स्थायी राजधानीले उद्योगी–व्यवसायी उत्साहित

सुवास विडारी

(मकवानपुर) — प्रदेश ३ को राजधानी हेटौंडा र नामकरण वागमती प्रदेश भएसँगै यहाँका उद्योगी तथा व्यवसायीहरू उत्साहित छन् । व्यवसायीहरूको छाता संगठन उद्योग वाणिज्य संघ मकवानपुर अध्यक्ष कृष्ण कटुवालले स्थायी राजधानी हेटौंडा तोकिँदा व्यवसायीहरू मात्रै होइन पूरै प्रदेशमा खुसी छाएको बताए । उनले अब व्यवसायीहरूले हेटौंडामा लगानी बढाउने दाबी गरे । 

स्थायी राजधानीले उद्योगी–व्यवसायी उत्साहित

हेटौंडा देशकै सबैभन्दा ठूलो औद्योगिक क्षेत्र भएको स्थान पनि हो । ‘अब यहाँ सुविधा सम्पन्न होटल, कम्प्लेक्सहरू खुल्नेछन् भने विभिन्न व्यवसायमा लगानी बढ्नेछन् ’ उनले भने, ‘सडक सञ्जालले जोडिएको हेटौंडालाई थप व्यवस्थित बनाएर अगाडि बढाउने समय आएको छ ।’ कटुवालले हेटौंडामा बैंक तथा वित्तीय संस्थाहरू खुल्ने क्रममा बढ्ने जुन प्रत्यक्ष रूपमा लगानी, रोजगारी र उत्पादनसँग जोडिनेसमेत बताए ।

उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल स्थायी राजधानी भएसँगै अब बन्ने प्रादेशिक औद्योगिक, व्यावसायिक र यातायात नीति व्यवसायीअनुकूल बनाउनुपर्ने बताए । ‘अब बन्ने नीतिहरू व्यवसायी मैत्री बनाउनुपर्छ । हाम्रो प्रदेश अरूभन्दा फरक छ । त्यसैले व्यवसायीमैत्री कानुन बनाएर लगानी भित्र्याउनेतर्फ ध्यान दिन जरुरी छ,’ उनले भने, ‘औद्योगिक विकासका लागि चाहिने आवश्यक पूर्वाधार र नीति निर्माण गर्नुपर्ने चुनौती हामीलाई थपिएको छ ।’ हेटौंडा–१४ मा निर्माण हुन लागेको नयाँ औद्योगिक क्षेत्रको डीपीआर निर्माण गरेर ठूलाठूला उद्योग आउने वातावरण तयार गर्न अब हतार गर्न नहुने उनको भनाइ छ । ‘औद्यागिक क्षेत्रहरू प्रदेश सरकार मातहतमा ल्याएर लगानीमैत्री कानुन निर्माण गरेर अगाडि बढ्नुको विकल्प छैन,’ उनले थपे ।


नारायणी यातायात व्यवसायी संघ हेटौंडाका महासचिव सरोज खनाल राजधानी भएपछि हेटौंडाबासीको काँधमा जिम्मेवारी थपिएको बताए । ‘अब सडक फराकिलो बनाउने, गुणस्तर भौतिक पूर्वाधार निर्माण गर्ने र व्यवसायीहरूलाई थप जिम्मेवार हुनुपर्ने समय आएको छ,’ उनले भने, ‘स्थायी राजधानी भएसँगै प्रशासनिक समस्या समाधानका लागि मन्त्रालयहरू यहाँ नै हुनेछन् । कानुन निर्माणमा समेत हामीले प्रत्यक्ष रूपमा भूमिका खेल्ने मौका पाउनेछौं ।’


प्रदेशको स्थायी राजधानी र नाम पारित भएको खुसीमा हेटौंडाको विभिन्न स्थानमा स्वागत र्‍याली निकाल्दै प्रदेशसभाका सबै सांसदहरूलाई धन्यवाद दिइएको छ । यसैगरी, मकवानपुर उद्योग वाणिज्य संघले निर्णयको स्वागत गर्दै बाजागाजासहित बजारका विभिन्न क्षेत्रको परिक्रमा गरेको छ । होटल एसोसिएसन अफ मकवानपुरले बुद्धचोकनजिकै दीप प्रज्वलन गरेको छ । हेटौंडासहित जिल्लाका विभिन्न स्थानमा निर्णयको स्वागत गर्दै दीप प्रज्वलन एवं र्‍याली दुई दिनदेखि भइरहेका छन् ।


प्रकाशित : पुस २९, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?