कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर तिर्दैनन् इँटा उद्योगहरु

हरिहरसिंह राठौर

धादिङ — जिल्लामा सबैभन्दा बढी उद्योग भएका धुनीबेंसी नगरपालिका लगायत पृथ्वीराजमार्गसँग जोडिएका साना ठूला उद्योगहरुले स्थानीय तथा प्रदेश सरकारलाई प्रदूषण कर तिर्न अटेर गरिरहेका छन् । 

न्यूनतम कर तिर्न र नवीकरण गर्न बारम्बार गरेको लिखित तथा मौखिक आग्रहलाई कुनै उद्योगीले नटेरेको स्थानीय तहले गुनासो गरेका छन् । धुनीबेंसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले भने,- ‘नौविसेस्थित केएल दुगडले सञ्चालन गरेको युनाइटेड सिमेन्टलाई प्रदेश सरकारले प्रतिबोरा अढाई रुपैयाँ र नगरपालिकाले प्रतिबोरा ५० पैसा गरी ३ रुपैयाँ वातावरणीय कर भुक्तान गर्न पत्राचार गरेको डेढ वर्ष भयो तर कुनै उत्तर दिएन र कर पनि तिरेन ।’ उक्त नगरपालिकामा ३ वटा सिमेन्ट, २ वटा औषधि कारखाना, २७ वटा इँटा उद्योगहरु सञ्चालनमा छन् ।


त्यस्तै करिब सय रिसोर्ट र होटल, कुखुरा र बाख्रा फर्महरुलाई वातावरणीय मापदण्ड पालना गर्न र सामाजिक उत्तरदायित्व वहन गर्न नगरपालिका र वाग्मती प्रदेश सरकारले पटक-पटक पत्राचार गरेका थिए । प्रमुख आचार्यका अनुसार २०७२ को भूकम्पलगत्तै काठमाडौंबाट विस्थापित भएर नौबिसे ईलाकामा आएका २९ वटा इँटा उद्योगले सामान्य कर तिर्न पनि मानेनन् । कृषियोग्य नौबिसे फाँटलाई उद्योगमा बालिने कोइलाको धुवाँले प्रदूषित बनाएको उजुरी परेपछि नगरपालिकाले मापदण्डमा चलाउन र प्रति इँटा २५ पैसा वातावरणीय कर तिर्न पत्राचार गरेको थियो ।

नगरपालिकाले श्रम ऐनअनुसार मजदुरका पारिश्रमिक, बीमा, सामाजिक सुरक्षा कोष, उद्योगहरुको सामाजिक लेखा परीक्षण लगायत सर्त पालना गर्न समेत पत्राचार गरेको थियो । तर, उद्योगहरुले कार्यरत मजदुरहरुको नामावलीसमेत उपलब्ध गराएका छैनन् । ‘हरेक उद्योगमा कम्तीमा ३ सयदेखि ६ सयसम्म मजदुरहरु काम गर्छन् तर श्रम ऐन लागू भएको छैन, कारबाही गर्ने स्पष्ट कानुन पनि छैन, बैंक ऋृण स्वीकृत गराउने बेला मात्रै नगरमा सम्पर्क राख्छन् अन्यथा कुनै सम्पर्क गर्दैनन', नगरप्रमुख आचार्य भन्छन्, 'अब कर नतिर्ने उद्योगलाई नवीकरण नगर्ने बाहेक उपाय छैन ।’


जिल्लाका नौबिसे, थाक्रे, गजुरी, छत्रेदेउराली, जीवनपुर, नीलकण्ठमा सञ्चालित ४२ वटा इँटा उद्योगहरुले करोडौं भ्याट छली गरिरहेको पाइएको छ । निलकण्ठ नगरपालिका– ८ ससाहमा रहेको महारुप इँटा उद्योगले करोडौंको भ्याट छलीगरिरहँदा समेत सरोकारवाला निकाय मौन छ । उनीहरुले प्रति इँटा ७ देखि रुपैयाँको भ्याट बिल काट्ने गरेको भए पनि ग्राहहरुले प्रति इँटा १३ रुपैयाँ मूल्य पर्छ । ‘एक वर्षमा हामीले २५ लाखभन्दा धेरै इँटा बेचिसकेका छौं,’ भट्ट सञ्चालकमध्येका एक बद्री कोइरालाले भने, ‘जिल्लाका सबैतिर बिल दिने एउटै तरिका भएकोले यो विषयमा बोल्न मिल्दैन ।’


