सुत्केरी भेट्दै जनप्रतिनिधि

स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिसहितको टोलीले सुत्केरी र गर्भवतीलाई कोसेलीसहित भेट्ने कार्यक्रम सञ्चालनमा 

(हेटौंडा) र (सिन्धुपाल्चोक) — घरमा सुत्केरी हुने संख्यालाई शून्यमा झार्ने उद्देश्यले मकवानपुर र सिन्धुपाल्चोकका केही पालिकाले पोसिलो खानेकुरा उपलब्ध गराउन थालेका छन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले स्वास्थ्य संस्थामा गएर सुत्केरी महिलालाई एक क्रेट अन्डा र तेल उपलब्ध गराउने गरेको छ ।

सुत्केरी भेट्दै जनप्रतिनिधि

हेटौंडा उपमहानगरपालिकाले भने स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाई सात दिनभित्र स्वास्थ्यकर्मीसहित घरमा गएर एक हजार तीन सय रुपैयाँ बराबरको पोसिलो खाद्यवस्तु उपलब्ध गराउँछ । स्वास्थ्यकर्मीले आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण पनि गर्ने गरेका छन् ।


जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाको समूहले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई कोसेलीसहित भेट्ने कार्यक्रम चालु आवदेखि सञ्चालनमा ल्याइएको हो । वडा तहमा पनि सुत्केरी भेट कार्यक्रम चलिरहेको छ । हेटौंडा उपमहानगरका स्वास्थ्य अधिकृत सुपेन्द्र कार्कीका अनुसार उपमहानगर क्षेत्रमा आव ०७५/७६ मा २ हजार ५ सय ९६ गर्भवती सुत्केरी भएकामा सात जनामात्रै घरमा सुत्केरी भएका थिए । आव २०७५/७६ मा कुल सुत्केरीमध्ये ८ प्रतिशतले मात्रै सुत्केरी भएको एक साताभित्र सुत्केरी र नवजात शिशुको स्वास्थ्य जाँच गरेको तथ्यांक छ । यस्तो अवस्थामा उपमहानगरपालिकाले एक साताभित्रै सुत्केरी र नवजात शिशुको स्वास्थ्य परीक्षण गर्नेको दर बढाउने लक्ष्य लिएको स्वास्थ्य अधिकृत कार्कीले बताए । हेटौंडा–६ स्थित स्वास्थ्यचौकीका अहेव टीएन ढुंगेलले वडा तहमा यो कार्यक्रम प्रभावकारी बन्दै गएको बताए । चालु आर्थिक वर्षका लागि उपमहानगरले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।


स्वास्थ्य संस्थामा पोषण

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ कर्थलीकी सुकुमाया तामाङ सुत्केरी गराउन स्वास्थ्य संस्थामा जान मान्दै मानिनन् । धामीझाँक्रीकै झारफुकको भरमा परेपछि वडाध्यक्ष महिला स्वास्थ्य सेविका लिएर गाउँमै पुगे । तामाङलाई पोषण उपहारसहित वडाध्यक्ष बमबहादुर तामाङले स्वास्थ्य सचेतनाबारे सम्झाए । ‘संस्थामा सुत्केरी भएका कारण अन्डा र तेल पनि पाइयो,’ उनले खुसी हुँदै भनिन् ।


अधिकांश जनप्रतिनिधिले सुत्केरीलाई स्वास्थ्य संस्थामा आकर्षित गर्ने बजेट छुट्याएर अभियानका रूपमा अगाडि बढाइरहेका छन् । बाह्रबिसे नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रलाई व्यवस्थित बनाएर ५० लाख बजेटसहित स्वास्थ्यसम्बन्धी अभियान चलाइरहेको छ । एकीकृत सेवा केन्द्र र १३ वडामा स्वास्थ्य चौकी ठड्याइसकेको मेलम्ची नगरपालिकाले स्वास्थ्य क्षेत्रका लागि २ करोड छुट्याएको छ ।


जिल्लाभर यीबाहेक पाँचपोखरी थाङपाल, जुगल, सुनकोसी, बलेफी, त्रिपुरासुन्दरी, लिसंखुपाखर गाउँपालिकाले सुत्केरीसम्बन्धी फरक कार्यक्रम ल्याएका छन् । ‘पोषण र सुरक्षित सुत्केरी अभियान प्रभावकारी देखिएको छ,’ इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले भने, ‘अधिकांशमा परिवर्तन आएको छ । स्वास्थ्य चौकीमा सुत्केरी गराउने बढ्न थालेका छन् ।’


प्रकाशित : पुस २५, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?