । सोही अडियो टावरको विकसित रुप उनको सक्रियतामा २०६१ असार २१ गते पालुङमा सामुदायिक रेडियो पालुङ स्थापना गरिएको थियो । उक्त सामुदायिक रेडियोमा उनी प्राविधिकसहित कार्यक्रम सञ्चालक थिए ।

सम्बन्धित समाचार :

प्रकाशित : माघ २, २०७६ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?