एक वर्षको अवधिमा १७ उद्योग दर्ता

पछिल्लो एक वर्षमा घरेलु तथा साना उद्योग विकास समिति धादिङमा १७ वटा इँटा उद्योग दर्ता भएका छन् । धुनीबेंसी नगरपालिकामा मात्रै स्वीकृति लिएका २९ मध्ये २७ वटा इँटा उद्योगहरु सञ्चालनमा छन् । यस क्षेत्रमा सञ्चालनमा रहेका इँटा उद्योगले करिब १५ सय किसानका ५ हजार रोपनी खेतीयोग्य जग्गा ओगेटेको छ ।


घरेलु तथा साना उद्योग विकास समिति धादिङका अनुसार जिल्लामा ३० वटा इँटा उद्योगले मात्रै सञ्चालन अनुमति लिएका छन् ।

प्रकाशित : माघ १, २०७६ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्

माघे संक्रान्ति : नुवाकोट र धादिङमा गोरु जुधाई मेला

कान्तिपुर संवाददाता

काठमाडौँ — माघे सङ्क्रान्तिको अवसरमा बुधबार नुवाकोट र धादिङका विभिन्न स्थानमा गोरु जुधाइँदै छ । नुवाकोटको तारकेश्वर गाउँपालिकाको चन्दनीमा २२, विदुर नगरपालिकाको बेत्रावतीमा ११, पञ्चकन्या गाउँपालिकाको पिपलडाँडामा ८, लिखु गाउँपालिकाको कट्टीछापमा ३, तादी गाउँपालिकाको सातबिसेमा १०, शिवपुरी गाउँपालिकाको गैरीफाँटमा ५ हल गोरु जुधाइरहेको आयोजकले जनाएका छन् ।

तारुकामा आयोजित गोरु जुधाइको व्यवस्थापनका लागि ‘माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्था’ खडा गरिएको छ । तारुकाकोगोरु जुधाइ तथा विभिन्न सांस्कृतिक कार्यक्रममा कांग्रेसका महामन्त्री शशाङ्क कोइराला लगायत सहभागी छन् ।

धादिङको निलकण्ठ नगरपालिका–५ खाल्टेको फ्याक्सेमा ७ हल गोरु जुधाउन लागिएको आयोजक चमेरे गुफा संरक्षण समाजले जनाएको छ । तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघर आउँदा विसं १८८७ मा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा यहाँ हरेक वर्ष मकर सङ्क्रान्तिको अवसरमा गोरु जुधाई प्रतिस्पर्धालाई मेलाको रुपमा सञ्चालन गर्ने गरेको पाइन्छ । यसैगरी, गोसाइँकुण्ड युवा क्लबको आयोजनामा बेत्रावतीमा ११ हल गोरु जुधाइँदै छ । वेत्रावतीमा जुधाइने गोरु जात्रामा अवलोकन गर्न प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फेलगायत सहभागी छन् ।

मकर सङ्क्रान्ति पर्वको अवसरमा नुवाकोटको तारुका, बेत्रावतीमा जुधाइने जात्राको अनुशरण गर्दै जिल्लाका अन्य स्थानमा पनि पछिल्लो समय गोरु जुधाइ प्रतिस्पर्धा विस्तार भएको छ । लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछापमा नेपाल मगर संघको आयोजनमा ३ हल गोरु दर्ता भएको जात्रा व्यवस्थापन समिति संयोजक एंव गाउँपालिकाको उपाध्यक्ष रोजिना राईले जानकारी दिइन् । गोरु जुधाइसहित विभिन्न सांस्कृतिक कार्यक्रम हुने छन् ।

नुवाकोटका पञ्चकन्या गाउँपालिका–३ स्थित पिपलडाँडा, शिवपुरी गाउँपालिका–५ गैरीफाँट, तादी गाउँपालिका–४ सातविसे लगायत स्थानमा गोरु जुधाई मेला लागेको छ ।

प्रकाशित : माघ १, २०७६ १३:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×