३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

माझीले दुवाली छेकेनन् 

प्रताप विष्ट

(हेटौंडा) — खोलामा माछा नभएकाले मकवानपुरका माझी समुदायको दुवाली छेकेर माघेसंक्रान्ति मनाउने चलन यो वर्ष रोकिएको छ । माझी समुदाय बसोबास गर्ने क्षेत्रको सिमात र बकैया खोलामा माछा नभएकाले दुवाली छेकेर माघेसंक्रान्ति मनाउने परम्परा रोकिएको हो । ‘पहिले पहिले खोलामा करेन्ट र विष हालेर माछा मारिन्थ्यो,’ बकैया गाउँपालिका ६ जुइनाका कृष्ण माझीले भने, ‘खोलामा माछा नै छैन के दुवाली छेक्नु । पुस मसान्तका दिन दुवाली छेक्ने काम गरिएन ।’ 

माघेसंक्रान्तिको अघिल्लो राति दुवाली छेकेर डढिया र घिङ्ग्री थापेर त्यसमा परेको माछा पकाएर खाएर संक्रान्ति मनाउँदै आएका थिए । ‘पोहोरसम्म खोलामा माछा थिए,’ माझीले भने, ‘गाउँले जम्मा भएर खोलामा दुवाली छेकेर ढडिया र घिङ्ग्री रातभर थापेर परेको माछा संक्रान्तिका दिन पकाएर खाइन्थ्यो, अहिलेको वर्ष माछा छैन ।’


‘माछा नभए पनि माघेसंक्रान्ति मनाउँछौं तर दुवाली छेकेको जस्तो रमाइलो हुँदैन,’ स्थानीय दीपक माझीले भने । खोलामा माछा नभएकाले परम्परा पनि लोप हुने डर माझी समुदायलाई छ । माझीबाहेक अरू समुदायले खोलामा करेन्ट र विष हालेर माछा मारेका कारणले माछा नै हराएको उनीहरूको आरोप छ । खोलाको माछासँग अन्तरसम्बन्ध रहेको माझी समुदायले करेन्ट र विष हालेर माछा मार्दैनन् । जाल हालेर वा ढडिया थापेर मात्र उनीहरूले माछा मार्ने गर्छन् ।


माघेसंक्रान्तिको अघिल्लो दिन अर्थात् मसान्तको दिन आफ्नो घर, बस्तीनजिकको खोलामा दुवाली छेकेर डढिया र घिङ्ग्री रातभर थापेर त्यस्मा परेको माछा पकाएर खाएर संक्रान्ति मनाउने गर्थे । दुवाली छेकेपछि ढडिया र घिङ्ग्री रातभर थाप्ने गरिन्छ । माझी समुदायका युवाहरू डढिया र घिङ्ग्री थापेको नजिक आगो बालेर रातभर जागाराम बस्ने गर्थे ।


ढडिया र घिङ्ग्रीमा परेको माछा सामूहिक रूपमा भाग लगाएर घरमा लगेर पकाएर खाने गर्थे । माझी समुदायले खोलामा दुवाली छेक्ने बेला अन्य जातिका मानिस आएर हेर्ने गर्थे । ‘माघेसंक्रान्तिका दिन दुवाली छेकेर माछा मारेर खाने यो हाम्रो ऐतिहासिक परम्परा थियो,’ कृष्णले भने, ‘अब मासिएला भन्ने डर भो । मकवानपुरको पूर्वी क्षेत्र बकैया र वाग्मती गाउँपालिका केही बस्तीहरूमा माझी समुदायको बसोबास छ ।

प्रकाशित : माघ १, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?