कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पुत्रवियोग भुल्न समाजसेवा

‘९ महिनामै दुई छोरा गुमाएको पीडाले परिवार नै सिध्याउने सोचमा पुगेको थिएँ, श्रीमतीको सल्लाहले समाजसेवामा लाग्न प्रेरित गर्‍यो’

(कोसीपारि, काभ्रे) — मनमा आएको त्यो ‘गलत’ सोच पूरा गरेको भए आज उनी यो संसारमा हुँदैन थिए । नौ महिनाको अवधिमा लक्का जवान दुवै छोरा गुमाउँदा कसलाई पीडा हुँदैन र ? ८७ वर्षीय बुबा, ८४ वर्षीया आमा, श्रीमती लक्ष्मी, छोरा कृष्ण, छोरी स्वातिसहित परिवारका सबै सदस्यलाई भोटेकोसीमा गाडीसहित खसाल्ने योजना बनाएका थिए, विष्णु गौतमले । तर पत्नीको एउटा प्रस्तावले उनको मन मोडियो । टेलिभिजनमा आएको एउटा दृश्य नै ‘टर्निङ प्वाइन्ट’ बनिदियो । 

पुत्रवियोग भुल्न समाजसेवा

गोरखामा भएको सवारी दुर्घटनामा मेरुदण्डमा चोट लागेको एक वृद्ध बाबु सोही दुर्घटनामा मृत्यु भएका आफ्ना छोरासम्म पुग्न चाहन्थे तर सकिरहेका थिएनन् । त्यो समाचार हेरेकी पत्नी लक्ष्मीले विष्णुलाई सुनाइन्, ‘हामी पनि हाम्रा दिवंगत छोराहरूको नाममा केही सामाजिक काम गरौं न ।’ त्यसपछि विष्णुको मन फेरियो । लक्ष्मीकै नाममा प्रतिष्ठान खोलेका उनीहरू अहिले अन्य बालबालिकामार्फत दुई छोराको सपना पूरा गरिरहेका छन् ।


चौंरीदेउरालीको धुसेनी शिवालयमा जन्मिएर काठमाडौं तिलगंगा बस्दै आएका पर्यटन व्यवयासी विष्णुको परिवार हाँसीखुसी चलिरहेको थियो । छोराछोरी पढाइपछि काममा लागेका थिए, परिवारको आम्दानीको स्रोत राम्रै थियो । छोरा कुमारले चलाएको ट्राभल एजेन्सी सन् २००८ मा देशमा सबैभन्दा बढी पर्यटक भित्र्याउने कम्पनी थियो । ०६५ पुस १२ विष्णुका लागि कालो दिन बनेर आयो । घर फर्कंदै गर्दा सवारी दुर्घटनामा कुमारको मृत्यु भयो । व्यवसायमा लागिसकेको परिवारको जेठो छोरा गुमाउँदाको पीडा त परिवारलाई छँदै थियो, तैपनि विधिको विधान भन्दै चित्त बुझाउँदै थिए । ०६६ असोज १७ मा फेरि उनीहरूको जिन्दगीमा ठूलै बज्रपात पर्‍यो । जेठो छोरा गुमाएको ९ महिनापछि विष्णुको परिवारले माइलो छोरा बलराम गुमायो ।


अमेरिकाको ओक्लोहामा युनिभर्सिटीमा अध्ययनरत उनले गाडी हाँकिरहेका बेला मृगले बाटो काट्यो, बचाउन खोज्दा गाडी अनियन्त्रित भई दुर्घटनामा उनको ज्यान गुमाए । ‘अघिल्लो शोकबाट तंग्रिन नपाउँदै अर्को शोकमा पर्‍यौं, त्यसले हामीलाई मानसिक रूपमा विक्षिप्त बनायो,’ विष्णु सम्झिन्छन्, ‘त्यसै कारण परिवार नै सिध्याउने सोचमा पुगेको थिएँ, श्रीमतीको निर्णय र सल्लाहले समाजसेवामा लाग्न प्रेरित गर्‍यो ।’


०६६ यता नै समाजसेवा सुरु गरेका उनीहरूले त्यसलाई निरन्तरता दिइरहेका छन् । आधारभूत विद्यालय रौतहट र कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माण गरिदिएका छन् । आठ सयभन्दा धेरैलाई सीपमूलक तालिम दिएका छन् । करिब आठ सय जनाको मोतियाबिन्दुको शल्यक्रिया निःशुल्क गराएको उनको दाबी छ । शिक्षा, स्वास्थ्य, सीप विकास, महिला सशक्तीकरण, सडक सुरक्षाको क्षेत्रमा काम गरिरहेका उनीहरूले करिब दुई सय चेपाङ बालबालिकालाई ‘कुमार बलराम स्मृति छात्रावास’को व्यवस्था गरेका छन् । कान्दा रूपान्तरण अभियान नाम दिएका त्यहाँका बालबालिकाको शिक्षा र स्थानीयको आयआर्जनमा सघाएका छन् ।


