कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकीकृत बस्ती निर्माण हुँदै

हेटौंडा — मकवानपुरका दुई स्थानमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला आयोजना इकाई भवनमार्फत एकीकृत बस्ती निर्माण गर्ने भएको छ । एकीकृत बस्ती निर्माण गर्नका लागि प्रारम्भिक कार्य सुरु गरिसकेको छ । आफ्नो स्वामित्वमा एकधुर जमिन पनि नभएका राक्सिराङ गाउँपालिका—५ का सकुम्बासी लाभग्राहीलाई मनहरी गाउँपालिका—५ जोगितालमा चार रोपनी जग्गा खरिद गरेर घर निर्माण गर्न लागेको हो ।

राक्सिराङ— ५ का १० घर लाभग्राहीलाई उक्त स्थानमा ल्याएर एकीकृत बस्ती निर्माण गर्न लागेको जिल्ला आयोजना इकाई भवन हेटौंडाका इन्जिनियर रविन पाठकले बताए । ‘जग्गा खरिद गरिसकिएको छ, डीपीआरको काम पनि हुँदै छ,’ उनले भने ।


यसैगरी मकवानपुरको दुर्गम कैलाश गाउँपालिका—१० बरमटारमा एकीकृत बस्ती निर्माण गर्ने भएको छ । कैलाश गाउँपालिका—१० म्याङसेदुङस्थित जोखिम बस्तीका १० जना लाभग्राहीलाई वरमटारमा स्थानान्तरण गर्न लागेको हो । वरमटारमा ५ रोपनी जग्गा १० लाखमा खरिद गरिएको छ । लाभग्राहीले ३ लाख रुपैयाँको अनुदान रकमले भवन पुनर्निर्माण गर्ने तयारीमा जुटेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त एकीकृत बस्तीका लागि पूर्वाधार निर्माण गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


यसैगरी थाहा नगरपालिका १० चित्लाङको लाभग्राहीहरूको बस्ती माझगाउँमा पूर्वाधारहरूको विकास गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १ करोड ५० रुपैयाँ रकम विनियोजन गरेको छ ।


उक्त ऐतिहासिक बस्तीमा अशोक चैत्यलगायत ऐतिहासिक सम्पदाहरू रहेका छन् । थाहा नगरपालिका—६ कुन्छाल र पापुङमा पूर्वाधार विकास गर्न लागि १ करोड ५० लाख रुपैयाँ रकम छुट्याएको छ । इन्जिनियर पाठकले भने, ‘थाहा नगरपालिकाको कुन्छाल, पापुङ र माझगाउ पर्यटकीय क्षेत्र पनि हुन्,त्यसैले पर्यटकलाई आकर्षण गर्न पूर्वाधार विकासको निम्ति रकम विनियोजित गरिएको हो ।’ २ वटा एकीकृत बस्ती र तीनवटा बस्तीका पूर्वाधार विकासका कामहरू चालु आवमा नै सम्पन्न हुने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।


४१ प्रतिशत भूकम्पपीडितले घर बनाए

भूकम्प गएको ५५ महिना बित्न लाग्दा मकवानपुरका भूकम्पपीडितहरूमध्ये ४१ प्रतिशतले निजी आवासीय भवन निर्माण गरिसकेका छन् ।


अनुदान सम्झौता भएकाहरूमध्ये ८६ प्रतिशतले निजी आवास भवन बनाइरहेका छन् । अनुदान सम्झौता गरेकामध्ये हालसम्म मकवानपुरमा १४ हजार १ सय ३५ लाभग्राही अर्थात् ४१ प्रतिशत लाभग्राहीले घर निर्माण गरिसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख विमलकिशोर केसीले बताए । उनका अनुसार मकवानपुरमा कुल लाभग्राही संख्या ३४ हजार ३ सय १९ मध्ये २९ हजार ५ सय ५ जना अर्थात् ८६ प्रतिशतले लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । ६ हजार ५ सय ८६ लाभग्राहीहरूसँग अहिलेसम्म सम्झौता हुन सकेको छैन ।


अनुदान सम्झौता भएकामध्ये २९ हजार ५ सय ५ अर्थात् ८६ प्रतिशतले लाभग्राहीले प्रथम किस्ताको रकम बुझेर लगिसकेका छन् । २३ हजार ४ सय ३१ अर्थात् ६८ प्रतिशत लाभग्राहीले दोस्रो किस्ता लगेर युद्धस्तरमा घर बनाइरहेका कार्यालय प्रमुख केसीले बताए । तेस्रो किस्ता १८ हजार ४ सय ३ जना लाभग्राहीले बुझेर लगेका छन् ।

प्रकाशित : माघ १, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?