कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

माथिमाथि शैलुङ्गेमा...

(दोलखा) — गायिका कुन्ती मोक्तानले गाएको गीतमा जस्तो माथिमाथि शैलुङ्गेमा चौरी चराउनेहरू मात्रै हैन अब स्की र स्नोबोर्ड खेल्ने अनि हिउँमा रमाउनेहरू पनि त्यहाँ सरावरी देखिन थालेको छ ।

माथिमाथि शैलुङ्गेमा...

दोलखाको कालिञ्चोकपछि हिउँमा खेल्ने चर्चित गन्तव्य बनिरहेको शैलुङ डाँडा चहलपहल छ । पर्यटकको भीड लागिरहेको छ । सडक र बासको सुविधासॅगै सयवटा स–साना थुम्काहरू रहेको शैलुङमा भीड बढेको स्थानीयहरूले बताए । स्थानीय व्यवसायी गणेश श्रेष्ठ अघिल्ला वर्षहरूभन्दा यो वर्ष हिमपात हुनेबित्तिकै ठूलो संख्यामा पर्यटक आएको बताउँछन् ।


एउटा ठूलो मैदानमा सयवटा फरक–फरक आकृतिका थुम्का भएको शैलुङ यतिखेर हिउँले सेताम्मे छ । एकपटक परेको हिउँ कम्तीमा पनि तीन महिना बिलाउँदैन । त्यसैले हिउँमा रमाउन पुग्नेहरूका लागि स्की विल्कुलै नयाॅ खेल हो । शैलुङमा हिउँ परेको सूचना पाएलगत्तै नेपाल माउन्टेन एकेडेमीले आफ्ना प्रशिक्षार्थीलाई प्रशिक्षणमा ल्याउँछ । वर्षको तीन महिना शैलुङमा स्की सञ्चालन र प्रशिक्षण हुन सक्ने सम्भाव्यता अध्ययनसमेत भइसकेको एकेडेमीका प्रशिक्षक छिरिङ शेर्पाले बताए ।


राजधानीबाट १ सय ६ किलोमिटर अरनिको राजमार्ग र पुष्पलाल मार्ग पुगेपछि मुढे बजार आइपुग्छ । त्यहाँबाट पूर्वतिर विस्तार भएको सडकबाट २० किलोमिटर यात्रापछि बेसक्याम्प कालापानी पुगिन्छ । त्यहींबाट पदयात्रा

गर्दै शैलुङको टुप्पोमा पुग्दा देखिने स–साना थुम्काले पर्यटकलाई आकर्षित गर्छ । शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालले सडक र अन्य पूर्वाधारको विकाससँगै पर्यटकको संख्यामा वृद्धि भएको हो । कालापानीमा निर्माण हुन लागेको होमस्टेपछि झन् पर्यटकको वृद्धि हुने उनी बताउँछन् ।


समुद्री सतहबाट करिब ३३ सय मिटर अग्लो डाँडा पुग्दा कुनै बेलामा मानिसले बनाएजस्ता एक सयवटा स–साना डाँडाहरू देखिन्छन् । हिमपात भएपछि उक्त सबै स–साना डाँडामा लिपेको जस्तैगरी हिउँ टाँसिन्छ । टाँसिएका हिउँमाथि खेल्ने र तालिम गर्नेहरूले शैलुङ कहिलेकाहीं झपक्कै हुन्छ । हिउँ नहुँदा हरिया दुबोले भरिएको मैदान र थुम्काहरू सुन्दर देखिन्छन् ।


प्रकाशित : पुस २९, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?