विष्णुका अनुसार, चितवनबाट प्रकाशित एक समाचारले उनीहरूको ध्यान खिचेको थियो । समाचारमा विषालु च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको उल्लेख थियो । ७४ वर्षीय हजुरआमा र १८ महिनाको बालक मात्रै च्याउ नखाएको कारण बच्न सफल भएका थिए । उनीहरूलाई अनेकोटमा रहेको आफ्नो जग्गामा ल्याएर घर बनाएर राख्ने सोच पनि नबनाएका होइनन्, तर एकपटक नपुगीकन विष्णुको मनले मानेन । ‘त्यहाँ पुग्दा स्थिति अर्कै थियो । अर्धवस्त्र, नांगै धेरै थिए, तीन महिना पनि खान पुग्ने रहेछ,’ ती दिन सम्झँदै उनी भन्छन्, ‘खाना खाने भाँडाकुँडा पनि थिएन, पत्कर छरेर सुत्ने र बीचमा आगो बालेर न्यानो बनाउने गरिएको रहेछ, जंगली जनावर नै मारेर खाने गरिएकाले त्यति घना जंगलमा चराचुरुंगी समेत भेटिँदैनथे ।’ बाटो, बिजुलीसमेत नभएको विकट त्यो गाउँमा उनले धेरै मेहनत गरेर विकास पुर्‍याए ।


दुई स्थानमा छात्रावासलगायत विभिन्न सामाजिक क्रियाकलाप सञ्चालन गरिरहेको लक्ष्मी प्रतिष्ठानका लागि विष्णुले आफ्नो धेरै सम्पत्ति बिक्री गरिसकेका छन् । ‘म बस्ने एउटा घरबाहेक अब केही छैन,’ उनले भने, ‘रिसोर्ट चलाउन तयारी रहेको पाँचखाल नगरपालिकाको ४० रोपनी जग्गा संस्था चलाउनकै लागि २ करोड ३४ लाखमा बिक्री गरेँ, कम्पनी बेचेर आएको २२ लाख र आफूसँग रहेको ४९ लाख पैसा पनि संस्थाकै काममा खर्च भएछ, ८७ लाखमा किनेका दुई घडेरी पनि संस्थाकै लागि बिक्री गरेको हुँ ।’ सम्पत्ति सकिएकोमा उनमा चिन्ता छैन ।


सामाजिक सञ्जालमार्फत प्रतिष्ठानको गतिविधि थाहा पाउनेबाट सहयोग संकलन गरिरहेका उनले आफ्नो बेच्न मिल्नेजति सम्पत्ति बिक्री गरिसकेका छन् । तीन वर्ष आफ्नो सम्पत्ति बेच्दै संस्थाका गतिविधि सञ्चालन गरेपछि सहयोग पनि जुटेको छ । दुई सय बालबालिकालाई छात्रावास र संस्थाका अन्य गतिविधिमा वार्षिक डेढ करोडजति खर्च हुन्छ । दातामार्फत अहिलेसम्म करिब सात करोड बराबरको रकम सहयोग जुटाएका छन् ।


कान्दामा गरेको उनको काम देखेर बेलायत सरकारले सम्मान गरे पनि नेपाल सरकारले नदेखेकोमा उनको दुःखेसो छ । ‘दिनभरि हलो जोतेर आएको छोरालाई बेलुका बाबुले धाप मारे पनि आनन्द आउँछ रे,’ उनी भन्छन्, ‘तर सरकारले कुनै सहयोग गरेन । कान्दामा भएको विद्यालयलाई मावि बनाउने अनुमति दिएको भए एउटा छात्रावास चलाउँदा चलाउँदै अर्को चलाउन पर्दैन थियो ।’ सातभन्दा माथिका कक्षा सञ्चालन नहुने भएका कारण कान्दाका बालबालिका पढाइका लागि चौंरीदेउरालीस्थित सरस्वती मावि भर्ना भएका छन् । त्यहाँका घर भाडामा लिएर उनले छात्रावास सञ्चालन गरिरहेका छन् । सय जनासम्मका लागि पुग्ने संरचना निर्माण भइरहेको उनको भनाइ छ ।

प्रकाशित : माघ २, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?