हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कान्तिपुर संवाददाता

मकवानपुर — पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गएको छ ।  पश्चिम मकवानपुरको मनहरीमा हात्तीको आक्रमणबाट सोमबार बिहान ७० वर्षीय मैया थापाको मृत्यु भएको हो । 

मनहरी–३ मेलडाँडा बस्ने थापा छोरीसँगै जंगलमा घाँस काट्न जाने क्रममा हात्तीले लेखेटेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रहरीका अनुसार मनहरी–३ पर्सा आरक्ष क्षेत्रको जंगलमा आमा छोरी घाँस काट्न जाँदै गर्दा बाटोमा जंगली हात्तीले लखेट्दा मैयाको ज्यान गएको हो ।


प्रकाशित : पुस २८, २०७६ १७:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

डाँडाको फुटबल (फोटो)

विमल खतिवडा

सिन्धुपाल्चोक — मैदान सानो छ । यही सानो मैदानमा खेलाडीको भीड छ । रातो र निलो जर्सीमा सजिएकाहरु आपसमा घम्साघम्सी गरिरहेका छन् । यो दृश्य मैदान भन्दा माथिको पाखामा बसेकाहरुले एक तमासले नियाली रहेका छन् । कोही गोल गोल भन्दै चिच्याउँदै त कोही बल अघि बढाऊ भन्दै हुटिङ गरिरहेका छन् । दुवै पोष्टमा छात्रा गोल रक्षक छन् ।

खेलाडी पनि छात्रा मात्र छन् । यो दृश्य सिन्धुपाल्चोकको हेलम्बु गाउँपालका–२ खर्कडाँडामा अवस्थित नोर्बुलिङ मणिचौर माध्यमिक विद्यालयको मैदानमा पहिलो पटक पुग्नेहरुकालागि नौलो लाग्न सक्छ । विद्यालय डाँडामा छ । खेल मैदान भने केही तल छ ।

विद्यालयमा दैनिक ४ बजेपछि अनिवार्य रुपमै एक घण्टा खेल खेलाएर अभ्यास गराइन्छ । खेल सिकाउन शिक्षक लाक्पा लामा खटिन्छन । उनले कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई विविध खेल खेल्न सिकाउँछन् । तर सबैको रोजाइमा फुटबल नै पर्छ । शुक्रबार १ बजेपछि टिम बनाएर फुटबलमा प्रतिस्पर्धा गराइन्छ । फुटबल खेल्न छात्र भन्दा छात्रा बढी अग्रसर हुन्छन् । ‘सबैभन्दा मन पर्ने खेल नै फुटबल हो,’ फुटबल खेल्दै गर्दा भेटिएकी १४ वर्षीया सुनिता सुनार भविष्यको सपनाबारे भन्छिन, ‘अहिले विद्यालयको नाममा खेलेपनि भविष्यमा देशको नाममा खेल्ने सपना छ ।’

कक्षा ८ मा पढ्ने उनले फुटबललाई खुट्टामा खेलाउन थालेको तीन वर्ष भयो । यहाँ चिसो छ । तर फुटबल खेल्दा चिसो भएकै थाहा नहुने १४ वर्षीया जमुना तामाङ सुनाउँछिन् । ‘सुरुमा मैदान पस्दा चिसो हुन्छ,’ उनी भन्छिन, ‘खेल्दै गएपछि कसरी गोल गर्ने भन्ने चिन्ता हुन्छ, चिसो भएकै थाहा पाइदैन ।’ अघिपछि जुन पोशाकमा खेलेपनि शुक्रबार भने जर्सी लगाएरै खेल्नु पर्छ । निलो र रातो जर्सीको व्यवस्था विद्यालयले नै गरिदिएको हो । जुत्ता भने आफैं किनेर खेलमा सहभागिता जनाउँछन् । विद्यालयमा १ सय ६० जना विद्यार्थी छन् । जसमा छात्र ९८ र छात्रा ६२ जना छन् । छात्राको संख्या कम भएपनि फुटबल खेल्नमा उनीहरु नै सुरिन्छन ।

‘जे कुरा पनि सिकेपछि न जानिन्छ,’ मैदानमा विपक्षी टिमलाई बल छक्याउंदै गरेकी १३ वर्षीया सोनिया तामाङ आत्माविश्वास बलियो बनाउँदै भन्छिन्, ‘हामी फुटबल सिक्दै छौं, एकदिन राम्रो फुटबल खेल्ने भएर देशले चिन्ने हुने छौं ।’ गाउँमा हिमालयन ओलम्पिकको व्यवस्थापनमा प्रतियोगिता आयोजना हुन्छ । जसमा धेरै प्रकारका प्रतियोगिता आयोजना हुन्छन् । यसमा २१ वटा विद्यालयले सहभागिता जनाउँछन् । ‘अरु विद्यालयमा फुटबल खेल्ने छात्रा खेलाडी नै हुदैंनन्,’ शिक्षक लामा भन्छन,‘जसले गर्दा हाम्रा छात्रा खेलाडी राम्रो फुटबल खेल्न सक्ने भएपनि प्रतिस्पर्धा गर्ने टिम पाउँदैनन् ।’

अहिलेसम्म तीनपटक खेल आयोजना भइसकेको छ । ती प्रतियोगितामा सबै विद्यालयमा छात्रा खेलाडी नहुँदा फुटबल प्रतियोगिता नहुने गरेको शिक्षक लामा सुनाउँछन् । अन्य प्रतियोगितामा भने छात्रा/छात्रा दुवैले मेडल नलिई फर्कदैनन । विद्यालय २ हजार मिटर उचाइमा छ । आडैमा रहेको सेम्बा छिरिङला हिमालले सिंगो डाँडोलाई उज्यालो बनाएको छ ।

‘विद्यालयमा पढाउने कुरा त छंदै छ,तर खेल पनि सिकाउन थालेकाले खुशी लागेको छ,’ फुटबल हेर्दै गर्दा भेटिएका स्थानीय जीवन लामा भन्छन, ‘यो खेल भनेको राष्ट्रिय खेलाडी बन्नकालागि पहिलो खुड्कीलो हो ।’ यो ठाउंमा हेल्मु समुदायको बाक्लो बसोबास छ । त्यस्तै पाँच घर दलित समुदायको बसोबास पनि छ । ‘विद्यार्थीमा केही सिकौं, केही बनौं भन्ने सपना छ,’ शिक्षक लामा भन्छन, ‘त्यही भएर खेलबारे पढाउन र सिकाउन सजिलो छ ।’


प्रकाशित : पुस २८, २०७६ १७:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×