२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अनुदान खोज्दै सदरमुकाम

अनिश तिवारी

(सिन्धुपाल्चोक) — भोटेकोसी गाउँपालिकाअन्तर्गत लिस्तीकोटको लेकाली गाउँका २१ परिवार करिब ६० किलोमिटरको दूरी छिचोलेर आवास अनुदान खोज्दै चौतारा आइपुगेको साता दिन बढी भइसक्यो ।

अनुदान खोज्दै सदरमुकाम

गाडी नै रिजर्भ गरेर सदरमुकाम आएका उनीहरूले भाडा मात्रै प्रतिव्यक्ति दुई हजार खर्च गरे । सदरमुकामको होटलमा बस्दा र खाना खर्च हरेक दिन बढ्दो छ । भूकम्पले घर भत्किए पनि सरकारबाट अन्य भूकम्पपीडितले जस्तै अनुदान नपाएपछि उनीहरू सदरमुकाम चौतारास्थित जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान तथा पूर्वाधार) कार्यालय धाउनुपरेको हो । ‘आवास अनुदानको लाभग्राही सूचीमा हाम्रो नाम किन अटाएन ? छिमेककै भूकम्पपीडितले रकम पाईवरी घर बनाइसक्दा हामीले किन पाएनौं ? के कस्तो कागजी प्रक्रियाको झमेलामा परेर हामीले दुःख पाउनुपरेको हो ?’ चौतारा बजारमा भेटिएका लिस्तीकोट गाउँका ७१ वर्षीया सोन्दे लामाले प्रश्न गरे ‘कतिपटक छुट विवरण भर्नु, अनुदान आउँदै आएन, टहरामै जिन्दगी बित्ने भो हजुर भएको के हो ?’ भूकम्पमा आवास भत्किए पनि अनुदानमा नाम नआएपछि अन्तिम विकल्प बुझेर पुनरावेदन प्रक्रियामा जान लागेको उनले सुनाए । एउटै सिंगो गाउँ टोलको अनुदानमा नाम नपरेपछि उनीहरू मारमा परेका छन् ।


‘अनुदान आउला भनेर चार वर्ष कुरेरै बसियो, बेकारजस्तो लाग्न थालिसकेको छ, चौतारा पनि तीनपटकसम्म आइसकेका छौ,’ उनले भने । भूकम्प पुनर्निर्माण प्राधिकरणअन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइले भूकम्पपीडितलाई समयमै सूचना नदिँदा र तथ्यपरक सूचना नपाउँदा दुर्गम गाउँका भूकम्पपीडित सदरमुकाम धाइरहनुपर्ने बाध्यतामा छन् । अनुदान नआएपछि थोत्रो टहरामा बसिरहेका इन्द्रावती गाउँपालिकाभरका दर्जनौं परिवार धेरैपटक चौतारा धाइसकेको इन्द्रावती ६, बाँडेगाउँका चोकप्रसाद भट्टराईले गुनासो गरे ।


‘टहराको सास्तीले ज्यान जालाजस्तो छ, अनुदानमा ऋण थपेर आवास बनाउला भन्ने सोचेको थिएँ, तर पाइएन,’ भट्टराईले भने । सदरमुकाम बस्दा धेरै खर्च हुने गरेको उनले बताए । पूर्व तातोपानीदेखि पश्चिम हेलम्बु, पाँचपोखरीका जनप्रतिनिधिले प्राविधिककै कारणले गर्दा जनताले अनुदान नपाएको गुनासो गरेका छन् ।

प्रकाशित : पुस २३, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?